शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मालवाहक सवारीसाधन गुड्नसक्ने अवस्था भएन, जलविद्युत् आयोनाहरूको काम प्रभावित

बुधबार, १८ भदौ २०८२, १४ : २७
बुधबार, १८ भदौ २०८२

सारांश

  • रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारी साधन नचल्दा निर्माणाधीन जलविद्युत आयोजनाको काम प्रभावित भएको छ।
  • बाढीले रसुवागढी जलविद्युत आयोजनाको मुहानमा क्षति पुर्‍याएपछि मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा समस्या भएको छ।
  • सडक अवरुद्ध हुँदा जलविद्युत आयोजनालाई दैनिक १ करोडभन्दा बढीको आम्दानी नोक्सान भएको छ, र भन्सार राजस्व शून्यमा झरेको छ।

रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारीसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोनाहरूको काम प्रभावित भएको छ ।

 गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा काम प्रभावित भएको हो ।  

सुरूङ र जलविद्युत्गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै क्षति भएपछि मर्मत गर्न आवश्यक रड तथा सिमेन्टसहितका उपकरण ढुवानी तथा व्यवस्थापन गर्न समस्या देखिएको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ ।
 
बाढीका कारण क्षतिग्रस्त सडकमा ‘ट्रयाक’ खोलेसँगै हल्का सवारीसाधनमात्र आवतजावत गर्नसक्ने भएको तर ठूला मालवाहक गाडी चल्ने अवस्था नभएकाले सामान ढुवानी गरी जलविद्युत् आयोजनको बिग्रिएका संरचनाको मर्मतसम्भारसहितका अन्य काम हुन नसकेको सो कम्पनीका  प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए । 
 
सो कम्पनीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावार्ट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना बिगारेसँगै विद्युत् उत्पादन बन्द भई दैनिक रु एक करोडभन्दा बढी आम्दानी नोक्सान भइरहेको छ ।
 
  दैनिक २६ लाख ६४ हजार युनिट विद्युत उत्पादन हुनेगरेको रसुवागढी विद्युत् उत्पादन केन्द्रको संरचना बिग्रिएसँगै कम्पनीले रु ७२ करोड ८८ लाख ७० हजार घाटा व्यहोर्नुपरेको प्रबन्ध निर्देशक ज्याख्वले जानकारी दिए ।  बाढीले आयोजनाको मुहानको बाँधलगायतका बाहिरी संरचना क्षति हुँदा करिब रु तीन अर्ब ५० करोड नोक्सान भएको रसुवागढी जल विद्युत् कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादनबाट हुने आम्दानीबाट आयोजना निर्माणमा लागेको ऋण चुक्ता गर्ने आठ वर्ष निर्धारण गरिएकामा यसरी विद्युत् उत्पादन हुन नसकेपछि ऋण चुक्ता गर्ने समयावधि बढाउनुपर्नेमा जोड दिँदै प्रबन्ध निर्देशकले भुक्तानी दिनुपर्ने सावाँ र ब्याजको भार समेत बढ्ने भएकाले अवरुद्ध सडकखण्ड यथासक्य छिटो सञ्चालन गर्ने वातावरण तयार गरिदिन सरकारसँग अनुरोध गरे । 
        
मुहानको बाँधमा बाढीले ठुलाठुला ढुङ्गाहरू ल्याएको र बाँधको भुँइको सतहस्थित सिमेन्टका संरचना विगारेकाले निर्माण सामग्रीसहित बाढीले ल्याएका ढुङ्गा फोर्ने उपकरण ल्याउन  सडकमा ठूला सवारीसाधन गुडाउने वातावरण तयार नहुँदा मर्मतकार्य अगाडि बढाउन नसकेको आयोजनाले स्पष्ट परेको छ ।

उता  गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार पाँच दिन सम्ममा रसुवागढीसम्मको ट्रयाक खोली सक्ने र  चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसक्दा मालवाहक सवारीसाधन गुड्ने वातावरण मिलाउने लक्ष राखिएको छ । यसरी सीमानाकालाई लक्षित गरी काम गर्दा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूको काम अलपत्र अवस्थामा पर्न लागेको जलविद्युत् केन्द्रले गुनासो गरेको छ ।

रसुवालीलगायत नेपाली जनताको शेयर समेत रहेको सो रसुवागढी जलविद्युत् आयोजनाको मुहान मर्मतका लागि ल्याइने मालसामग्री ढुवानी गराउन दुई लेनको सडक चाँडै निर्माण गर्न नागरिक समाज, रसुवाले माग गरेको छ ।

सडक पूर्णरुपमा अवरुद्ध भएसँग आयत–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व सङ्कलन शून्यमा झरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सडक बन्द हुँदा वर्षिक रु ४० अर्ब १६ करोड तथा साउन–भदौमा रु सात अर्ब उठाउने लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप