बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सडकको अवस्था

महिनौँदेखि अवरुद्ध मुख्य सडकको अवस्था चाडपर्वमा कस्तो होला ?

मङ्गलबार, १७ भदौ २०८२, १४ : ३०
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • दसैँ-तिहार नजिकिँदै गर्दा सडक विभागले काठमाडौं जोड्ने राजमार्गको मर्मतसम्भार गरिरहेको छ।
  • बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी छ, तर धेरै राजमार्ग अझै बन्द छन्।
  • बीपी राजमार्गलाई चुस्त राख्न ३५ वटा उपकरण तैनाथ गरिएको छ र मर्मत कार्य भइरहेको छ।

काठमाडौँ । अहिले दसैँ–तिहार, छठजस्ता ठुला चाडपर्व नजिकिइसकेका छन् । चाडपर्वको समयमा सडक यातायातमार्फत ठुलो सङ्ख्यामा मानिस आउजाउ गर्छन् । यसलाई मध्यनजर गर्दै सडक विभागले विशेष गरी काठमाडौँलाई जोड्ने मुख्य राजमार्गलाई चुस्त–दुरुस्त राख्नका नियमित रूपमा मर्मत सम्भार तथा खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको जनाएको छ । 

विभागका प्रवक्ता तथा निर्देशक प्रभातकुमार झा अहिले काठमाडौँ जोड्ने राष्ट्रिय राजमार्गको अवस्था सामान्य रहेको दाबी गर्छन् । बाढी पहिरोका कारण क्षति पुगेका सडकको मर्मत सम्भार, सडकका खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको उनको भनाइ छ । पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको उनले प्रस्ट पारे ।

‘यन्त्र–उपकरणसहितको टोली तैनाथ गर्दा पहिरो जानेबित्तिकै अवरोध पन्छाउन सहज हुनेछ, साथै तत्काल यातायात सुचारु गराउन सकिनेछ,’ प्रवक्ता झाले भने, ‘चाडपर्वमा यात्रा सहज तथा जोखिमयुक्त सडक सुरक्षित बनाउन विभिन्न रोकथामका उपाय पनि अपनाइएको छ ।’

उनकाअनुसार चालु अवस्थामा रहेका ठेक्का अन्तर्गतका निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षेत्रको खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको छ । साथै, सवारी साधनलाई आवतजावतमा कुनै कठिनाइ हुन नदिन बढी भत्किएका सडक खण्डहरूमा ग्राभेल राखेर सतह मिलाउने कार्य भइरहेको उनको भनाइ छ । दसैँ–तिहारजस्ता ठुला चाडपर्वमा घर फर्किने यात्रुहरूको चापलाई ध्यानमा राख्दै सडक मर्मत तथा सुधार कार्यलाई विशेष प्राथमिकता दिइएको उनले बताए ।

विभागले सडकको अवस्था सामान्य रहेको र मर्मत सम्भारलाई प्राथमिकता दिएको बताइरहे पनि देशका विभिन्न प्रमुख राजमार्ग महिनौँदेखि अवरुद्ध छन् । मनसुनजन्य बाढी पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउन सकिएको छैन । एक महिनादेखि अरनिको राजमार्ग बन्द अवस्थामा छ । दुई महिना अघि बाढीले क्षति गरेको गल्छी–स्याफ्रुबेँसी सडक टिमुरेसम्म खुले पनि स्याफ्रुबेँसी जानेबाटो अझै खुलाउन सकिएको छैन । 

यस्तै असार २९ गतेदेखि बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा कोशी करिडोर अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङमा साउन ७ गतेदेखि अवरुद्ध तमोर करिडोर खुलाउन सकेको छैन । भेरी कडिडोर, सहिदमार्ग, जुम्ला सडक लगायत अन्य सडक पनि तत्काल सञ्चालनमा ल्याउन सकेको देखिँदैन ।

  • मुग्लिङ सडकमा भदौ मसान्तभित्र खाल्डाखुल्डी पुरिने 

विभागका अनुसार नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–मलेखु–मुग्लिङ सडकखण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरिएको छ । कार्ययोजना अनुसार मनसुनजन्य विपद्बाट सडक अवरुद्ध भएमा तत्काल खुलाउन र चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २४ सै घण्टा हेभी इक्विपमेन्ट (यन्त्र–उपकरण) तयारी अवस्थामा राखिने विभागले जनाएको छ ।

भदौ महिनाको अन्तिम सातादेखि मसान्तसम्ममा सडकका सम्पूर्ण खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिने विभागले जनाएको छ । साथै मनसुनका बेला बाढी–पहिरोका कारण हुन सक्ने अवरोधलाई प्राथमिकतामा राखिएको र पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको विभागले प्रस्ट पारेको छ ।  

यस्तै झ्याप्लेखोला र कृष्णभिरजस्ता संवेदनशील क्षेत्रमा पहिरो रोकथाम तथा ‘स्लोप स्टेबिलाइजेसन’को काम जारी छ । महेश खोला लगायतका स्थानमा खोलाले गर्ने कटान नियन्त्रणको काम सम्पन्न भइसकेको र टेवा पर्खाल निर्माण कार्य भइरहेको विभागले जनाएको छ । 

भू–संरक्षणका लागि हरियाली प्रविधिको प्रयोगलाई निरन्तरता दिइएको र आवश्यक स्थानमा पुल, कल्भर्ट तथा नाली निर्माण तथा सफाइको कामलाई पनि तीव्र पारिएको विभागको भनाइ छ ।

  • अवरुद्ध सडक खुलाउने प्रयास जारी

निर्देशक झाले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताएका छन् । उनकाअनुसार अरनिको, गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक, बीपी राजमार्ग, कान्तिपथ लगायतका संवेदनशील क्षेत्रमा निरन्तर मर्मत सम्भार भइरहेको छ । 

पछिल्लो समय बाढीले तहसनहस गरेका त्रिशुली–स्याफ्रुबेँसी–रसुवागढी सडक, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा सडक मर्मत कार्य भइरहेको विभागले जनाएको छ । 

गत असार २४ गते चीनतर्फबाट भोटेकोशीमा आएको बाढीले गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । यससँगै लेन्दे खोलाले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि अहिले चीनसँगको कनेक्सन टुटेको छ । यता रसुवागढीसम्म अस्थायी ट्रयाक निर्माण गरी सडक खुला भएकोमा पुनः साउन १४ गते बाढी आएर गरेको कटानबाट भएको क्षति अहिले धमाधम मर्मत भइरहेको विभागको भनाइ छ । 

यो सडक स्याफ्रुबेँसीदेखि टिमुरेसम्म एकतर्फी खुलेको विभागले जनाएको छ । साथै स्याफ्रुबेँसीसम्म  खुलाउन अब एक साता लाग्ने जनाइएको छ । यस्तै मितेरी पुल बगाएको स्थानमा चीनले बेलीब्रिज जडानका लागि चीनतर्फको फाउन्डेसन तयार गरिसकेको छ । पानीको बहाब बढेकाले नेपालतर्फ फाउन्डेसन निर्माणका लागि कठिनाइ भएको र बेलिब्रिज जडान गरिसक्ने समय अनिश्चित  रहेको विभागले स्पष्ट पारेको छ ।  

यसैगरी उत्तरी नाका तातोपानी जोड्ने अरनिको राजमार्ग अहिले बाढी पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरो पन्छाएर सञ्चालनमा ल्याए पनि सामान्य वर्षामै यो सडक अवरुद्ध हुने गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा (इको पहिरो) वर्षायाममा पहिरो गएर विगतका वर्षमा पनि अवरुद्ध हुने गरेको थियो । यो वर्षा चौधौँ पटकसम्म अवरुद्ध भएको छ ।

पछिल्लो पटक गत साउन १८ गतेदेखि अवरुद्ध भएको यो सडक मर्मतपछि भदौ ५ गतेदेखि चालु भएको थियो । फेरि अविरल परेको वर्षाका कारण भदौ ८ गते यता पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

विभागकाअनुसार कोदारी लगायत अरनिको राजमार्गका ७ स्थानलाई जोखिम युक्त स्थानका रूपमा उल्लेख गरिएको छ । कोठे पहिरो, महाभिर पहिरो, बुल्कोट पहिरो, डाक्लाङ पहिरो, कोप्लाङ पहिरो, कोदारी पहिरो र जुरे पहिरो जोखिमयुक्त स्थान हुन् । जोखिमयुक्त क्षेत्रलाई प्राथमिकता दिइएर सडक मर्मतका लागि उपकरण तैनाथ गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार यो राजमार्गलाई सहज बनाउन ११ वटा उपकरण तैनाथ गरिएको छ । यसमध्ये सडक विभागअन्तर्गत ६ वटा र निर्माण कम्पनीका ५ वटा उपकरण तैनाथ गरिएको छ ।

  • बीपी राजमार्ग चुस्त राख्न ३५ वटा उपकरण तैनाथ

गत असोजको दोस्रो साता आएको बाढीका कारण करिब २९ किलोमिटर ध्वस्त भएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । स्थायी रूपमा पुनर्निर्माणका लागि धेरैजसो खण्डको ठेक्का लागिसके पनि स्थायी पुनर्निर्माण कार्य सुरु भएको छैन । 

अस्थायी ट्रयाक निर्माण गरी सञ्चालन भइरहेको हुनाले सामान्य वर्षामै यो सडक अवरुद्ध हुनसक्ने जोखिम छ । उक्त जोखिमलाई मध्यनजर गर्दै विभागले यो सडक नियमित रूपमा मर्मत सम्भार गरिरहेको छ । 

यस राजमार्गलाई अवरुद्ध हुन नदिनका लागि विभागले ३५ वटा उपकरण तैनाथ गरेको छ । यसमध्ये विभागको २२ वटा र निर्माण कम्पनीको १३ वटा यन्त्र–उपकरण तैनाथ गरिएको छ । साथै चाडपर्वमा यो सडक अवरुद्ध भइहाले पनि तत्काल खुलाएर सञ्चालनमा ल्याउन विभाग तयारी अवस्थामा रहेको जनाइएको छ ।

विभागका अनुसार क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९ किलोमिटर सडकमध्ये करिब साढे २ किलोमिटर सडक ठेक्का लाग्न बाँकी छ । अन्य ३ खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जाइकाले निर्माण गर्नेछ । 

नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड १ अर्ब बराबरको लागत अनुमान गरेकोमा ६१ करोड लागतमा निर्माण गर्ने गरी सडक डिभिजन खाल्टेले खरिढुंगा/घिसिङ/क्षितिज जेभीसँग ठेक्का सम्झौता गरेको हो । 

यस्तै बर्खेखेलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक जाइकाले पुनर्निर्माण गर्ने जिम्मा लिइएको छ । पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक ठेक्का लगाउने तयारी भएको छ । यो खण्डको लागत करिब १ अर्ब २१ करोड लाग्ने अनुमान गरिएको छ । 

यसैगरी डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड निर्माण गर्न २ अर्ब ४५ करोड लागत लाग्ने अनुमान गरिए पनि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का लिएको छ  । 

साथै चारसय बेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । यो सडक खण्ड पुनर्निर्माणका लागि २ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएकोमा १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

सडक विभागले कान्तिपथ, पृथ्वी राजमार्ग, पूर्वपश्चिम राजमार्गलगायतका देशैभरका सडकमा अवरुद्ध भएको ३० देखि ६० मिनेटभित्र उपकरण परिचालन गर्ने र ४ घण्टाभित्र एकतर्फी भए पनि सडक खुलाउने नीति लिएको छ । बाढी पहिरोका कारण राजमार्ग बन्द हुन गएको अवस्थामा मर्मतका लागि देशभर २७७ वटा उपकरण तयारी अवस्थामा राखिएको छ, जसमध्ये १५४ वटा उपकरण सम्भावित जोखिमका विभिन्न स्थानमा परिचालन गरिरहेको र १२३ वटा सडक विभाग मातहतका विभिन्न कार्यालयमा तयारी अवस्थामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप