शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युएनएफपीए र यति एयरद्वारा लैङ्गिक हिंसाविरुद्ध लड्न तथा अधिकारको संरक्षण गर्न साझेदारीको सुरुवात

बिहीबार, १९ भदौ २०८२, १२ : ३०
बिहीबार, १९ भदौ २०८२

सारांश

  • युएनएफपीए र यति एयरले लैङ्गिक समानता अभिवृद्धि र लैङ्गिक हिंसा अन्त्यका लागि सम्झौता गरे।
  • यस साझेदारीले दैनिक ३ हजार यात्रुहरूलाई लैङ्गिक हिंसा र यौन स्वास्थ्यबारे जानकारी दिनेछ।
  • सम्झौता अनुसार, यति एयरले बोर्डिङ पास, पम्पलेट र म्यागजिनमार्फत सचेतना फैलाउनेछ।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निकाय (युएनएफपीए) र यति एयर प्रालीले  लैङ्गिक समानता अभिवृद्धि गर्न र लैङ्गिक हिंसाको अन्त्य, पैरवी तथा सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस साझेदारी मार्फत यति एयरलाइन्सको देशभरिको उपस्थिति र समुदाय सम्मको पहुँच मार्फत दैनिक करिब ३ हजार यात्रुहरूलाई लैङ्गिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका साथै महिला तथा युवाहरूको सुरक्षाका बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ।

सम्झौता अनुसार, यति एयरलाइन्सले बोर्डिङ पासमा हटलाइन नम्बर र आवश्यक जानकारी राख्ने, सिटको पछाडि रहेका पकेटहरूमा सचेतनामूलक पर्चाहरू वितरणका लागि राख्ने र आफ्नो इनफ्लाइट म्यागजिन परिक्रमामा लेखहरू प्रकाशन गरि वार्षिक करिब १० लाख यात्रुहरूसम्म जानकारी पुर्‍याउने कार्यहरू मार्फत जीवन रक्षा र उपयोगी जानकारीहरू प्रत्येक यात्रु मार्फत देशका हरेका स्थानमा पुग्न सुनिश्चित गर्नेछ।

यति एयर प्रालीले बोर्डिङ पासका साथै हवाईजहाजमा राखिएका पम्पलेट र यति एयरको “परिक्रमा” नामक पुस्तिकामार्फत  लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका सूचना सम्प्रेषण गरिने छ। 

यी सामग्री मार्फत यात्रीहरूले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने भन्ने सेवा उपलब्ध हुन्छन् र हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन् । 

साथै युएनएफपीएले यति एयरका कर्मचारीहरू लागि यौन शोषण र दुर्व्यवहार सम्बन्धी प्रशिक्षण गर्ने छ।

सचेतना र क्षमता अभिबृद्दिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनका सहयोग र समाजमा पुनर्स्थापनाका लागि स्थानीय श्रम र अन्य व्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको छ। 

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीए नेपालको अन्तरिम प्रतिनिधि, श्रीराम हरिदासले भने– “हरेक उडान यात्रा मात्र होइन। यो मर्यादा, समानता र सुरक्षाका सन्देशहरू आदानप्रदान गर्ने अवसर पनि हो। यति एयरलाइन्ससँग सहकार्यमा हरेक यात्रु समक्ष महत्त्वपूर्ण जानकारीहरू पुगिरहेको सुनिश्चित गर्दैछौं।”

यति एयरलाईन्सको तर्फबाट युवराज बिष्टले भने– “नेपालमा स्थापित र सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध एक कम्पनीका रुपमा यति एयरलाईन्सले  युएनएफपीएसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छौँ। हामीले प्रदान गर्ने सेवा सँग पैरवीलाई समावेश गरेर भेदभाव र हिंसा मुक्त समाज निर्माणमा आफ्नो भूमिका खेल्न चाहन्छौँ।”

लैङ्गिक समानता प्रवर्द्धन गर्ने, महिला सशक्तीकरणलाई बढवा दिने र हिंसा प्रभावितहरूका लागि सहयोग र सम्मान सुनिश्चित गर्ने जस्ता दीर्घकालीन प्रतिबद्धतालाई समावेश गरिएको यस सम्झौता सन् २०२७ सेप्टेम्बर सम्म कायम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप