उत्कर्षमा नाडा विवाद : विशेष साधारणसभा रोकियो, महासंघ बनाउन नमिल्ने
काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले हालै सफलतापूर्वक नाडा अटो शो सम्पन्न गर्यो । बाहिर यो तामझाम देखाएको यो संस्था आन्तरिक रुपमा भने विवादमा फसेको छ ।
दुई वर्षअघि भएको नाडाको महाधिवेशनमा करण चौधरी र आकाश गोल्छा अध्यक्षका प्रत्यासी थिए । महाधिवेशनमा चौधरी र गोल्छा दुवै अडान नछाडेपछि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा हुने गरी टुङ्ग्याइएको थियो ।
त्यहाँदेखि सुरु भएको विवादले अहिले नाडामा उग्र रुप लिइरहेको छ । नाडा अध्यक्ष चौधरी र गोल्छाबिचको विवादको समाधान नहुँदा यो उत्कर्षमा पुगिरहेको छ ।
विवादको चुरो के हो भन्ने थाहा पाउन वैशाखमा फर्किनुपर्छ । विधान संशोधन प्रक्रिया नपुगेको भन्दै त्यसबेला वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरिएको थियो । त्यही समयमा नाडाको मनोनित सदस्यका रुपमा रहेका निशान ढकाल र अभिक ज्योतिलाई आमन्त्रित सदस्यमा मात्रै सीमित गरिएको थियो ।
महाधिवेशनमा चौधरी र गोल्छाको अडानलाई ‘सेटल’ गर्न विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर नयाँ कार्यसमिति बनेपछि पनि विवादले निरन्तरता पाइरह्यो ।
नाडामा नयाँ कार्यसमितिको पहिलो बैठकबाट सुरु भएको विवाद अहिले नाडालाई महासंघ बनाउन बोलाएको विशेष महाधिवेशन रोक्नेसम्म आइपुगेको छ । नाडालाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल) मा रूपान्तरण हुने घोषणा गर्दै विशेष वार्षिक साधारणसभा बोलाइएको थियो । तर जिल्ला प्रशासन कार्यालयमा गोल्छा समूहले उजुरी गरेसँगै मंगलबार तत्काल विशेष महाधिवेशन नगर्न प्रशासनले निर्देशन दिइसकेको छ ।
जिल्ला प्रशासनले अघिल्लो विशेष महाधिवेशनले गरेको विधान संशोधनले मान्यता नपाएको अवस्थामा विशेष महाधिवेशन बोलाएर महासंघ घोषणा गर्न नपाउने भन्दै पत्र लेखेको थियो । गोल्छा समूहले नाडाको वर्तमान नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन र अघिल्लो वार्षिक साधारणसभाको निर्णय छल्न विशेष साधारणसभा बोलाएको आरोप लगाएको छ । गोल्छा समूहले मंगलबार बेलुका प्रेस विज्ञप्ति नै जारी गरी नाडा नेतृत्वलाई यस्तो आरोप लगाएको छ ।

आकाश गोल्छाले नाडालाई महासंघ घोषणा गर्ने नेतृत्वको कदम आपत्ति जनाएका छन् । उनले वर्तमान नेतृत्वले प्रक्रिया भन्दा बाहिर र विद्यमान कानुनी प्रावधानहरूको पालना नगरी बहमतको आधारमा यस्तो निर्णय गरेको आरोप लगाएका छन् ।
नाडालाई महासंघमा रूपान्तरण गर्ने घोषणा बैठकमा अचानक गरिएको र यस प्रक्रियाबारे कुनै पूर्वछलफल वा पारदर्शिता नभएको उनको दाबी छ ।
‘महासंघको गठन धेरै साना संघहरूको सामूहिक गठनबाट मात्र सम्भव हुन्छ । नाडा आफैं महासंघ बन्न नसक्ने स्पष्ट छ । यसलाई पुनःसंरचना गरेर जिल्लास्तरको नाडा बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘नयाँ महासंघ स्थापना गर्न, विद्यमान नाडा पहिले विघटन गरिनुपर्छ । यसका सबै सम्पत्ति सरकारमा हस्तान्तरण गरिनुपर्छ ।’ उनले नयाँ महासंघ साँच्चै बनाउनु छ भने उचित योजना र नयाँ विधान बनाउनुपर्ने बताए ।
नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले ९ जना कार्यसमिति सदस्यको असहमतिमा विशेष साधरणसभा बोलाउने काम हुँदा समस्या भएको बताए । ९ सदस्यहरुले नोट अफ डिसेन्ट लेख्दा पनि नेतृत्वले आफूखुसी निर्णय गरेको र अघिल्लो विधान संशोधन विवाद समाधान नभई महासंघमा बनाउने घोषणा गरिनुमा असहमति रहेको बताए ।
‘नाडाले महासंघमा रुपान्तरण हुने घोषणा गर्नुको मुख्य कारण उक्त पछिल्लो साधारणसभाले गरेका निर्णय छल्नु र आफ्नो कार्यकाल लम्ब्याउनु देखिन्छ,’ थापाले भने, ‘तर महासंघमा जाने निर्णय र विशेष वार्षिक साधारण बोलाउने कदमलाई जिल्ला प्रशासनले अवैधानिक भनिसकेको छ ।’
अध्यक्ष र महासचिवलाई बोलाएर जिल्ला प्रशासनले बारम्बार छलफल गराएको भए पनि पहिलेको विवादमा निर्णय नहुँदै त्यसलाई छल्न महासंघमा लैजाने घोषणा गरिएकाले उजुरी गरिएको गोल्छा समूहको जिकिर छ ।
गोल्छा पक्षले अध्यक्ष चौधरीको नियतमाथि पनि प्रश्न उठाएका छन् । उनीहरुले विधान संशोधन समितिका सभापति समेत रहेका अध्यक्षले २० महिनासम्म कुनै बैठक नगरेको आरोप लगाएका छन् ।
उनीहरुले भदौ ८ गतेको कार्यसमिति बैठकका सम्पूर्ण निर्णय खारेज र ४७ औं साधारणसभाले सर्वसम्मत पारित गरेको विधान संशोधनलाई यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् ।
कसरी सुरु भएको थियो विवाद ?
४७ औैं साधारणसभाअघि नाडाको अध्यक्षमा करण चौधरी र आकाश गोल्छामध्ये को बन्ने भन्नेमा विवाद सिर्जना भयो । चुनावमा जाने नै अवस्था बनेको थियो । तर पूर्वअध्यक्षहरुको सक्रियतामा दुई जनाबिच सहमति भयो । जसमा नाडाको विधान संशोधन गर्ने र वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा रहने सहमति भयो ।
४७ औैं साधारणसभा अगाडि नाडामा वरिष्ठ उपाध्यक्षको व्यवस्था थिएन । तर उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षको पद राख्ने र वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरेको थियो । त्यसअघि तीन जना मनोनित सदस्य हुने गरेकोमा त्यसलाई पाँच पुर्याउने व्यवस्था समेत साधारणसभाबाट भएको थियो ।
सोही अनुसार गोल्छा वरिष्ठ उपाध्यक्ष भएका थिए भने कार्यसमितिले अभिक ज्योति र निशान ढकाललाई केन्द्री सदस्य बनाएको थियो । नाडामा विवाद पहिलो कार्यसमिति बैठकबाट नै भएको थियो ।
तर उक्त साधारणसभाले विधानमा गरेको संशोधन जिल्ला प्रशासन कार्यालयमा बुझाइ कार्यालयबाट स्वीकृत गराउनुपर्ने थियो । तर नाडाको ४८ औं साधारणसभा सकिँदा पनि त्यसअघिको साधारणसभाले गरेको विधान संशोधन प्रस्ताव जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी नगराएकाले जिल्ला प्रशासनले प्रश्न उठाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले संशोधित विधानलाई मान्यता नदिएपछि कार्यसमितिले नाडाका वरिष्ठ उपाध्यक्षलाई गत वैशाखमा सदस्यमा घटुवा गरिदिएको थियो । नाडा स्रोतका अनुसार अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई बाइपास गर्न खोजेकाले साधारणसभाबाट पास भएको व्यवस्थालाई जिल्ला प्रशासन कार्यालयलाई जानकारी नै गराएका थिएनन् । उनले विधान स्वीकृति नै गराएका थिएनन् ।
त्यही अवस्थामा नाडामा अर्को आयातकर्ता व्यवसायीहरुको असन्तुष्ट समूह मिलेर अर्को संस्था गत फागुन ९ गते नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) स्थापना गरे । उक्त संस्थाको नेतृत्व ऋतु सिंह वैद्यले गरेकी छिन् ।
नाडाको नेतृत्वमा रहेका केही सदस्य र पदाधिकारीहरुको पनि सहकार्यमा नाइमा स्थापना भएको थियो । जसमा अहिले पनि नाडा कार्यसमितिमा रहेका सदस्य नाइमामा पनि कार्यसमितिमा छन् ।
तर गोल्छाले सामानान्तर संस्था ‘नाइमा’ स्थापनामा सक्रिय भूमिका खेलेको आरोप लगाउँदै उनलाई वरिष्ठ उपाध्यक्षबाट घटुवा गराइएको थियो । त्यसपछि नाडामा खासै विवाद भएको देखिएको थिएन । तर अहिले उक्त विवाद सतहमा आएको छ ।
महासंघ बनाउने नाडाको घोषणा कानुन विपरीत
भदौ ८ गते नाडा कार्यसमितिले नाडालाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण हुने घोषणा कानुन विपरीत भएको देखिएको छ ।
नाडाले विशेष साधारणसभा बोलाएर महासंघ बनाउने घोषणा गरे पनि कानुनी हिसाबमा नमिल्ने देखिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले संस्था दर्ता सम्बन्धी ऐनअनुसार जिल्लामा दर्ता भएको संघ महासंघमा रुपान्तरण हुन नपाउने बताए ।
उनका अनुसार विद्यमान कानुनी व्यवस्था अनुसार एक संघलाई महासंघमा रूपान्तरण गर्न नमिल्ने बताए । उनले नाडालाई उक्त व्यवस्था अनुसार नै प्रक्रिया अगाडि नबढाउन पत्राचार गरेको बताए । हालको संस्था दर्ता ऐन,२०३४ बमोजिम एउटा जिल्लामा दर्ता भएको संघ महासंघमा जान नमिल्ने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण