‘युट्युब आएन भने सरकारले हामीलाई के विकल्प दिन्छ ?’
काठमाडौँ । गायिका तृष्णा गुरुङको शुक्रबार नयाँ गीत ‘लै बरी’ सार्वजनिक गर्ने तयारी थियो । सरकारले बिहीबारबाटै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि उनले अहिलेलाई गीत रोकिन् ।
तृष्णाजस्तै संगीत क्षेत्रमा काम गर्ने थुप्रै कलाकार, सर्जक र प्राविधिकहरु सरकारको यो कदमपछि प्रभावित बनेका छन् । विशेषगरी युट्युबबाट गीतसंगीत सार्वजनिक गर्ने र त्यसको सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै राम्रो आम्दानी गर्नेहरूको रोजीरोटी खोसिएको छ । दसैँका लागि गीत ल्याउन काम गरिरहेका काम रोक्न बाध्य भएका छन् । गीत-संगीत तयारीमा रहेकाहरु कसरी दर्शक–श्रोतामाझ पुर्याउने भनेर चिन्ता तथा अलमलमा छन् ।
सामाजिक सञ्जालको प्रतिबन्धले कलाकारको प्रत्यक्ष आयस्रोतमा ठुलो असर पुगेको गायक तथा संगीतकार अर्जुन पोखरेल बताउँछन् । दसैँमा रिलिज गर्ने तयारी गरिएका आफ्ना दुईवटा गीत उनले अहिलेलाई थाँती राखेका छन् ।
‘चलचित्रको सन्दर्भमा पनि युट्युब राइट्स र डिजिटल राइट्स बेचेर २० लाखदेखि करोडौँसम्म कारोबार हुन्छ,’ पोखरेल भन्छन्, ‘निर्माताहरूले २ करोड खर्च गरेर ५० लाख वा ५ करोड कमाए पनि त्यसको ५ प्रतिशत कर सरकारलाई तिर्छन् । घाटामा हुँदा पनि कर तिरेका छन् ।’
सामाजिक सञ्जाल बन्द गरेर सरकारले नै राजस्व गुमाएको उनको धारणा छ । ‘नेपाल सरकारलाई ट्याक्स तिरेर नेपालमै व्यवसाय गर्ने नेपालीहरू सरकारकै सन्तान हुन् । किसानलाई धान रोप्न दिएर धान बेच्न नपाउने बजार बन्द गरेजस्तै हो यो,’ उनी भन्छन्, ‘युट्युबले दर्ता गर्न आएन भनेर युट्युबसँग रिस पोख्दा हामी आफ्नै सन्ततिलाई मारिरहेका छौँ ।’
पोखरेल सरकारलाई विकल्प दिन चुनौती दिन्छन् । ‘यदि युट्युबले नेपालमा दर्ता गर्न आएन भने सरकारले विकल्प के दिने ? युट्युब नआइदिन पनि सक्छ । यस्तो बेला सरकारले आत्मनिर्भर भएका कलाकारलाई अर्को प्लेटफर्म दिनुपर्छ,’ उनी भन्छन् ।
यस्तै गुनासो गायक तथा संगीतकार कस्तुप पन्तको पनि छ । उनका पनि दुई गीत रिलिजका लागि तयार थिए । अहिले ती थन्किएको उनी बताउँछन् । ‘डिजिटल प्रविधिको युगमा प्रविधिलाई व्यवस्थापन गर्नुपर्नेमा प्रतिबन्ध लगाउँदा हामी क्यासेटको जमानामा फर्किएको जस्तो भयो,’ उनी भन्छन्, ‘यो प्रतिबन्धले मासिक करोडौँ डलर बराबरको कारोबारमा असर पुगेको छ ।’
उनी यसले गायक-गायिकाको मुख्य आम्दानीको श्रोतमा ब्रेक लगाएको धारणा राख्छन् । प्रविधिलाई नियन्त्रण होइन, नियमन गर्नुपर्ने उनी बताउँछन् । ‘प्रविधिलाई व्यवस्थापन गर्नुपर्ने हो, प्रविधिसँग पंगा लिएर सकिँदैन । यो बन्द गर्दा हामी ६०–६५ वर्ष पहिले फर्किएको जस्तो भयो,’ उनी भन्छन् ।
पछिल्लो समय ‘गुन भुल्यौ’ गीतबाट चर्चामा रहेकी गायिका सारिका घिमिरेसँग दसैँका लागि तयार पारिएका दुई–तीनवटा गीत छन् । ती सबै क्रमश: सार्वजनिक गर्ने उनको योजना थियो । सरकारको निर्णयपछि अहिलेलाई सबै गीत रोकेको उनी सुनाउँछिन् ।
‘सामाजिक सञ्जाल रोकिएपछि गीत केमा हाल्ने ? अब गीतहरू बन्दैनन्, स्टुडियोमा रेकर्ड हुँदैनन्, टेक्निसियनहरूको चुलो बल्दैन,’ उनी भन्छिन्, ‘एउटा गीत रेकर्ड गराउँदा सयौँ मान्छे आश्रित हुन्छन्, उनीहरूको रोजीरोटी खोसिएको छ ।’
गायिका मञ्जु पौडेल पनि आफ्नो आम्दानीको स्रोत ठप्प भएकोमा चिन्तित छिन् । ‘कति गीतबाट पेमेन्ट आउनुपर्ने बाँकी थियो, सबै ठप्प भयो । यसबाटै बाँच्ने र अरुलाई पनि बचाउने धेरै छन् ।’ चाडपर्व नजिकिँदै गर्दा यसले आर्थिक पाटोमा ठूलो असर गरेको छ । यसले कलाकारको ऊर्जामा समेत असर पर्ने उनी बताउँछिन् ।
पौडेल युट्युबलाई कलाकारको एक दस्तावेज र इतिहासको रूपमा लिन्छिन् । ‘सरकारले त खासै हाम्रो लागि केही गरेको छैन । हामी व्यक्तिगत रूपमा काम गर्दा युट्युब हाम्रो लागि दरिलो प्लेटफर्म थियो,’ उनी भन्छिन्, ‘यसको सट्टा अन्य विकृति फैलाउने टिकटक जस्ता प्लेटफर्म बन्द गरेको भए आपत्ति थिएन ।’
लोकगायक विमलराज क्षेत्री पनि सरकारले चाडपर्व अगाडि यस्तो निर्णय गरेकोमा खुसी छैनन् । उनी निर्णय गरे पनि अहिले गर्न नहुने तर्क राख्छन् ।
‘राज्यले विकासका काम वा नियमनका कामहरू चाडपर्व सकिएपछि मङ्सिरतिर गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘सरकारको निर्णयलाई राष्ट्र र जनताको हितमा सकारात्मक भनेर विश्वास गर्ने भए पनि तात्कालिक अवस्थामा व्यापार–व्यवसाय र आम्दानीमा घाटा पर्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।‘
प्रतिबन्धले कलाकारको व्यक्तिगत आयमा मात्र नभई सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असर पुर्याएको गायक युवराज चौलागाईं बताउँछन् ।
‘युट्युब बन्द हुँदा रोजीरोटीमा असर परेको छ । यसले अन्तराष्ट्रिय सम्बन्धमा पनि असर गर्छ,’ चौलागाईं भन्छन्, ‘हाम्रा विदेशमा रहेका आफन्तहरूसँग प्रत्यक्ष कुरा गर्न पाइने, विगतमा फोटो/भिडियो आदानप्रदान गर्न पाइने एउटा माध्यम सामाजिक सञ्जाल हो ।’
चौलागाईं यसअघि नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर युट्युबको रोयल्टी र नियमनबारे ‘सिस्टमेटिक’ तरिकाले काम गर्न आग्रह गरेको समेत स्मरण गर्छन् ।
उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा बन्द गर्नुभन्दा अगाडि केही समय लिएर विकल्प अपनाएर नियमन गरेको भए राम्रो हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण