गण्डकीमा हिंसापीडित महिलाका लागि पुनर्स्थापना केन्द्र सञ्चालन
सारांश
- गण्डकी प्रदेशमा हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सुरु गरिएको छ।
- कोपिला नेपालसँगको साझेदारीमा पोखरामा पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ।
- केन्द्रले महिला तथा बालबालिकाहरूलाई उद्धार, संरक्षण, आश्रय र पुनर्स्थापना सेवा प्रदान गर्नेछ।
पोखरा । गण्डकी प्रदेशमा हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सुरु गरेको छ ।
कोपीला नेपालसँगको साझेदारीमा सरकारले पोखरा ३३ भरतपोखरीमा पुनर्स्थापना केन्द्र चलाएको हो । पुनर्स्थापना केन्द्र सञ्चालनका लागि आइतबार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पुनर्स्थापना केन्द्र चलाउन प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएको छ । सम्झौताअनुसार कोपिला नेपालले पीडित महिला तथा बालिकाहरूलाई उद्धार, संरक्षण, आश्रय र पुनर्स्थापना सेवा दिनेछ भने केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारीको तलब, भत्ता, प्रशासनिक खर्च र दैनिक व्यवस्थापनको जिम्मेवारी पनि उसैले व्यहोर्ने छ ।
मन्त्रालयले लैङ्गिक हिंसा निवारण कोषबाट उद्धार, आश्रय, लत्ताकपडा, स्वास्थ्योपचार, कानुनी सहायता, पोसिलो खाना लगायतका शीर्षकमा खर्च उपलब्ध गराउनेछ ।
पीडितहरूको सङ्ख्या, बसाइ अवधि, उद्धार विवरण र खर्च अभिलेख प्रमाणित गरी त्रैमासिक रूपमा रकम भुक्तानी दिने गरी सहमति भएको छ । केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले ७० प्रतिशत र पोखरा महानगरपालिकाले ३० प्रतिशत बजेट व्यवस्थापन गर्नेछन् ।
सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाले प्रदेशमा दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन ऐतिहासिक थालनी भएको बताए । केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उनले कोपीला नेपालसँग आग्रह गरेका छन् ।
कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले १५ वर्षअघि देखेको सपना आज साकार भएको भन्दै हिंसापीडितलाई सुरक्षित बनाउन र उनीहरूको जीवनलाई नयाँ दिशातर्फ लैजान सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
उनका अनुसार केन्द्रले पोषणयुक्त खाना, लत्ताकपडा, सुरक्षित आवास, स्वास्थ्य उपचार, शिक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता, पारिवारिक पुनर्मिलन, सीप विकास तालिम र पुनर्स्थापना जस्ता सेवाहरू प्रदान गर्नेछ ।
७ वर्षसम्मका आश्रित बालबालिकाहरूलाई पनि पीडितसँगै केन्द्रमा राख्न पाउने व्यवस्था मिलाइएको छ । सरकारबाट सिफारिस भई आएका पीडितहरूलाई मात्र केन्द्रमा राखिने बताइएको छ । आइतबार गरिएको सम्झौता ३ वर्षसम्म निरन्तर रहनेछ ।
गण्डकी प्रदेश सरकारले महिला, बालबालिका तथा समाजकल्याणतर्फ महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सचिव नवराज ढकालले बताए ।
लामो समयदेखि प्रयास हुँदै आएको दीर्घकालीन पुनर्स्थापना केन्द्र स्थापनाको कार्य २०८२ सालमा कानुनी कार्यविधि पारित भएपछि सम्भव भएको उनको भनाई छ ।
यसअघि ८ वटा अल्पकालीन पुनर्स्थापना केन्द्र सञ्चालन भए पनि दीर्घकालीन पुनर्स्थापना केन्द्र पहिलोपटक स्थापना भई सञ्चालनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण