बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एफसी यू-२३ एसिया कप छनोट : नेपाली टोली रंगशाला पुग्यो

बुधबार, १८ भदौ २०८२, २० : ४८
बुधबार, १८ भदौ २०८२

सारांश

  • एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।
  • नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ, जसमा ताजकिस्तान फिफा वरीयतामा अगाडि छ।
  • नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपाने जितको ऊर्जाका साथ मैदान उत्रने बताउँछन्, जसमा कप्तान आयुष घलान पनि छन्।

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत घरेलु टोली ताजकिस्तानविरुद्ध सहभागिताको पहिलो खेलका लागि नेपाली टोली राजधानी डुसान्बेको पामीर रंगशाला पुगेको छ । समूह ‘के’ अन्तर्गत यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुँदै छ । 

आजको खेल नेपालका लागि कठिन हुन सक्छ । किनभने ताजकिस्तान फिफा वरीयतामा नेपालभन्दा ७० स्थान अगाडि छ र घरेलु मैदानको पनि फाइदा उठाउनेछ । पछिल्ला दुई संस्करण एसियन कप खेलिसेकेको अनुभव ताजकिस्तानको यू–२३ टोलीले बटुलिसक्दा नेपाल भने एसियन कपसम्म पुग्न सकेको छैन । 

नेपालको टोलीका अट्याकिङ मिडफिल्डर तथा कप्तान आयुष घलान, लेफ्ट ब्याक सुमित श्रेष्ठ, अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु र स्ट्राइकर निराजन धामी गरी चार खेलाडीले यसअघि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । नेपाली टिममा भुटानको शीर्ष डिभिजन लिगमा खेलिरहेका मिडफिल्डर सन्तोष खत्री पनि छन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने यो प्रतिस्पर्धालाई सिक्ने र अनुभव बटुल्ने मात्र नभई जित्ने ऊर्जाका साथ मैदान उत्रने बताउँछन् ।  ‘हामी जित्न आएका हौँ । सधैँ अनुभव बटुल्ने र पराजित हुने भन्ने हुँदैन हामी हार्न होइन जित्न आएका हौँ,’ मुख्य प्रशिक्षक न्यौपानेले प्रि–म्याच कन्फ्रेन्समा भनेका थिए । 

कप्तान आयुष घलानले नेतृत्वमा रहेको टोली हाल ताजकिस्तानमा नेपालको जस्तै मौसम भएको हुँदा केही सहज हुने अपेक्षामा छ । नेपाली राष्ट्रिय टोलीमा पहिले नै खेलिसकेका केही अनुहारहरूसँगै नयाँ पुस्ताका युवा खेलाडी टिमा रहेको कारण केही सहज हुने पनि बताएका छन् । 

समूह ‘के’ मा नेपालले पहिलो खेलमै घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ । छनोटमा हरेक जितले एएफसी यू–२३ एसियन कप खेल्ने ढोकातर्फ लानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप