राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक सम्पन्न, के–के भयो निर्णय ?
सारांश
- राष्ट्रिय जनमोर्चाको बैठक बुटवलमा सम्पन्न भयो, वर्तमान राजनीतिक अवस्थाबारे छलफल र निर्णय गरियो।
- बैठकले सरकारको असफलता, भ्रष्टाचार, र बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै राजावादी र नयाँ शक्तिहरूलाई खबरदारी गर्यो।
- लिपुलेक सम्झौता खारेजी र भारत-चीन दुवैको साम्राज्यवादी नीतिको विरोध गर्ने निर्णय गर्दै देशव्यापी जागरण अभियान गर्ने निर्णय गरियो।
बुटवल । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा शनिबार र आइतबार बसेको बैठकले मुलुकको वर्तमान राजनीतिक, आर्थिक र राष्ट्रियतासम्बन्धी अवस्थाबारे गम्भीर छलफल गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ ।
बैठकले दुई ठुला दलले स्थायित्व दिनका लागि बनाएको सरकार असफल भएको निष्कर्ष निकालेको छ। भ्रष्टाचार घट्नुको सट्टा बढिरहेको, न्यायपालिका निष्पक्ष भूमिकामा कमजोर देखिएको, बेरोजगारी र महँगी चुलिँदै गएको भन्दै बैठकले चिन्ता व्यक्त गरेको छ ।
जनताको असन्तोषलाई राजावादी र नयाँ भनिने शक्तिहरूले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै जनमोर्चाले त्यसविरुद्ध सङ्घर्ष गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले मुलुकमा देखिएका समस्या समाधान उच्चस्तरीय लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमार्फत मात्र सम्भव हुने ठहर गर्दै त्यसको आधार तयार पार्नुपर्नेमा जोड दिएको छ ।
साथै, भारत–चीनबिच लिपुलेकलाई व्यापारिक नाका बनाउन भएको सहमतिले नेपालको सार्वभौमसत्ता र अखण्डतामा गम्भीर चोट पुर्याएको भन्दै सो सहमतिको खारेजीमा जोड दिएको छ।
कालापानीमा भारतीय सेनाको लामो उपस्थितिलाई स्मरण गर्दै बैठकले चीन र भारत दुवैको साम्राज्यवादी नीतिको विरोध गर्ने निर्णय गरेको बैठकपछि केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले भाद्र २५ देखि असोज ५ गतेसम्म १२ दिने देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सो अभियानअन्तर्गत विरोधसभा, कोणसभा, ज्ञापनपत्र बुझाउने, प्रचार–प्रसार, जनभेटघाट तथा प्रशिक्षण जस्ता कार्यक्रम गरिने जनाइएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीले सहभागी हुने र यसका लागि केन्द्रीय सल्लाहकार बद्रे आलम मुसलमानलाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ। गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय पार्टीले गरेको छ ।
सङ्गठनात्मक निर्णयअन्तर्गत केन्द्रीय सदस्य पियारी थापाले व्यक्तिगत कारणले समितिमा निरन्तरता दिन असमर्थ भएकाले उनलाई हटाई, रुपन्देहीकै कमला बन्जाडेलाई नयाँ सदस्य बनाइएको छ ।
बैठकले पार्टीको पाँचौँ राष्ट्रिय सम्मेलन आगामी वर्ष मंसिरमा गर्ने निर्णय पनि गरेको छ। सम्मेलनको मिति, स्थान र तयारीसम्बन्धी विषय आगामी केन्द्रीय समितिको बैठकले तय गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण