रुपन्देही–३ उपनिर्वाचन : कसैले पार्टी परिवर्तन गरेर टिकट पाए, कोही ठुला पार्टीको संरक्षण खोज्दै
सारांश
- रुपन्देही-३ मा उपनिर्वाचनका लागि ठूला दलले उम्मेदवार घोषणा नगरे पनि साना दल र स्वतन्त्र उम्मेदवार सक्रिय छन्।
- पार्टी परिवर्तन गर्नेमा पूर्वमन्त्री, पूर्वअध्यक्षदेखि लिएर विभिन्न दलका नेताहरू रहेका छन्, जसले निर्वाचनलाई प्रभाव पार्ने देखिएको छ।
- उपनिर्वाचनको मुखमा उम्मेदवारहरू मतदाता भेटघाट र चुनावी प्रचारप्रसारमा जुटेका छन्, भने विगतको निर्वाचनमा दलहरूले पाएको मतको विश्लेषण गरिएको छ।
बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि ठुला दलले उम्मेदवार घोषणा गर्न बाँकी नै छ । यद्यपि केही साना दलले आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरू र साना दलबाट घोषित उम्मेदवार यतिबेला आफ्नै ढंगले निर्वाचन क्षेत्रमा क्रियाशील भइरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका धनीराम चौधरीले १३ हजार ९६० मत पाएका थिए । उनी अहिले जनमत पार्टीमा प्रवेश गरेको एक हप्तामै रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
चौधरी उपनिर्वाचन प्रयोजनका लागि नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा दर्ता नगरेका कारण पार्टी परिवर्तन गरेर उम्मेदवार बनेका हुन् ।
उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीबाट टिकट दिन मेरो नाम पहिलो नम्बरमै राखेर सिफारिस भएको थियो । तर उपनिर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नभएपछि स्वतन्त्र उम्मेदवार बन्नुभन्दा कुनै पार्टीमा लागेर नै चुनाव लड्छु भन्ने लाग्यो । संयोगले जनमत पार्टीबाट प्रस्ताव आयो र यही पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेको छु ।’

नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिचको शक्ति संघर्षका कारण यो उपनिर्वाचनका लागि सो दल निर्वाचन आयोगमा दर्ता भएको छैन । रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनका लागि २६ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । नागरिक उन्मुक्ति पार्टीकै रेशम चौधरी पक्षले भने स्वतन्त्र उम्मेदवारका रूपमा डा उमाशङ्कर चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यस अघिको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाटै समानुपातिकतर्फको उम्मेदवार सूचीमा रहेका भैरहवाका डा लेखजंग थापा साउन अन्तिम साता उक्त सूचीबाट आफ्नो नाम हटाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनको मुखमा यसरी पार्टी परिवर्तन गर्नेमा प्रदेशमा मन्त्री भइसकेकादेखि गाउँपालिकाका पूर्वअध्यक्षसम्म छन् । भैरहवा निवासी लोपसा नेपालकी नेतृ कल्पना पाण्डेय आइतबार रास्वपामा प्रवेश गरेकी छन् । उनी लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री समेत बनेकी थिइन् । पाण्डेय रास्वपामा प्रवेश गर्नुलाई कतिपयले २०८४ को निर्वाचन लक्षित गतिविधिका रूपमा हेरेका छन् ।
पूर्वमन्त्री पाण्डेय भने कुनै पदको आसमा नभएर लोसपा नेपालभन्दा रास्वपा राम्रो देखेर पार्टी प्रवेश गरेको बताउँँछिन् ।
रुपन्देही क्षेत्र नम्बर १ बाट २०७९ सालको निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका कैलाश गुरुङले पनि केही महिना अगाडि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । भैरहवा निवासी कैलाशले आफ्नी श्रीमती गीता गुरुङलाई समेत लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा गराएका छन् । प्रदेश सभा सदस्यबाट राजीनामा दिएर गीता विदेश हिँडेकी छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियासहितको एक समूह हालै एमालेमा प्रवेश गरेको छ । यी दुवै पालिका पूर्वअध्यक्ष बारम्बार पार्टी फेर्ने नेतामा गनिन्छन् । उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गरेका छन् ।
शुक्ला २०७४ को स्थानीय तह निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट पालिका अध्यक्ष निर्वाचित भएका थिए । ०७९ मा उनी माओवादीमा प्रवेश गरेर पुनः गाउँपालिका अध्यक्ष उम्मेदवार बने पनि पराजित भए । त्यसपछि उनी जनता समाजवादी पार्टी नेपाल हुँदै जनमत पार्टीमा प्रवेश गरेका थिए ।
त्यसैगरी मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष बनिया ०७४ मा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट पालिका अध्यक्ष जितेका थिए । ०७९ मा उनी लोसपाबाट उम्मेदवार बने पनि पराजित भए ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनाल चुनावको मुखमा दल परिवर्तन गर्नुलाई स्वार्थका रूपमा टिप्पणी गर्छन् । एउटा पार्टी छाडेर अर्को पार्टीमा जानेलाई पनि कुनै जिम्मेवारीको आस हुने र त्यस्ता व्यक्तिलाई पार्टीमा भित्र्याउने दललाई पनि केही न केही राजनीतिक लाभ हुने स्वार्थका कारण यस प्रकारका गतिविधि देखिने उनको बुझाइ छ ।
उम्मेदवारहरू के गरिरहेका छन् ?
रुपन्देही–३ मा अहिलेसम्म उम्मेदवार घोषणा गरेकाहरू मतदातालाई विश्वासमा लिन दौडधुप गर्न थालिसकेका छन् ।
रास्वपाबाट उम्मेदवार बनेका डा लेखजंग थापा आफ्नो निर्वाचन क्षेत्रमा आएर पार्टीका स्थानीय नेताहरूसँग चुनावी अवस्था, प्रचार प्रसार आदिको विषयमा आन्तरिक छलफल गरिरहेको रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले जनाए ।
जनमोर्चाबाट टिकट पाएका बद्रे आलम पनि मतदातासँग भेटघाट, फोन सम्पर्कमा रहेर चुनाव प्रचारमा जुटिसकेका छन् ।
जनमत पार्टीबाट उम्मेदवार बनेका धनीराम चौधरी पनि पार्टीका स्थानीय नेतासँग बसेर चुनावका लागि रणनीति बनाउन व्यस्त छन् ।
राप्रपाको जिल्ला उपाध्यक्ष छाडेको केही समयपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भैरहवाका अजय गुप्ता रुपन्देही–३ का मतदातासँग दैनिक भेटघाटमा निस्कने गरेका छन् ।
बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको एक महिना जति भएको छ । यो अवधिमा उनी पनि मतदातासँग घुलमिल हुने र स्थानीयस्तरमा देखिएका समस्या बुझ्ने गतिविधिमा सक्रिय देखिन्छन् ।

२०७९ सालको चुनावमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो भने एमालेले १६ हजार ९८६ मत पाएको थियो ।
यस्तै, रास्वपाको १४ हजार १५४, राप्रपाको ९ हजार १८३ मत समानुपातिकतर्फ थियो । नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) नेपालले ५ हजार मत ल्याएका थिए । यसैगरी लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत समानुपातिकतर्फ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण