शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

प्रदेश खेलकुद बोर्डबाट तीन सदस्य बर्खास्त, अदालत जाने

बिहीबार, १९ भदौ २०८२, १४ : ३३
बिहीबार, १९ भदौ २०८२

सारांश

  • कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना सदस्यलाई बर्खास्त गरेको छ।
  • बर्खास्त गरिएका सदस्यहरूले बोर्डमा भ्रष्टाचार र अनियमितताको आरोप लगाएका छन्।
  • बर्खास्त सदस्यहरूले कानुनी उपचार खोज्ने बताएका छन्।

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना बोर्ड सदस्यहरूलाई बर्खास्त गरेको छ ।  जसले बोर्डभित्र हलचल मच्चाएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ३१ औँ बैठकले रोशनी राई, सन्दीप राई र जीवनी राईलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले विधानअनुसार लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित भए कारबाही गर्ने प्रावधान रहेको भन्दै तीनै जना सदस्यहरू पाँच पटकसम्म अनुपस्थित भएकाले बर्खास्त गरिएको जानकारी दिए । बर्खास्त गरिएका रोशनी र सन्दीप राई एकीकृत समाजवादी निकट मानिन्छन् भने जीवनी राई माओवादी केन्द्र निकट हुन् । उनीहरू तत्कालीन सामाजिक विकास मन्त्री राजन राईको पालामा २०७९ साउन १२ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए । 

यद्यपि, बर्खास्तमा परेकी सदस्य रोशनी राईले भने यो निर्णयलाई खेलकुदभित्रको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूहरूलाई निशाना बनाइएको आरोप लगाएकी छिन् । उनले सदस्य सचिव कृष्ण बस्नेतको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको र यही कारण आफूसहित दुई साथीलाई नियोजित रूपमा बर्खास्त गरिएको दाबी गरेकी छिन् ।

‘म खेलाडी हुँ । त्यसैले म सधैँ खेलकुदभित्र भएको विकृति र विसङ्गतिको हिजो पनि विरोध गर्थेँ, आज पनि गर्छु र भोलि पनि गर्नेछु,’ रोशनी राईले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै लेखेकी छिन्, ‘म सधैँ खेलकुदभित्रको भ्रष्टाचार, अनियमितता, गलत निर्णयहरूको विषयमा बोल्ला म सहित अरू दुई जना साथीहरूलाई पनि बोर्डबाट हटाइएको कुरा सुन्दै छु । यदि हो भने खेलकुद कसैको घर र पार्टी कार्यालय होइन र खेलकुदमा राजनीति कसैले पनि गर्न मिल्दैन । कानुनको पालना सबैले गर्नु पर्छ र म पनि कानुनको बाटोमा हिँड्नेछु ।’ 

रोशनी राईले बोर्डको यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने चेतावनी दिएकी छिन् । सदस्य सचिव बस्नेत एमाले कोशी प्रदेशका सदस्य पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप