ओलीको नजरमा कस्ता छन् कांग्रेस, माओवादी, राप्रपा र रास्वपा ?
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलहरूको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
- ओलीले कांग्रेसलाई नवउदारवादी नीतिले नेपालमा अगुवाइ गर्न नसक्ने बताएका छन्, र माओवादीलाई अस्थिरता र विभाजनकारीको रूपमा चित्रण गरे।
- उनले राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपनामा लागेको र रास्वपालाई पपुलिस्टको संज्ञा दिएका छन्।
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य राजनीतिक पार्टीहरू को कस्ता छन् भन्नेबारे आफ्नो दृष्टिकोण दस्तावेजमा उल्लेख गरेका छन् ।
आजबाट सुरु एमालेको दोस्रो विधान महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसवादी र नयाँ शक्ति भनिएका रास्वपाबारे विश्लेषण गरेका हुन् ।
९८ पेज लामो ओलीले राजनीतिक प्रतिवेदनमा सत्ता सहयात्री कांग्रेसबारे छोटो टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसलाई लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्तिका रूपमा चित्रण गर्दै पुरानो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेपनि संसारमा असफल भएको नवउदारवादी नीतिले नेपालमा अगुवाइ गर्न नसक्ने उल्लेख गरेका छन् ।
ओलीले आफ्नो दस्तावेजमा समाजवादको आधार निर्माणको अभिभारा एमालेबाहेक अरू कुनैपनि दलले पूरा गर्न नसक्ने दाबी पनि गरेका छन् । ‘समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरू कुनै पार्टी या शक्तिबाट पूरा हुनु सम्भव छैन’, ओलीले भनेका छन् ।
त्यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रलाई माओवादी ट्याग नै भारी भएको टिप्पणी गरेका छन् । ‘कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एन्टिथेसिस’ का रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिस्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो ‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि ‘माओवादी’ ट्याग पनि भारी भएको छ,’ प्रतिवेदनमा ओलीले भनेका छन् ।
उनले माओवादीलाई अस्थिरता, अवसरवाद एवं विभाजनकारी भनेका छन् । ‘अस्थिरता, अवसरवाद, एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, सांगठानिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ’, ओलीको टिप्पणी छ । उनले मधेस केन्द्रित दलहरूलाई सङ्कीर्ण, यथास्थितिवादी, एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकेका शक्तिका रूपमा चित्रण गर्दै उनीहरूले राष्ट्रको नेतृत्व गर्न नसक्ने जनाएका छन् ।
त्यस्तै राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपनामा लागेको भन्दै कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको बताएका छन् ।
‘पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने,प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका क्रममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ । यो स्वीकार्य हुँदैन’, ओलीको भनाइ छ ।
त्यस्तै ओलीले रास्वपा लगायतको नाम किटान नगरे पनि समाजमा उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू उदाएको बताएका छन् । ती दल र व्यक्तिहरूलाई अोलीले ‘पपुलिष्ट’को संज्ञा दिएका छन् । ओलीले पपुलिष्ट भनेर गरेको संकेत रास्वपा, बालेन, हर्कहरूतर्फ लक्षित रहेको छ ।
अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने संकल्पका साथ अगाडि बढिरहेको भन्दै नेपालमा संगठित राजनीतिक गतिविधि सुरु भएदेखि नै राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति गरी दुई थरी धारका विचारमा निरन्तर प्रतिस्पर्धा रहेको बताएका छन् । ‘एकातिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय शक्तिलाई बलियो बनाउने धार र अर्को यसलाई कमजोर गर्दै मुलुकमा बाह्य हस्तक्षेप, आत्मसमर्पण र अस्थिरतालाई बढवा दिने धार’, ओलीले दुई धारबारे चर्चा गरेका छन् । उनको राजनीतिक प्रतिवेदनमाथि विधान महाधिवेशनमा छलफल हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण