बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली ड्रोनद्वारा लेबनानमा संयुक्त राष्ट्र शान्ति सेना नजिक ग्रेनेड प्रहार

बुधबार, १८ भदौ २०८२, १६ : ०९
बुधबार, १८ भदौ २०८२

सारांश

  • इजरायली ड्रोनले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक ग्रेनेड खसालेको घटना भएको छ।
  • युनिफिलले उक्त घटनालाई इजरायल-हिजबुल्लाह युद्धपछिको सबैभन्दा गम्भीर आक्रमण भनेको छ।
  • संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को निर्णयपछि भएको आक्रमणले थप संवेदनशीलता सिर्जना गरेको छ।

बेरुत । इजरायली ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायलसँगको सीमा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक चार ग्रेनेड खसालेका छन् । शान्ति सेना सडक अवरोध हटाउने कार्यमा संलग्न रहँदा गरिएको उक्त आक्रमणमा कोही पनि घाइते नभएको लेबनानी सेनाले बुधबार जनाएको छ ।

युनिफिलका नामले चिनिने संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले मङ्गलबार बिहानको घटनालाई गत नोभेम्बरमा १४ महिनासम्म चलेको इजरायल–हिजबुल्लाह युद्धको अन्त्यपछि ‘शान्ति सेना र उनीहरूको सम्पत्तिमाथि भएको सबैभन्दा गम्भीर आक्रमण’ भनेको छ ।

इजरायली सेनाले भने यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

शान्ति सेनामाथि प्रत्यक्ष खतरा : युनिफिल 

युनिफिलका अनुसार इजरायली ड्रोनहरूले शान्ति सेनाको नजिकै चार ग्रेनेड खसालेका थिए । ती सैनिकहरू सीमा क्षेत्रमा रहेका संयुक्त राष्ट्रसङ्घीय स्थितिमा पहुँच सहज बनाउन अवरोध हटाइरहेका थिए । एउटा ग्रेनेड २० मिटर भित्र र अन्य तीन करिब एक सय मिटर दूरीमा राष्ट्रसङ्घका कर्मचारी तथा सवारीसाधन नजिकै खसेका थिए । त्यसपछि ड्रोनहरू इजरायलतर्फ फर्किएको देखिएको छ ।

मारवाहिन गाउँको दक्षिणपूर्वी क्षेत्रमा शान्ति सेनाका लागि सडक खाली गर्ने कार्यबारे इजरायली सेनालाई पहिल्यै जानकारी दिइएको युनिफिलले जनाएको छ । तर घटनापछि सुरक्षाका कारण काम स्थगित गरिएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को निर्णयपछि आक्रमण 

गतहप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अमेरिका र इजरायलको दबाबमा पाँच दशकपछि अर्को वर्षको अन्त्यमा दक्षिणी लेबनानमा युनिफिल मिसन समाप्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप भएको आक्रमणले थप संवेदनशीलता सिर्जना गरेको छ ।

दशकौँदेखि बहुराष्ट्रिय शान्ति सेनाले दक्षिणी लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्वसहितको सुरक्षा अवस्थामाथि निगरानी गर्दै आएको छ ।  तर यस मिसनप्रति दुवै पक्षबाट आलोचना हुँदै आएको छ । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले यसलाई आफ्नो विदेश नीतिको पुनःसंरचनासँगै अमेरिकाको कोष कटौतीको कारण देखाएका थिए ।

युद्धको मानवीय मूल्य

विश्व बैंकको तथ्याङ्कअनुसार इजरायल–हिजबुल्लाह युद्धमा लेबनानमा सयौँ नागरिकसहित चार हजारभन्दा बढीले ज्यान गुमाए भने ११ अर्ब डलर बराबरको क्षति भएको थियो । इजरायलमा ८० जना सैनिकसहित एक सय २७ जनाको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन

युनिफिलले राष्ट्रसङ्घीय शान्ति सेना र उनीहरूको सम्पत्तिमाथि खतरापूर्ण आक्रमण वा उनीहरूको कार्यमा अवरोध पुर्याउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको बताएको छ । यस्तो कार्य अन्तर्राष्ट्रिय कानून र युद्धविराम प्रतिबद्धताको गम्भीर उल्लङ्घन हो । 

शान्ति सेनाको सुरक्षा सुनिश्चित गर्नु इजरायली सेनाको प्रत्यक्ष जिम्मेवारी भएको पनि युनिफिलले स्पष्ट पारेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप