पुस्तकालय समाजको समग्र विकासको केन्द्र हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ
सारांश
- सञ्चारमन्त्रीले पुस्तकालयलाई समग्र विकासको केन्द्र बनाउनुपर्ने बताए, जसले भूमिकालाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए।
- १८ औं पुस्तकालय दिवसमा उत्कृष्ट पुस्तकालय, पुस्तकालयकर्मी र अभियन्तालाई सम्मान गरिएको थियो।
- मन्त्रीले पुस्तकालय ऐन निर्माण, बजेट व्यवस्थापन, र डिजिटल रूपान्तरणमार्फत पुस्तकालयलाई पुनर्निर्माण गर्नुपर्ने बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुस्तकालय केवल किताब भण्डारणस्थल मात्र नभई समाजको समग्र विकासको केन्द्र हुनुपर्ने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको १८औँ पुस्तकालय दिवस २०८२ समारोहमा उनले बदलिँदो समयअनुसार पुस्तकालयको भूमिका पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री गुरुङले प्राचीनकालदेखि नेपालको पुस्तकालय इतिहास रहेको स्मरण गर्दै १८६९ सालमा जारी ‘पुस्तक चिताइ तहबिल’ लालमोहरलाई पहिलो कानुनी पुस्तकालयको आधार मानिएको उल्लेख गरे ।
मन्त्री गुरुङले जनचेतना, पठन संस्कृति, अनुसन्धान र सामाजिक रूपान्तरणका मेरुदण्ड मानिने पुस्तकालयसम्बन्धी अझै स्पष्ट नीति तथा कानुनको अभाव रहेकाले यसमा ध्यान दिनुपर्ने बताए । “दीर्घकालीन, प्रणालीगत र बहुआयामिक सुधार अपरिहार्य छ । सरकारले एकीकृत पुस्तकालय ऐन निर्माण, बजेट व्यवस्थापन, पूर्वाधार विकास, ‘डिजिटल’ रूपान्तरण र जनशक्ति विकासमार्फत पुस्तकालयलाई आधुनिक पूर्वाधार र प्रविधिसहित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।
मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्र प्रविधिमैत्री बनाउने र सहज ‘इन्टरनेट’ सेवासहित विद्युतीय पुस्तकालयतर्फ रूपान्तरण गर्ने कार्यमा आफ्नो मन्त्रालयको प्रतिबद्ध रहेको बर्ताए ।
कार्यक्रममा शिक्षा मन्त्रालय, विद्यालय शिक्षा महाशाखाका प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको पुरस्कार छनौट समितिबाट सिफारिसका आधारमा नेपालभरका उत्कृष्ट योगदान पुर्याउने पुस्तकालय, पुस्तकालयकर्मी र पुस्तकालय अभियन्तालाई सम्मान गरिएको छ ।
यस वर्षको उत्कृष्ट पुस्तकालयको सम्मान कोहलपुर–११, बाँकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट पुस्तकालय अभियन्ताका रूपमा काठमाडौँ–१४, कुलेश्वरका गृहमानसिंह श्रेष्ठ र उत्कृष्ट पुस्तकालयकर्मीको रूपमा गोकर्णेश्वर–७, जोरपाटीका जगदीश चन्द्र अर्याल सम्मानित भएका छन् ।
यसैगरी, रत्न पुस्तकालय, बानेश्वर, काठमाडौँले पुस्तकालय र सूचना विज्ञानमा उत्कृष्ट योगदान पुर्याउने ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई रु ५० हजार नगद र कदर पत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८२ प्रदान गरेको छ ।
मूल समारोहका उपाध्यक्ष सहसचिव रुद्रप्रसाद अधिकारीले यस वर्षको पुस्तकालय दिवस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाइमा गठित मुख्य समारोह समितिको अनुरोधअनुसार देशभरका सङ्घ, संस्था र निकायहरूले सक्रिय र सिर्जनात्मक रूपमा मनाएको बताए ।
वरिष्ठ पुस्तकालयविद् इन्दिरा दलीले २०७२ सालको भूकम्पपछि निर्माण हुन बाँकी रहेको नेपाल राष्ट्रिय पुस्तकालयको काम चाँडै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन । उनले बाल्यावस्थादेखि पढ्ने बानी विकासका लागि राष्ट्रिय बाल पुस्तकालय स्थापना गर्न विसं २०७३ मा तयार पारिएको पुस्तकालय गुरु योजना कार्यान्वयन, सार्वजनिक र सामुदायिक पुस्तकालयलाई पाठकमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।
वरिष्ठ पुस्तकालयविद् दलीले डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयविरुद्धको मुद्दा पुनरावलोकन र केसर पुस्तकालयमा सङ्कलित पुरातात्त्विक सामग्रीका लागि अलग कक्ष निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा सभाध्यक्ष चूडामणि पौडेलले नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । मुलुकभरका पुस्तकालयको नियमन र सहजीकरणको लागि पुस्तकालय ऐनको मस्यौदा तयार गरी हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने र प्रत्येक प्रदेशमा केन्द्रीय पुस्तकालय स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।
त्यस अवसरमा ‘रुम टू रिड’को सहकार्यमा रुपन्देही जिल्लाका ४८ विद्यालयमा स्थापना भएका विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गर्नाका साथै अठारौँ पुस्तकालय दिवसको स्मारिका र सहप्राध्यापक रुद्रप्रसाद दुलाल र पुस्तकालयविद् गीता थापा गिरीका पुस्तकहरूको विमोचन गरिएको दिवसको प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण