‘धेरैले आफूलाई जे लाग्यो त्यही लेखिरहेका छन्’
२००९ देखि वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण नेपाली पत्रपत्रिकामा प्रकाशन गर्दै आएका रमेश भुसालले ‘बीबीसी’, ‘द गार्डियन’, ‘द फाइनान्सियल टाइम्स’, ‘द थर्ड पोल’, ‘द वायर’, ‘स्क्रल’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरूको विश्वव्यापी सञ्जाल ‘अर्थ जर्नालिजम् नेटवर्क’का दक्षिण एसिया संयोजक समेत हुन् । अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादक समेत भएर काम गरेका भुसालको पहिलो गैरआख्यान कृति ‘छालबाटो’ (२०८१) भर्खरै पद्यश्री साहित्य पुरस्कारबाट सम्मानित भएको छ । उनै भुसाललाई हामीले यसपटक रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।
- तपाईं किन लेख्नुहुन्छ ? यहाँलाई लेख्नका लागि कुन कुराले बढी प्रेरित गर्छ ?
लेख्ने भनेकै आत्मसन्तुष्टिका लागि हो । हैन त ? तर मैले लेख्नुको दुइटा कारण छन् । पहिलो त मैले जे कुरा जानेको छु वा सिकेको छु, त्यो कुरा अरुलाई साझा गर्नका लागि लेख्छु । अर्को लेख्नका लागि त सिक्नुपर्यो, केही सिक्न पाइने हुँदा पनि मैले लेख्छु । फेरि म परेँ पत्रकार । आफूले बुझेको कुरालाई आममान्छेले सरल तरिकाले बुझ्न सक्ने गरी पस्कन सक्ने क्षमता बढाउनलाई वा त्यो क्षमता मसँग छ भन्ने मलाई लागेर पनि म लेख्छु ।
विद्यालयमा हुँदादेखि नै म कविता लेख्थेँ । कविता प्रतियोगितामा म प्रथम पनि भएको छु तर पछिल्लो समय मैले कविता त्यति धेरै लेखिरहेको छैन । मलाई कविता मन पर्छ, म वाचन गर्न सक्छु । म पहिला रेडियोमा पनि काम गर्थें । वादविवाद प्रतियोगितामा भाग लिन्थेँ । त्यो हिसाबले चाहिँ मलाई पहिलेदेखि नै लेखन अझ भनौँ साहित्यमा निकै धेरै रुचि थियो ।
पत्रकारिता गरिरहँदा लामो समय मैले अंग्रेजी भाषामा समाचार लेख्ने काम गरेँ । त्यतिबेला लेखनतिर खासै मैले धेरै ध्यान दिन पाइनँ । पछिल्लो समय मैले नेपालीमा खास गरेर निबन्ध धेरै लेखेँ । एकदम जटिल विषयलाई, ढुङ्गालाई, माटोलाई, पृथ्वीलाई, जीवनलाई कसरी बुझ्ने होला भनेर विज्ञान र अनि यो साहित्यलाई जोडेर हेर्न थालेँ । यी विषयमा चिन्तन बढ्दै गर्दा लेख लेख्न अरु रुचि जाग्यो ।
- तपाईंले अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ?
अहिले पढ्दै गरेको किताब ‘द बर्निङ अर्थ’ हो । यो पुस्तक येल विश्वविद्यालयका प्रोफेसर सुनिल अमृतले लेखेका हुन् । अमृतको खुबी के छ भने उनी इतिहास र वातावरणलाई मिसाएर एकदमै राम्रो कथा भन्छन् । गएको पाँच–सात सय वर्षमा पृथ्वी कसरी यस्तो हुन आइपुग्यो भन्ने कथालाई उनले इतिहाससँग जोडेर लेखेका छन् ।
- यो किताब तपाईंलाई कस्तो लागिरहेको छ ?
मैले यो किताब पढेर भ्याइसकेको छैन । यसअघि मैले अमृतकै अर्को किताब ‘द अनरुली वाटर्स’ पढेको थिएँ । दक्षिण एसियामा खास गरेर नदी वा पानीलाई नियन्त्रण गर्ने इतिहास यसमा बताइएको छ । बाँध बाँधेर, कुलो बनाएर पानीलाई नियन्त्रण गरेर विकास गर्ने, धनी हुने परिपाटी हामीकहाँ छ, तर यस पुस्तकमा उनले पानीलाई नियन्त्रण गर्न सकिन्न भनेर देखाएका छन् । ठुलो मनसुनजस्तो चक्रीय चक्र भएको पानीको व्यवस्था छ । मनसुनी पानीमाथि शासन गर्न सकिँदैन भन्ने तरिकाले ‘द अनरुली वाटर्स’ लेखिएको छ ।
गएको तीन सय वर्षमा औद्योगिक क्रान्ति भयो, एकदम धेरै हरितगृह ग्यासको उत्सर्जन भयो र पृथ्वीको तापक्रम बढ्यो । अहिले सरदरमा हेर्यो भने पृथ्वीको तापक्रम गएको डेढ–दुई सय वर्षमा १.५ डिग्री सेल्सियस बढेको छ । यसो हुनुभन्दा अगाडिदेखि नै धेरै तयारी थिए । मान्छेले कसरी यसलाई प्रयोग गरे, कसरी यहाँसम्म आइपुगे भन्ने कुरालाई उनले यो पुस्तकमा राम्रोसँग बताएका छन् । त्यो बेलाका शासकले के गरे ? त्यतिबेलाका मान्छे कसरी कहाँबाट कहाँ गए ? तिनीहरूले कुन कुन चिजको प्रयोग गरे ? अनि कसरी त्यसलाई बिगारे वा सपारे भन्ने सारा इतिहासलाई वातावरणसँग जोडेर जसरी अमृतले लेखेका छन्, मलाई त्यो एकदमै राम्रो लाग्यो । मैले अमृतका पुस्तक बिस्तारै बिस्तारै गरेर पढिरहेको छु । किताबभरि चिह्न लगाएको छु । म किताब पढ्दा कोरेर पढ्छु ।
- पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुहुन्छ ?
नेपालको साहित्य बजार केही विषयमा मात्रै केन्द्रित रह्यो तर अब पछिल्लो समयमा साहित्यका पाठकले फरक खालको स्वाद खोजिरहेको देखिएकाले फरक–फरक स्वादमा लेख्ने लेखक पनि आउन थालेका छन् । विषयमा विविधीकरण हुन थालेको छ । निबन्ध, कथा, कविता र उपन्यास भन्ने जुन दायरा थियो, त्यसलाई अलि फराकिलो गराएर अरु विषयलाई पनि साहित्यसँग जोडेर लेख्ने चलन सुरु भएको छ, तर त्योभित्रको समस्या के छ भन्दाखेरि धेरैले आफूलाई जे लाग्यो त्यही लेखिरहेका छन् । संसारमा के भइरहेको छ भनेर कमै लेखिएको छ । यसका लागि अलि बढी मेहनत गर्नुपर्ने हुन्छ । त्यतातिर चाहिँ हाम्रो दायरा अलि खुम्चिएको छ । यी कुरामा धेरै भित्र पस्न अझै सक्या छैनौँ हामी । हाम्रो साहित्य विविधीकरणमा अझै कमजोर नै छ जस्तो लाग्छ । साहित्यमा विविधता चाहिन्छ भन्ने महसुस हुन थालेजस्तो देखिएको छ ।
- तपाईंले अहिलेसम्म लेखेर कति गुमाउनुभयो वा कमाउनुभयो ?
लेखेर त्यस्तो धेरै त मैले केही गुमाएको छैन । मैले गुमाएको भनेको मेरो छोरीसँग बस्ने समय हो । श्रीमतीलाई पनि मैले धेरै समय दिन सकिनँ । लेख्दै गर्दा मैले परिवारसँगको समय गुमाएँ तर मैले यति धेरै पाठक कमाएको छु, म आफूलाई निकै धनी महसुस गर्छु । मैले निकै गम्भीर खालका पाठक कमाएँ । केही पाठकले कृतिलाई वा लेखलाई यति मिहिन ढंगले पढ्नुभएको छ कि त्यसमा बताइएका सबै कुरा सररर भन्न सक्नुहुन्छ । यस्ता पाठक सम्झँदा म निकै खुसी हुन्छ ।
- समकालीन नेपाली साहित्यको अवस्था कस्तो देख्नुभएको छ ?
कमजोरै छ भनेर त नभनौँ । धेरै हिसाबले अनेकौँ प्रयास भएका छन् तर पनि हाम्रो साहित्य सानो घेराभित्रै खुम्चिएर बसेको जस्तो देखिन्छ । यो घेराभन्दा बाहिर जान सक्ने धेरै क्षमता हुँदाहुँदै पनि विभिन्न कारणले यो साँघुरो बनेको छ । पहिलो कुरा त लेखकसँग पर्याप्त समयको अभाव वा स्रोत–साधनको अभावले पनि हाम्रो साहित्य खुम्चिरहेको छ । भाषाका हिसाबले नेपाली त्यति कमजोर भाषा होइन तर यही भाषा बोल्ने मान्छेसम्म साहित्यको प्रभाव अझै पुग्न सकेको छैन । तेस्रो चाहिँ नेपाललाई र नेपाली भाषालाई मात्रै सोचेर लेख्ने गर्दा ठुलो दायराको संसारमा नेपाली भाषा वा नेपाली साहित्य पुग्न सकेको छैन । त्यतातिर चाहिँ हाम्रो कन्टेन्टमै पनि समस्या छ । हाम्रा कन्टेन्ट एकोहोरो, सधैँ उस्तै–उस्तै र सामान्य हिसाबको मात्रै आइरहेका छन् । छलाङ मार्ने खालको कन्टेन्ट कमै आइरहेका छन् । यस हिसाबले नेपाली साहित्य अझै अलमलिएर बसेकोजस्तो देख्छु म ।
- यहाँको पहिलो कृति ‘छालबाटो’ले भर्खरै पद्यश्री पुरस्कार पाएको छ, पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो लाग्छ ?
किताबले पाठक पाएको थियो र त्यो मेरा लागि पहिलो पुरस्कार हो । अहिले पद्मश्री पुरस्कार पाएपछि पाठकको मायालाई यसले सम्मान गरेजस्तो लागिरहेको छ । यो पुरस्कारले मलाई अर्को कृति कसरी गर्ने होला भनेर थप सोच्न बाध्य बनाएको छ भने थप जिम्मेवारी पनि थपिदिएको महसुस भइरहेको छ । नेपाली साहित्यलाई थप बलियो बनाउन विभिन्न तरिकाले विभिन्न विषयमा लेखिनु जरुरी छ, ताकि पाठकले विविधतायुक्त वातावरणमा आफूले चाहेको कुरा पढ्न सकुन् । म मेरोतर्फबाट त्यसमा केही योगदान गर्न थप लागिपर्नेछु ।
केही पाठकले ‘यो किताब पढ्दाखेरि तपाईंसँगै म पनि त्यो ठाउँमा गएजस्तो भयो’ भन्नुभयो । ‘यो किताब पढ्दै गर्दा मलाई कहीँ बोर लागेन’ भन्ने प्रतिक्रिया पनि धेरै पाएँ । केहीले त ‘अझ अरु कुरा पनि भइदिएको भए अझै मजा आउँथ्यो’ पनि भन्नुभयो । समग्रमा ‘किताबका लागि तिरेको पैसा सम्झेर मलाई आत्मग्लानि भएन’, ‘यो किताब किनेर राम्रो गरेँछु’, ‘यस्तै किताब अरु पनि लेख्नुहोला’, ‘योभन्दा पछाडि के लेख्नुहुन्छ होला !’ भन्ने खालका प्रतिक्रिया पाएको छु । यस्ता प्रतिक्रियाले म खुसी छु ।
नेपाल वा हिमालय पर्वतको अहिलेको अवस्था के छ ? नेपालका नदीहरू कस्ता हुँदै गइरहेका छन् ? समाज कस्तो छ ? यात्रा कसरी गरिन्छ ? विज्ञानले के भन्छ ? आदि कुरा बुझ्न पनि छालबाटो एकपटक पढ्नुस् भन्छु म । यात्री भएर एउटा नदीलाई वा हाम्रो वातावरणलाई बुझ्न, हिमालय पर्वतलाई बुझ्न पनि यो किताब पढ्न जरुरी छ जस्तो मलाई लाग्छ ।
- तपाईंलाई झकझकाएको साहित्यिक कृति सम्झिनुपर्यो भने कुन–कुन कृतिलाई सम्झिनुहुन्छ र किन ?
क्याम्पस पढ्दाखेरि मलाई एकदम धेरै जागरुक गराएको किताब जर्ज अर्वेलको ‘एनिमल फार्म’ हो । यसलाई मैले धेरैपटक पढेको छु । त्यसभन्दा पछाडि पनि धेरै कृति पढियो ।
पछिल्लो समय मैले प्राकृतिक विज्ञान, मान्छे र इतिहाससँग जोडेर लेखेका किताब धेरै पढेको छु । पृथ्वीमा मान्छे बस्न थालेको कति नै भयो र ? दुई लाख वर्षअगाडि आयो होला । अब दुई करोड वर्ष बस्ला वा दुई लाख वर्ष बस्ला वा दुई २० लाख वर्ष बस्ला ! एकछिन सोचेर हेर्नु त, मान्छेभन्दा अगाडि पनि यहाँ धेरै चिज आए र गए । मान्छेको अस्तित्व सकिएपछि पनि धेरै चिज आउनेछन् र जानेछन् । अहिलेको नियम वा प्राकृतिक नियमलाई मान्ने हो भने पृथ्वीमा एउटै प्रजाति सधैँ बस्न सम्भव छैन । हामीले घर बनाउँछौँ, जहाज बनाउँछौँ, बाटो–घाटो हरेक निश्चित आयु लिएर आएका हुन्छन् । यतिबेला हामी सय वर्षको कुरा गरिरहेका छौँ, दुई सय वर्षको कुरा गरिरहेका छौँ, तीन सय वर्षको कुरा गरिरहेका छौँ ।
पृथ्वीनारायण शाहले अस्ति भर्खर नेपाल एकीकरण गरेको कुरा गरिरहेका छौँ । अमेरिकाले रुससँग झगडा गरेको कुरा गरिरहेका छौँ । अस्ति भर्खर जहाज चढेर संसार देखेको कुरा गरिरहेका छौँ वा अस्ति रकेट पठाएको कुरा गरिरहेका छौँ । जम्मै दुई–पाँच सय वर्षयता भएका कुरा हुन् । पृथ्वी त साढे चार अर्र्ब वर्ष पुरानो छ नि ! हामीलाई त यो पृथ्वीको धेरै कुरा थाहै छैन । यो कुराले मलाई एकदम धेरै सोच्न बाध्य बनाउँछ । यसबारे खोतल्न खोजेका किताब मैले बढी पढेको छु ।
ठ्याक्कै नाम दिनुपर्दाखेरि म अमेरिकी पत्रकार एलिजाबेथ कोलबर्टको ‘द सिक्स्थ एक्सटिङ्सन ः एन अननेचुरल हिस्ट्री’ को नाम लिन्छु । यसमा पृथ्वीमा मान्छेले कसरी तीन–चार सय वर्षमा यो सामूहिक सङ्कट खडा गर्यो ? कसरी अरु प्रजाति मार्दै गयो र आफ्नो वर्चस्व कायम गर्दै गयो भन्ने कथा लेखिएको छ ।
- आखिर जिन्दगी के रहेछ ?
जिन्दगी भनेको जन्म र मृत्युबिचको समय नै हो । यो समयमा तपाईंले के गर्नुहुन्छ ? के पाउनुहुन्छ ? सबै कुरा यही बिचमा पर्छ । यो एउटा त्यस्तो समय हो, जहाँ हामी जिउने प्रयास गर्छौं । बेसिकल्ली जिन्दगी यति हो । यस क्रममा कोही लर्बरिन्छन्, कोही एकदमै अगाडि बढ्छन्, कोही आत्तिन्छन्, कोही डराउँछन्, कोही केही गर्नै सक्दैनन् । कोही दौडिन्छन्, कोही हराउँछन्, सबै कुरा हुन्छ । अनुभव, अनुभूति अहिलेसम्मको भोगाइले पनि यसलाई निर्धारण गर्छ । ठ्याक्कै भन्नुपर्दा एउटा मान्छेले मान्छेले पृथ्वीमा पाएको सबभन्दा अविस्मरणीय समय हो जिन्दगी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण