शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘संगीत आश्रम’ निर्माणको लक्ष्य बोकेका गायक सिग्देल बेलायतमा

शनिबार, २१ भदौ २०८२, १० : ४६
शनिबार, २१ भदौ २०८२

सारांश

  • गायक राज सिग्देल लन्डनमा छन् र चितवनमा संगीत आश्रम बनाउँदैछन्।
  • आश्रम निर्माणका लागि बेलायतमा शुभचिन्तकहरूसँग भेटघाट र सांगीतिक कार्यक्रम गर्दैछन्।
  • सिग्देलका अनुसार, संगीतलाई साधनासँग जोड्न र नेपाली संगीतलाई न्याय दिन आश्रम आवश्यक छ।

लन्डन । नेपाली गजल र आधुनिक गायनमा चम्किरहेका गायक राज सिग्देल यतिखेर लन्डनमा छन् ।  यसपटक उनको खास भ्रमण उद्देश्य चितवनको नारायणी नदी किनारमा निर्माण गर्न लागिएको ‘संगीत आश्रम’ परियोजनालाई साकार तुल्याउनु हो ।

करिब अढाई करोड रुपैयां लगानीमा बन्ने यस आश्रमका लागि आवश्यक पर्ने जग्गा सुरक्षित भइसकेको उनले जानकारी दिए । बेलायतमा रहंदा उनले आश्रम निर्माणमा जोडिने चाहना राख्ने शुभचिन्तकहरुसँगको भेटघाटका साथै केही सांगीतिक कार्यक्रम गर्ने बताएका छन् । यही सेप्टेम्बर ८ तारिख सोमबार बेलायतको पर्यटकीय स्थल डर्डलडोर वेरहाममा अवस्थित २९०२९ नेपाली रेष्टुरेन्टमा एक कार्यक्रम तय गरिसकेको र अन्य केही कार्यक्रम पाइपलाइनमा रहेको सिग्देलले बताए ।

संगीतलाई साधनासँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भएको र यसबाट संगीतलाई ठूलो टेवा पुग्ने उनको अनुभव छ । उनले भने,'कलाकारले गुरुबाट सिकेर मात्र होइन, ध्यान र साधनाबाट पनि आफ्नो कला निखार्नुपर्छ। मैले ध्यान र संगीतसँग मिलाएर नयाँ प्रयोग गर्ने सोच बनाएको छु।' दशौँ वर्षसम्म ध्यान बिनाको संगीतको तुलनामा केही वर्षयता ध्यानसहितको संगीतले ठूलो परिवर्तन ल्याएको उनले बताए ।

उनका अनुसार कलाकारितामा रहर मात्र होइन, अनुशासन, निरन्तर अभ्यास र आन्तरिक साधना पनि आवश्यक हुन्छ। उनले भने, 'आवाज राम्रो भएर मात्र कलाकार बन्न सकिँदैन। त्यसलाई दीर्घकालीन रुपमा टिकाइराख्न र दर्शक स्रोताको मन जित्न निरन्तर मिहिनेत र साधनाको आवश्यकता पर्दछ ।'

पछिल्लो समय नेपाली कलाकारितामा अनुशासनको कमी देखिएको उल्लेख गर्दै सिग्देलले भने, 'राम्रो कलाकार स्टेजमा आउनुअघि धेरै अभ्यास गर्नुपर्छ। तर पछिल्लो समय दर्शकले वास्तविक कला भन्दा क्षणिक मनोरन्जन मात्र पाउने गरेका छन्।'

टिकट काटेर कलाकारिता हेर्न जाने दर्शक स्रोताहरु अन्यायमा पर्ने गरेको र नेपाली कलाकारलाई माया गर्नुपर्छ भन्ने सोचको मात्र विकास भएको उनको दावी छ । 'नेपाली संगीतलाई न्याय दिलाउन र दर्शक स्रोताको मनमा बस्न साधना जरुरी पर्छ । त्यसका लागि आफ्नो कलाकारिता निखार्ने उपयुक्त आश्रम आवश्यक पर्दछ' उनले भने ।

एकै ठाउँमा बसेर कलाकारबीचमा गरिने अभ्यास तथा साधनाले कलाकारलाई निखार्ने अवसर मिल्ने उनको धारणा छ ।

उनले विगतका महान कलाकारहरु भक्तराज आचार्य, नारायण गोपाल, गोपाल योञ्जन, फत्तेमान, तारादेवी र नातिकाजीलगायतलाई स्मरण गर्दै भने, 'त्यो पुस्ताको गीत सुन्दा आज पनि आँखाबाट आँसु झर्छ। त्यस्तै कलाकारिता पुनः जन्माउन आश्रमको आवश्यकता छ।'

आफूले स्थापना गर्न लागेको संगीत आश्रम केही व्यक्तिगत स्वार्थ र नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने उद्देश्यले अघि बढाइएको उनले स्पष्ट पारे। विदेशमा रहेका कतिपय साथीभाइ र संघसंस्थाले पनि यस अभियानमा जोडिन चासो देखाएको र अन्य इच्छुक व्यक्ति तथा संघसंस्थालाई पनि जोडिन उनको आग्रह छ ।

बेलायत साथै अष्ट्रेलिया, अमेरिका तथा अन्य केही मुलुकमा रहेका नेपाली समुदायसँग पनि यस अभियानको सम्भावनाबारे छलफल भइरहेको सिग्देलले बताए। उनले भने, 'देश–विदेशमा बस्ने स्रोताहरूलाई आग्रह गर्दछु, संगीत र ध्यानलाई एकसाथ अगाडि बढाउने अभियानलाई साथ दिनुहोस्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप