शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

आमालाई दागबत्ती दिएको १२ दिनपछि बुबालाई दागबत्ती

बिहीबार, १९ भदौ २०८२, २१ : २२
बिहीबार, १९ भदौ २०८२

सारांश

  • कुवेतमा मृत्यु भएका डम्बरबहादुर मगरको शव धनकुटा ल्याएर अन्त्येष्टि गरियो।
  • श्रीमतीको निधनपछि तीन छोरीले बुबाको शव कुरेका थिए, आमाको किरियापछि बुबाको अन्त्येष्टि गरियो।
  • मगर दम्पतीका तीन छोरी छन्, र स्थानीय स्तरमा सहयोग सङ्कलन सुरु गरिएको छ।

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङ शोकमग्न बनेको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएका डम्बरबहादुर मगरको गत भदौ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युको खबर सुनेपछि उनकी श्रीमती विद्या मगरको समेत भदौ ७ गते मृत्यु भएको थियो ।

मगर दम्पतीका तीन छोरी छन्। आमाको काजकिरिया सकेका छोरीहरू १६ वर्षीया विपना र १५ वर्षीया सञ्जु बुबाको शव पर्खिरहेका थिए । 

कान्छी छोरी समिता मात्र २ वर्षकी छिन् । कुवेतबाट डम्बरबहादुरको शव बुधबार काठमाडौँ आइपुगेको थियो । 

बिहीबार शवलाई धनकुटा ल्याइएपछि महालक्ष्मी नगरपालिका–४ दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । शवलाई उनकी छोरीहरू विपना र सञ्जुले दागबत्ती दिएका थिए ।

मगर समुदायको परम्परा अनुसार विद्याको सातौँ दिनमा काजकिरिया सकेर छोरीहरूले बुबाको शवको पर्खाइ गरेका थिए। यसरी १२ दिनको अन्तरालमै आमाबुबा दुबैलाई दागबत्ती दिनुपरेको स्थानीय विमला थापाले जनाइन् ।

डम्बरबहादुर करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । उनको शव नेपाल ल्याउन गत भदौ १३ गते महालक्ष्मी नगरपालिकाले आवश्यक कागजात पठाएको थियो। तर एकै घरमा दुःखद घटना थामिनसक्नु भएको छ । 

करिब तीन महिनाअघि नै डम्बरबहादुरका बुबा करिब ६५ वर्षीय हरिबहादुर सुस्लिङ मगरको पनि निधन भएको थियो ।

लगातारको शोकले गाउँ नै स्तब्ध भएको छ। मगर दम्पतीको निधनपछि छोरीहरू बाबुआमा विहीन बनेका छन्। विपना धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बाल मन्दिरमा कक्षा १२ मा र सञ्जु कक्षा ११ मा अध्ययनरत छिन् ।

छिमेकी विमला थापाले उनीहरूको भविष्य अनिश्चित भएको बताउँदै स्थानीय स्तरमा सहयोग सङ्कलन सुरु गरिएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप