झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप : प्रदेश सरकार के गर्दैछ ?
सारांश
- सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ, जसमा ६०० भन्दा बढी कैदीबन्दी प्रभावित भएका छन्।
- स्वास्थ्यमन्त्रीका अनुसार कैदीबन्दीमा उच्च ज्वरो, खोकी, बान्ता, टाउको दुखाईलगायतका लक्षण देखिएका छन्, र हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले द्रुत प्रतिक्रिया टोली परिचालन गरेको छ, र अधिकांश कैदीबन्दीमा एन्जाइटी देखिएको छ।
विराटनगर । सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिने क्रम बढिरहेको छ । बिहीबार बिहान दिएको विवरण अनुसार ३५३ जनामा उच्च भाइरल ज्वरो देखिएकोमा शुक्रबार दिउँसो १२ बजेको विवरण अनुसार यो संख्या ६ सय नाघेको कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिए ।
कारागारले दिएको विवरण उद्धृत गर्दै मन्त्री राईले बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएको बताए । कारागारको अनुगमनमा पुगेका उनले हालसम्म ५ सय जनामा स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिए । त्यसमध्ये १५७ जनामा डेंगुको परीक्षण गर्दा १ जना सङ्क्रमित देखिएका छन् । ३० जनामा कारोना जाँच गर्दा कोरोना नदेखिएको जनाइएको छ ।
बिहीबार नमूना सङ्कलन गरिएका ६३ जनाको भने रिपोर्ट आउन बाँकी छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको र नोबेल अस्पताल विराटनगरमा १ जनाको उपचार भइरहेको छ । धरानमा उपचार गराइरहेका मानबहादुर राईलाई जापानिज इन्सेफ्लाइटिसको पुष्टि भएको छ । अर्का बिरामी भीमबहादुर आङ्दाम्बेलाई पक्षधात भएर आईसीयुमा उपचार भइरहेको छ । नोबेलको आईसीयूमा रक्तअल्पता भएका किसान यादवको उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।
- दीर्घ रोगी बढी जोखिममा
सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा १ हजार ७९० जना कैदीबन्दी छन् । त्यसमध्ये २५२ जना दीर्घरोगी/नियमित औषधि सेवन गर्ने बिरामी छन् । मन्त्री भुपेन्द्र राईले यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै थप सतर्कता अपनाउन निर्देशन दिएका छन् । कारागारका सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिनुपर्ने, पानीको गुणस्तर जाँच गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले दीर्घ रोगी, नियमित औषधि खाने रोगी र सरुवा रोग लागेका कैदीबन्दीलाई छुट्टाछुट्टै राख्न र उनीहरूको उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् । ‘सबै कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्यो । त्यहाँको पानीको परीक्षण गर्नुपर्यो,’ राईले भने, ‘दीर्घरोगी र सरुवा रोग भएका कैदीहरूलाई छुट्टाछुट्टै राख्नुपर्ने देखियो ।’
बिहीबार र शुक्रबार गरिएको नमुना सङ्कलनको रिपोर्ट आएपछि थप कदम चालिने मन्त्री राईले बताए । ‘एक जनामा त जापानिज इन्सेफ्लाइटिस देखियो । यसले त झन भयावह स्थिति आउन सक्छ । डेंगु हो भने पनि, कोभिड हो भने पनि भयावह स्थिति आउन सक्छ,’ उनले भने, ‘नमूना सङ्कलन गरिएकाहरूको रिपोर्ट आइतबारसम्ममा आइपुग्छ ।’
_thdCJRCABN.jpg)
कारागारभित्र बिरामी बस्ने स्थानभन्दा माथि सेफ्टी ट्याङ्की रहेको आफूले थाहा पाएको उनले बताए । ‘यो कारागार बनाउँदै राम्रो गरी नबनाएको देखियो,’ उनले भने, ‘त्यसलाई प्राविधिक पठाएर हेर्ने र बजेट कति आउँदो रहेछ त्यो पछाडि कुराचाहिँ अगाडि बढाउने विषयमा गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने भयो ।’
उनका अनुसार कारागारमा बिरामी निको हुने र थपिने क्रम जारी रहेको बताए । ‘बिरामी निको हुने क्रम पनि जारी छ । बिरामी हुने क्रम पनि जारी रहेको हुँदा अब यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने देखियो,’ उनले भने ।
गत बुधबार श्वास प्रश्वासको समस्याको कारण कारागारमा रहेका राजविराज नगरपालिका वडा नम्बर ८ का जलेश्वर यादवको मृत्यु भएको थियो । उनको इनरुवा अस्पतालमा उपचारको क्रममै मृत्यु भएपछि भाइरल ज्वरोको सङ्क्रमण फैलिएको हुनसक्ने भन्दै स्वास्थ्य परीक्षण सुरु गरिएको थियो ।
त्यही सङ्क्रमणकै कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । जिल्ला सुरक्षा समितिको टोली बुधबार राति नै डाक्टरको टोली लिएर कारागार पुगेको थियो । प्रदेश स्वास्थ्य कार्यालय, बीपी प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसहितको टोलीले सबैको स्वास्थ्य जाँच गरिएको छ ।
कारागारमा आइतबार र सोमबार पनि एक–एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा भने उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । १५ गते रामदेव उराउको मृत्यु भएको थियो । उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो भने राईको शरीर नचलेका कारण केही दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।
- अधिकांश कैदीबन्दीमा ‘एन्जाइटी’ भएको प्रतिष्ठानको दाबी
यसैबिच कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ । अस्पताल निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिन÷जनरल प्राक्टिस, एनेस्थेसियोलोजी लगायतका विभिन्न विभागका चिकित्सक, नर्स र ल्याब प्राविधिक गरी ९ सदस्यीय आरआरटी गठन गरेर सेवा सुरु गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति जारी जानकारी दिएका हुन् ।
आरआरटीले सरुवा रोगको सम्भावित महामारीलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर स्थलगत अवलोकन, जाँच पड्ताल र उपचार प्रदान गरेको छ । स्क्रिनिङ गरिएको मध्ये अधिकांशमा ‘एन्जाइटी’ पाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको रिपोर्ट अनुसार विगत १०–१२ दिनदेखि नै कारागारबाट यस्तै प्रकृतिका बिरामीहरू आइरहेका थिए । यस प्रकोपसँग सम्बन्धित भई हालसम्म ३ जना कैदीबन्दीको निधन भएको प्रतिष्ठानले जनाएको छ ।
मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. रबिन मास्केले विगत १ महिनादेखि भाइरल इन्फेक्सन र फिभरका केसहरू बढेको र कारागारको समस्या पनि भाइरल सङ्क्रमणले नै भएको सम्भावना बढी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण