आमाको किरिया सकेर बुबाको शव कुरिरहेका तीन छोरी
सारांश
- धनकुटाको सिप्रिङ गाउँमा वैदेशिक रोजगारीमा गएका डम्बरबहादुर मगरको मृत्युपछि श्रीमती विद्या मगरले पनि ज्यान गुमाएकी छिन्।
- डम्बरबहादुर र विद्याका तीन छोरीहरूले आमाबुबा दुवै गुमाएका छन् र उनीहरू टुहुरा भएका छन्।
- स्थानीय र नगरपालिकाले बालबालिकाहरूको भविष्यको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्, भने आर्थिक संकलन पनि सुरु भएको छ।
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरेको सिप्रिङ गाउँमा भदौको पहिलो हप्ता एउटा हृदय विदारक घटना भएको छ। वैदेशिक रोजगारीको पीडाले उजाडिएको एउटा परिवारको यो घटनाले गाउँ नै स्तब्ध छ।
४१ वर्षीय डम्बरबहादुर मगर परिवारलाई सुख दिने सपना बोकेर २०८० साल असारमा रोजगारीका लागि कुवेत गएका थिए। तर, उनको यात्राको अन्त्य निर्मम ढङ्गले भयो।
भदौ ४ गते उनको मृत्युको खबर आयो। यो खबर जब उनकी ३३ वर्षीया श्रीमती विद्या मगरले सुनिन्, उनले वियोग सहन सकिनन्। श्रीमान्को मृत्युको खबर सुनेको तीन दिनपछि, भदौ ७ गते उनी बेहोस भइन्। उनलाई उपचारका लागि जितपुर नगर अस्पताल पुर्याइयो, तर अस्पतालले उनलाई मृत घोषणा गर्यो।
यस घटनाले डम्बरबहादुर र विद्याका तीन छोरीलाई टुहुरा बनाइदिएको छ। १६ वर्षीया जेठी छोरी विपना, १५ वर्षीया माइली छोरी सञ्जु र केवल २ वर्षकी कान्छी छोरी समिताले एकैपटक आमा र बुबा दुवैको छत्रछायाँ गुमाएका छन्। अझ दर्दनाक कुरा के छ भने, आमा विद्याको काजकिरिया सकेर उनीहरू बुबा डम्बरबहादुरको शव कुरिरहेका छन्। शव नेपाल आएपछि उनै कलिला छोरीले दागबत्ती दिनेछन्।

- मसानघाटको करुण क्रन्दन
आमा विद्याको अन्त्येष्टि गर्दाको रुवाबासीले त्यो दृश्यको भयावहतालाई अझ उजागर गर्यो। नदी किनारमा तयार पारिएको चितामा आमाको पार्थिव शरीर राखिँदा मलामी र आफन्तका आँखाबाट आँसुका धारा बगिरहेका थिए।
आमाको शव राखेको चितामा जब जेठी छोरी विपना र माइली छोरी सञ्जुले आगो सल्काए, त्यहाँ उपस्थित सबैको मन थप पग्लियो। उनीहरूले ‘आमा... आमा...’ भन्दै गरेको कारुणिक क्रन्दनले सबैलाई भावविभोर बनायो। दुई वर्षकी कान्छी समिता भने शायद के भइरहेको छ भन्ने कुराबाट अनभिज्ञ थिइन्।
- भविष्यको अनिश्चितता
यो पीडाको उत्कर्षमा अर्को दुःख थपिएको छ। बुबा डम्बरबहादुरको शव अझै कुवेतबाट आइपुगेको छैन। महालक्ष्मी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर गुरुङले शव छिटो ल्याउन पहल भइरहेको बताए।
त्यसै घरमा तीन महिनाअघि डम्बरबहादुरका बुबा अन्दाजी ६५ वर्षीय हरिबहादुर सुस्लिङ मगरको पनि मृत्यु भएको थियो। एक वर्षभित्र एउटै परिवारले तीन सदस्य गुमाउनुको त्रासदीले सिङ्गो गाउँलाई नै शोकमा डुबाएको छ।
अब ती टुहुरा बालबालिकाको भविष्य के हुनेछ भन्ने प्रश्नले आफन्त, छरछिमेक र सिङ्गो समाजलाई चिन्तित बनाएको छ। जेठी बिपना र माइली सञ्जु धनकुटाको तल्लो गोकुण्डेमा कोठा भाडामा लिएर पढ्दै थिए। उनीहरूको पढाइ कसरी निरन्तरता पाउनेछ र कान्छी समिताको लालनपालन कसले गर्नेछ भन्ने चिन्ताले सबैलाई सताएको छ।
मृतक विद्याका दाजु गणेश मगरले डम्बरबहादुरको शव ल्याउने प्रक्रिया चलिरहेको बताए। विद्या मगरको काजकिरिया शुक्रबार सकियो, जसमा दुई छोरी विपना र सञ्जु बसेका थिए। अब बुबाको शव आएपछि फेरि ती छोरीहरूले नै आफ्नो रीतिरिवाजअनुसार १२ दिनसम्म बार्नुपर्ने हुन्छ। गणेशले उनीहरूको स्वास्थ्यमा असर नपर्ने गरी सबै काम गर्ने बताए।
स्थानीयले यी बालबालिकाको भविष्यका लागि सबैले चासो दिनुपर्ने बताएका छन्। स्थानीय विमला थापाले ‘काम गर्ने अभिभावक गुमाएपछि बालबालिकालाई समस्या हुन्छ’ भन्दै आर्थिक सङ्कलन सुरु गरेको जानकारी दिइन्।
यसैगरी, महालक्ष्मी नगरपालिकाले दुई छोरीको वार्षिक करिब ६० हजार लाग्ने पढाइ खर्च बेहोर्ने घोषणा गरेको छ। बिपना मगर धनकुटा सदरमुकामस्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा र सञ्जु सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण