स्लाभोज जिजेक : अनौठो बौद्धिक
सारांश
- स्लाभोज जिजेक फरक शैलीका लेखक हुन्, जसले दर्शन, मनोविश्लेषण र समसामयिक विषयमा लेख्छन्।
- जिजेकले मार्क्सवाद, पुँजीवाद र पहिचानको राजनीतिबारे बहस गरेका छन्, तर कुनै निष्कर्षमा पुगेका छैनन्।
- उनका विचारहरूमा विचारधाराको आलोचना, राजनीतिक अचेतन र समसामयिक समाजका चुनौतीहरू समावेश छन्।
स्लाभोज जिजेक पृथक् शैलीका लेखक हुन् । उनको बहसको तरिका पनि फरक छ । उनका पुस्तकहरू अन्य पुस्तक भन्दा भिन्न छन् । जिजेकका किताबहरू खासमा कुनै निष्कर्षमा पुग्दैनन्, केवल टुङ्गिन्छन् भन्न सकिन्छ ।
उनी कुनै सन्दर्भमा चर्चा गरिरहेका हुन्छन् । त्यही चर्चा कुनै चरणमा पुगेर रोकिएको हुन्छ । तपाईं उनका जुनसुकै पुस्तक हेर्नुस्, तपाईं त्यहाँ दर्शन, मनोविश्लेषण, पप संस्कृतिदेखि तत्कालीन सन्दर्भबारेका टिप्पणी हुँदै रमाइला चुट्किला सबै पाउनु हुन्छ । प्रायः यस्ता सन्दर्भहरू सजिलै ठम्याउन सकिने भाषा र शैलीमा हुन्छन् ।
स्लोभेनियाली दार्शनिक तथा सांस्कृतिक सिद्धान्तकार जिजेकले सन् २०१९ मा एउटा चर्चित बहसमा भाग लिए । मनोविज्ञानका प्राध्यापक तथा सांस्कृतिक टिप्पणीकार जोर्डन पिटरसनसँगको बहसले उनलाई धेरै नयाँ मानिस माझ परिचित मात्रै गराएन । उनका विविध पक्षबारे पनि प्रकाश पारिदियो । क्यानडाको टोरन्टोमा भएको उक्त बहसमा मार्क्सवाद, पुँजीवाद तथा खुसीको सम्बन्धबारे चर्चा भएको थियो ।
जिजेकलाई पिटरसनको प्रतिक्रियावादी शैलीको वामपन्थी प्रतिपक्षका रूपमा प्रस्तुत गरिएको थियो । उनीहरू धेरै कुरामा असहमत थिए । केही विषयमा भने सहमत देखियो । उनीहरू पहिचान राजनीतिको विरोधमा भने सहमत थिए । यो बहस पनि कुनै निष्कर्षमा पुगेन अन्ततः केवल टुङ्गिएको मात्रै थियो ।
अङ्ग्रेजीभाषी प्राज्ञिक जगतमा जिजेकको प्रवेश करिब ३ दशक अघि भएको हो । सन् १९८९मा प्रकाशित ‘द सब्लाइम अब्जेक्ट अफ आइडियोलोजी’ नामक बहुचर्चित पुस्तकसँगै उनको धमाकेदार उदय भयो । लगत्तै उनले हलिउडका चलचित्रहरूको विशद चर्चा गर्दै लेखेका पुस्तकहरू ‘इन्जोय योर सिम्प्टम’ तथा ‘लुकिङ अरी’ प्रकाशित भए । जसले उनलाई लोकप्रिय लेखकका रूपमा पनि स्थापित गरिदियो ।
प्रसिद्ध अखबार ‘फरेन पलिसी’ले उनलाई ‘सेलेब्रेटी दार्शनिक’ का रूपमा प्रस्तुत गर्यो । उनले त्यसयता धेरै विषयमा पुस्तक लेखेका छन् । उनले चर्चा गरेका विषयहरूमा हिंसा, वैश्विक वित्तीय सङ्कट, सेप्टेम्बर ११ को घटनादेखि इसाइयत हुँदै महामारी लगायत धेरै सन्दर्भ आइपुग्छन् । उनको पछिल्लो पुस्तकले स्वतन्त्रताको प्रश्नबारे चर्चा गरेको छ ।

- विचार धाराबारे समालोचना
सन् १९८९मा प्रकाशित ‘द सब्लाइम अब्जेक्ट अफ आइडियोलोजी’को शीर्षकले नै जिजेकको यथेष्ट बौद्धिक क्षमताको मुख्य पक्षतर्फ इङ्गित गर्छ । पुस्तकको सुरुवातबाटै उनी, मानिसलाई उनीहरूले काम गर्ने कुन शैलीका कारणले प्रेरित गरिरहेको हुन्छ भन्नेबारे चाख देखाउन थाल्छन् । उनी खास गरी मानिसले आफ्नो हितमा टेवा नपुग्ने खालका राजनीतिक विचार र गतिविधिहरूमा किन जोसिएर लाग्छन् तथा आफूलाई त्यसमा जोडिएको देखाउन खोज्छन् भन्ने कुरामा रुचि राख्छन् ।
विचारधारा भनेको एक प्रकारको राजनीतिक सिद्धान्त नै हो । जसले मानिसलाई कसरी राजनीतिक जीवन सङ्गठित गर्ने तथा जगतको व्यापक फलकमा उनीहरूको स्थान कहाँनेर पर्छ भनेर बुझाउने प्रयत्न गर्छ । मार्क्सवाद–लेनिनवाद, उदारवाद र फासिवाद त्यस्तै विचारधारा हुन् । विचारधाराले आम मानिसमा साझा लक्ष्यको भावना जागृत गराउँछ । साथै उनीहरूलाई महत्त्व पनि प्रदान गर्छ ।
जिजेकका अनुसार राजनीतिक विचारधाराहरूले आफ्ना लक्षित मानिसलाई समाज किन सधैँ राम्रो दिशामा मात्रै गइरहेको हुँदैन भन्नेबारे पनि तार्किक आधार दिन्छ । समय क्रमसँगै थप बुद्धिमान, असल, न्यायपूर्ण तथा कम सङ्कटापन्न नहुने स्वरूप बुझाउँदै त्यसबारे तर्क दिन्छ । उदाहरणका लागि हामी सन् २००० यता मात्रै पनि हामीले सामना गरेका अप्ठेराहरू हेर्न सक्छौँ । जसमा सेप्टेम्बर ११ को हमला, इराक आक्रमण, वैश्विक वित्तीय सङ्कट, कोभिड–१९ महामारी, युक्रेन युद्ध तथा इजरायल–हमास द्वन्द्व जस्ता घटनालाई लिन सकिन्छ ।
बहुसङ्ख्यक मानिसको शान्तिपूर्ण समर्थन प्राप्त भएन भने राजनीतिक प्रणालीहरू फस्टाउन सक्दैनन् । जब युद्ध, आर्थिक असफलता वा आतङ्कवाद जस्ता घटना देखापर्छन्, जिजेकका अनुसार विचारधाराहरू त्यस्ता समस्याको कारण अन्यत्र देखाउन थाल्छन् । उनीहरू यसको कारण आफू नभएर अरू नै हुन भन्न थाल्छन् ।
हाम्रो नियन्त्रणमा नभएको शक्तिले सबै गडबड गराएको हो भन्न थाल्छन् । हामीलाई आरोप लगाउन मिल्दैन भन्न थाल्छन् । त्यस पश्चात् घोषित बाह्य कारण अथवा जारी भद्रगोलको अटेरी स्रोतलाई ठेगान लगाएपछि मात्रै सबै थोक ठिकठाक हुन्छ भन्ने गर्छन् ।
- राजनीतिक अचेतन
विचारधाराको विरोधाभास व्याख्या गर्न जिजेकले फ्रान्सेली मनोविश्लेषक ज्याक्स लकानका सैद्धान्तिक प्रस्थापनाहरू उपयोग गरेका छन् । लकानको मनोविश्लेषणलाई उनी जर्मनीका आदर्शवादीहरू इम्यानुअल कान्ट, गिओर्ग विल्हेम फ्रेडरिक हेगेल तहा फ्रेडरिक शेलिङ जस्ता दार्शनिकका विचारसँग लगेर जोड्छन् ।

लकानका अनुसार मान्छेको व्यवहार यस्ता अविवेकी इच्छा, आकाङ्क्षाले प्रेरित हुन्छ, जसलाई हामीले सचेत रूपमा ठम्याउँदैनौँ । लकानको यही दाबीबाट प्रभावित भएर जिजेकले आफ्नो एउटा प्रारम्भिक पुस्तकको शीर्षक नै ‘तिनीहरू के गर्छन् भन्नेबारे तिनीहरूलाई नै थाहा छैन’ भन्ने राखे ।
त्यस्ता ‘अचेतन’ चाहना बुझ्नलाई लकानले आफ्नो समयको भाषाशास्त्र र नृतत्वशास्त्रको सहारा लिएका छन् । जसका कारण लकानको लेखनी असाध्यै दुरूह बन्न पुग्यो । जिजेकको सफलताको एउटा कारण पनि त्यहीँनेर जोडिन आइपुग्छ । जिजेकले पप संस्कृति, चुट्किला तथा राजनीतिको उदाहरण दिँदै लकानका तर्क र कृतिलाई बोधगम्य बनाउन केही हदसम्म सफल भए । जसकारण आज हामी लकानका तर्क केही हदसम्म ठम्याउन सक्छौँ ।
जस्तै, लकानको एउटा अवधारणा छ जसमा प्रतिकका रूपमा प्रस्तुत गर्न नसकिने वास्तविकताको सन्दर्भ छ । त्यसलाई जिजेकले एलियन चलचित्रका राक्षसहरूसँग जोडेर व्याख्या गर्छन् । जसले जटिल अवधारणाबारे बुझ्न सहज बनाइदिन्छ ।
‘विचारधाराको समालोचना’ का क्रममा, जिजेकले लकानबाट प्रभावित भएर मानिस आफ्नो राजनीतिक मुद्दा तथा तार्किक आधार ठम्याउन सक्दैनन् भन्ने दाबी गरेका छन् । तिनीहरू अभिभावकीय व्यक्तित्वहरूसँगको आफ्नो प्रारम्भिक संलग्नताका आधारमा कारणहरू र नेताहरूसँग भावुक, कहिले काहीँ बिना सर्त पहिचान बनाउँछन् ।
उनका अनुसार मानिस आफ्नो बालापनका अभिभावकहरूसँगको भावनात्मक सम्बन्धका आधारमा नि:सर्त रूपमा राजनीतिक मुद्दा तथा नेता छान्ने गर्छन् । भावनात्मक छनोट हुने गर्छ । यसमा कुनै ‘चमत्कारी’ नेता वा ‘क्रान्ति’, ‘मानवीय स्वतन्त्रता’ जस्ता उत्साहवर्धक विचारहरू पनि हुन सक्छन् । यही विशेषतालाई जिजेकले विचारधाराको ‘सबलाइम अब्जेक्ट’ भन्छन ।
मानिसले आफूले विश्वास गरेको नेता वा समर्थन गरेको मुद्दाले खासमा के भन्छ भन्ने बुझ्न आवश्यक ठान्दैनन् । आफू वरपरकाहरूले त्यसबारे कत्तिको महत्त्व दिँदैछन् वा कस्तो सोच्दैछन् भन्ने हेर्छन् । त्यसैले जिजेकका अनुसार मानिसको विश्वास ‘अरूको माध्यमबाट’ जागृत तथा सशक्त हुन्छ ।
जिजेक लेख्छन्, ‘मध्ययुगीन चर्चका सबै अनुष्ठानहरू ल्याटिन भाषामा हुन्थे । त्यहाँ जाने धेरैले ल्याटिन भाषा बुझ्दैनथे । तर यसरी नबुझ्दैमा केही फरक भने पर्दैनथ्यो । प्रार्थना वा अनुष्ठानहरू निश्चित लक्ष्य साथ गरिन्थे । मानिसलाई त्यहाँ भट्ट्याइएका गन्थनहरू पादरीले पक्कै बुझेका होलान् भन्ने विश्वास थियो । उनीहरू आफूले पनि ‘आफ्ना पादरी मार्फत बुझेको’ जस्तै ठान्थे ।
विचारधारामा सामेल हुँदै गर्दा हामीलाई ‘विचारधारात्मक उमङ्ग’ हासिल हुने जिजेकको दाबी छ । उनका अनुसार कुनै विचारधारामा सामेल भएपछि हामी समुदायको एउटा हिस्सा बनेको महसुस हुन्छ, उनीहरूको साथमा समान चाडपर्वहरू मनाउने गर्छन्, हाम्रा साझा चलनहरू हुन्छन् साथै हास्य र मनोरञ्जनको समेत भावना साझा लाग्न थाल्छ ।
अर्कोतर्फ, जिजेकको विश्लेषणले विचारधाराले आफू भन्दा बाहेकका वा बाह्य तत्त्वको खारेज पनि गर्छ भन्ने देखाउँछ । समान विषयमा मजा नमान्नेहरू खारेज हुन्छन् । ‘हामी’ भन्दा पृथक् ‘अन्य’हरू खान, बोल्न, पूजा गर्न वा फरक तरिकाले उत्सव मनाउन सक्छन् । विचारधाराहरूले प्रायः यी बाह्य मानिसलाई खतराको रूपमा चित्रण गर्ने गर्छ । उनीहरूलाई आफ्नो जागिर, पैसा वा जीवनशैली नै चोरेको वा खोसेको आरोप लगाउँछन् ।

- अब उनको बाटो कता ?
आफ्ना प्रारम्भिक रचनाहरूमा जिजेकले आफूले उपयोग गरेको विचारधाराबारेको पुनर्विचारको लक्ष्य समाजलाई ‘विचारधारात्मक कल्पनाको दुनियाँ’ बाट मुक्त हुन सघाउने बताएका थिए । उनी मानिसलाई ‘इतिहासको अन्त्य’ भनिने काल्पनिक धारणा वा ‘विशुद्ध’ हुने नाममा फासिवादी समुदाय तयार गर्ने बाटोमा नलाग्न सुझाव दिन्थे । यसरी बाहिर निस्केर प्रबुद्ध राजनीतिक लोकतन्त्रमा पुग्नुपर्ने उनको आग्रह हुन्थ्यो ।
२१औँ शताब्दी सुरु भएयता भने जिजेक केही अन्योलमा देखिन्छन् । उनको त्यस्तो अन्योल कुनै राजनीतिक व्यवस्था आधारहीन राजनीतिक कथा (मिथ) मा टिकिरहन सक्छ कि सक्दैन भन्नेमा छ । त्यसयता उनी हास्यव्यङ्ग्यको सहारा धेरै लिन थालेका छन् । साथै आफूलाई ‘हराएका मुद्दाहरूको रक्षक’ भन्ने गर्छन् । त्यो पदावली उनको सबैभन्दा विवादास्पद पुस्तकको शीर्षक पनि हो ।
‘हराएका मुद्दाहरू’ भन्ने पुस्तकमा कहिले काहीँ फ्रान्सेली क्रान्ति कालको ज्याकोबिन आतङ्क वा स्टालिनवाद जस्ता अनौठा उदाहरणहरू पनि आइपुग्छन् । उनले एकटक दार्शनिक हाइडेगरबारे बोल्दै, हिटलरकालको जर्मनीमा नाजीवादका लागि हाइडेगरले गरेको समर्थन ‘गलत दिशामा सही कदम’ थियो भनेर पनि भनेका छन् ।
यसैबिच अर्नेष्टो लक्लाउ जस्ता राजनीतिशास्त्रीहरूले जिजेक मार्क्सवादी नै हुन कि हैनन् भन्ने प्रश्न उठाएका छन् । उनका उग्र अभिव्यक्तिहरू कुनै प्रगतिशील राजनीति दृष्टिकोण वा सोचसँग नजोडिएको आरोप उनलाई लागेको छ ।

अन्य केहीले सन् १९८०को दशकमा स्लोभेनियामा रहँदा जिजेकको राजनीतिक संलग्नतालाई लिएर प्रश्न गरेका छन् । उनीहरूका अनुसार जिजेकले त्यो समयमा ‘थप निजीकरण’ को समर्थन गर्दै ‘यसले राम्रो गर्छ भने किन प्रयोग नगर्ने’ भनेका थिए । तर सन् १९९० पश्चात् भने उनी आफूलाई पश्चिमा जगतमा मार्क्सवादीहरूको कित्तामा उभ्याइरहेका छन् ।
केही समय अघि दार्शनिक ग्याब्रियल रकहिलले जिजेकलाई आजको अति–बजारिकृत समाजको ‘जोकर’ सँग तुलना गरिदिए । आफू चाहिँ आजको तीव्र गतिमा बदलिँदो समयमा व्यावसायिक रूपमा सफल भइरहेको तर प्रस्तुति भने पुँजीवादको उग्र विरोधी रहेको आरोप लगाए ।
जिजेकलाई मानिस चकित पर्ने दाबीहरू गर्न रमाइलो लाग्छ । यसैकारण कहिले काहीँ उनलाई कति गम्भीरतापूर्वक लिने भन्ने कुरा पनि अन्योल हुन्छ । उनी भने त्यस्ता आरोपमा सहमत छैनन् । उनले आफ्नो उद्देश्य साम्यवादको पतनदेखि नै आमरुपमा कायम रहेको वास्तविक सामाजिक परिवर्तन असम्भव छ भन्ने विश्वासलाई चुनौती दिनु रहेको बताएका छन् ।
जिजेक अन्य बौद्धिकहरू जस्तै आलोचना र प्रशंसा दुवै सहितका व्यक्ति हुन । जेहोस, उनले प्रयोग गर्ने केही अप्ठ्यारा सिद्धान्तको उन्नत व्याख्या तथा प्रयोगलाई एकै छिन छोडिदिने हो भने पनि एउटा कुशल उत्तेजक बौद्धिककै रूपमा सही, आजका दिनमा जिजेक पढ्नुपर्ने विचारकमा पर्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण