पार्टी एकतामा प्रचण्ड–माधवको हतारोमा झलनाथको असन्तुष्टि
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी दलहरूसँग एकताको प्रयास गरे पनि सफल हुन सकेको छैन।
- विभिन्न समयमा भएका एकता प्रयासहरू असफल भए, जसले नेताहरूबीचको वैचारिक मतभेद र स्वार्थलाई उजागर गर्यो।
- पार्टीभित्र गुटबन्दी र अन्तर्संघर्षका कारण एकता प्रक्रिया जटिल बनेको छ, तर छलफल भने जारी छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समान विचार र राजनीतिक दर्शन बोकेका वामपन्थी दलहरूसँग एकता छिट्टै हुने दाबी गर्दै आएका छन्, तर तीन वर्ष पूरा हुन लाग्यो, उनको दाबीले साकार रूप पाएको छैन ।
२०७९ सालको आम निर्वाचनलगत्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)सँग एकता गर्ने सहमति गरे । तर निर्वाचनपछि भट्टराई एकता प्रक्रियाबाट बाहिरिए । गत वर्ष माघमा भट्टराई समूहले छुट्टै महाधिवेशन गरी पार्टी पुनर्गठन गरे ।
यही जेठ १२ गतेसम्म आइपुग्दा अर्का अध्यक्ष महिन्द्र राय यादव समूहसमेत एकता प्रक्रियाबाट बाहिरियो । सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षका सानो समूह मात्र पार्टीमा भित्र्याएर प्रचण्डले चित्त बुझाए ।

पछिल्लो समय फेरि माओवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबिच एकताको चर्चा चलेको छ । पार्टीका शीर्ष नेताहरू लगातार बैठकमा छन् । यद्यपि वैचारिक र सैद्धान्तिक विषयमै विचार–विमर्श भइराखेकाले निष्कर्षमा नपुगेको नेताहरूले बताउँदै आएका छन् । बिहीबार सम्पन्न माओवादीको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्नेबारे छलफल भइराखेको ब्रिफिङ गरे । तर परिणाममुखी छलफल भया/भएन निष्कर्ष नदिइएको सचिव गणेश साह बताउँछन् ।
‘अध्यक्षले पाँच वटा वामपन्थी पार्टीसँगको एकतालाई प्राथमिकतासाथ पहलकदमी लिइरहेको जानकारी दिनुभयो, तर कुन तहमा पुग्यो भनेर केही भन्नुभएको छ । पार्टी एकताका लागि सबैले सहयोग आवश्यक छ भन्नुभयो, त्यति हो,’ साहले भने । पार्टी एकताबारे बैठकले केही निर्णय नगरेको उनको भनाइ थियो ।
अर्का सचिव गंगानारायण श्रेष्ठ पनि समाजवादी मोर्चामा रहेका दलहरू; एकीकृत समाजवादी, नेकपा, नेसपा र प्रेमबहादुर सिंहसँग एकताको छलफल भइरहेको ब्रिफिङ गरिएको बताउँछन् । तर बाहिर आएजस्तो तत्कालै वा कुनै कार्यतालिकै बनाएर निष्कर्षमा नपुगेको उनको भनाइ छ ।
‘पाँच पार्टीबिच एकताबारे छलफल भइरहेको अध्यक्षले जानकारी गराउनुभयो । यो मितिमा एकता हुन्छ भनेर ठोस निष्कर्ष सुनाउनुभएको छैन । पार्टी एकता सजिलै हुने विषय होइन । यसका वैचारिक, सैद्धान्तिक तथा सांगठनिक विषयमा सहमति हुन अनेकौँ चरण पार गर्नुपर्छ,’ उनले भने ।
बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समिति बैठकको भावना अनुसार वामपन्थी तथा कम्युनिस्ट घटकबिच एकता र ध्रुवीकरणको विषयमा छलफल भएको बताए । सापकोटाले पनि खाका दिन सकेनन् ।
‘बैठकमा विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल भएको छ । समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महिन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरूप आन्तरिक छलफल तीव्र छ,’ उनले भने ।
साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीसँग एकताको छलफल भइरहेको जानकारी गराएको थियो । त्यसयता प्रचण्ड, माधव र विप्लवबिच बारम्बार दुई पक्ष र बहुपक्ष छलफल भइरहेको छ ।

बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले विभिन्न वामपन्थी दलहरूसँग एकता सम्बन्धमा छलफल भइराखेको भन्दै आठौँ राष्ट्रिय सम्मेलन वा एकता सम्मेलनका लागि तयार रहन बताएका थिए । तर प्रचण्डले दाबी गरेअनुसार एकता प्रक्रिया अगाडि नबढेको एकीकृत समाजवादी र नेकपाका नेताहरूले दाबी गरेका छन् ।
दुवै दलका नेताहरूले एकताको वैचारिक, सैद्धान्तिक तहमै छलफल केन्द्रित रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त, रणनीति र कार्यनीतिको सवालमा एकरूपता कायम भएको अवस्थामा मात्र एकता हुन सक्ने बताए ।
_NEQIUXGqg7.jpg)
‘समाजवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त लक्ष्य, रणनीति, कार्यनीति, कार्यनीति, कार्यदिशा जस्ता सवालहरूमा एकरूपता कायम गरेको अवस्थामा एकीकरण गर्ने कुराहरू हुन सक्छन्,’ उनले भने, ‘तर ती चिजहरू नगरीकन अहिले जुन प्रकारले यो वा अर्को मोडलमा एकता गर्ने भन्ने खालको जुन प्रचारबाजी चल्दै छ, यो प्रचारबाजी भनेको एउटा उटपट्याङ कुराबाहेक केही पनि होइन ।’
पार्टीको पछिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले नै अहिले कुनै वामपन्थी पार्टीसँग एकता हुने कुनै सम्भावना नभएको जानकारी गराएको उनको भनाइ छ । पछिल्लो समय एकताको विषयमा बाहिर जसरी प्रचार गरिएको छ, त्यसबाट आफू नै आश्चर्यमा परेको उनले बताए ।
एकीकृत समाजवादी सबै पार्टीहरूसँग कार्यगत एकता गर्न तयार भएको तर त्यसका लागि वैचारिक, राजनीतिक आधार बनाउनुपर्नेमा जोड दिए । भने, ‘अहिले पार्टी एकीकरणको वैचारिक आधार, राजनीतिक आधार, सैद्धान्तिक आधार, संगठनात्मक आधार केही नै नबनेको अवस्थामा एकीकरण गर्नु भनेको यो पार्टीलाई मृत्यु शय्यामा लगेर सुताउनु हो ।’
खनालले भदौको अन्तिम हप्ता बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकता सम्बन्धमा ठोस निर्णय हुने स्पष्ट पारे । विगतको दुर्घटनाबाट पाठ सिक्दै प्रदेशस्तरमा नेता तथा कार्यकर्ताको भावना साटासाट गर्ने काम भइरहेको नेताहरूले बताएका छन् । उपमहासचिव हरिबोल गजुरेलले सातै प्रदेशमा संयुक्त छलफल सकिएको जिकिर गरेका छन् । विचार र सिद्धान्त मिल्ने वामपन्थी दलहरूसँग एकता गर्ने पार्टीको निर्णयअनुसार नै प्रदेशमा परामर्श बैठक बसेको बताए ।
यता नेकपाले पनि भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताबारे निर्णय लिने बताएको छ । भदौ १८ गते सम्पन्न नेकपाको स्थायी समिति बैठकले माओवादी घटकसँग एकतालाई प्राथमिकतामा राखेको थियो । प्रवक्ता खड्गबहादुर विश्वकर्माले नयाँ क्रान्तिकारी धारको नेतृत्व आफैले गर्ने गरी स्थायी समिति बैठकले महासचिव विप्लवको प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । उनले एकताको विषयमा बैठकले कुनै निर्णय नगरेको जिकिर गरे ।
‘तत्कालै एकता हुन्छ जसरी माओवादीका नेताहरूबाट प्रचार गरियो, त्यस्तो केही भएको छैन । प्रचण्डसँगको पछिल्लो भेटमा पनि एकताबारे वैचारिक, सैद्धान्तिक विषयमा छलफल भएको हो । प्रचण्डजीले एकता प्रस्ताव राख्नुभएको थियो । हाम्रा महासचिवले पनि एकता गर्ने निर्णयलाई सकारात्मक रूपमा लिँदै यसबारे केन्द्रीय समितिले निर्णय गर्छ भन्नुभएको हो,’ उनले भने ।
- माओवादी र समाजवादीमा चर्किँदो अन्तर्संघर्ष
अघिल्लो निर्वाचनअघि नै पार्टी एकताका लागि समाजवादी मोर्चामा रहेका दलहरूले वार्ता टोली बनाएर छलफल तीव्र बनाएका थिए । निर्वाचनपछि २०८० साल असार ४ गते समाजवादी मोर्चा घोषणा गर्नुबाहेक एकताले मूर्तरूप लिन सकेन । एकताकै विषयलाई लिएर एकीकृत समाजवादीभित्र तीव्र असन्तुष्टि देखिएको छ । भदौ १५ गते झलनाथ र घनश्याम समूहको छुट्टै भेला नयाँ बानेश्वरमा बस्यो । उक्त भेलाले यथास्थितिमा माओवादीसँग एकता गरे ‘आत्मघाती’ हुने निष्कर्ष निकाल्यो । प्रचण्ड र नेपाल पार्टीभित्र अप्ठ्यारोमा परेकाले हतारमा एकता गर्न लागिएको निष्कर्ष निकाल्यो । यद्यपि त्यस भेला सम्बन्धमा आफूलाई केही थाहा नभएको खनालले बताए ।

‘मलाई त्यो भेलाबारेमा केही पनि थाहा छैन । म त्यसमा सुसूचित छैन । तर तपाईँले भनिरहेका कुराहरूको प्रतिक्रिया हुन सक्छ । त्यो ढङ्गले प्रतिक्रिया जन्मिएर साथीहरूले विभिन्न ढङ्गले भेला जम्मा हुन थालेको विचार विमर्श गर्न थालेका हुन सक्छन् । पार्टी नेतृत्वले विधि र प्रक्रिया छोड्यो भने कार्यकर्ताले पनि छोड्नु अनिवार्य हुन्छ,’ उनले भने ।
पार्टीभित्र अन्तर्संघर्ष चलिरहेको वेला खनाल र वरिष्ठ नेता वामदेव गौतमबिच भदौ १९ गते चार घण्टा छलफल भएको छ । खनाल निवास डल्लुमा भएको भेटमा आगामी बैठकबारे विचार विमर्श भएको उनले जिकिर गरे । केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको राजीनामा माग्ने तयारीस्वरुप गौतमको साथ खोजिएको अर्थमा बुझिएको छ । यता माओवादीका असन्तुष्ट उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र विप्लवबिच एक वर्षदेखि छुट्टै वैचारिक तथा सैद्धान्तिक बहस गर्दै आएका छन् ।
तीनै जना नेताहरू अब पुराना नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने निष्कर्षमा पुगेका छन् । बहसलाई निरन्तरता दिने उनीहरूले बताएका छन् । यद्यपि माओवादीले यसलाई गुटबन्दीको रूपमा लिएको छ । प्रचण्ड र शर्माबिच अन्तर्संघर्ष बढ्दै जाँदा पार्टीको पछिल्लो स्थायी समिति बैठकले सबै गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय गर्यो । भदौ १९ गते बसेको पदाधिकारी बैठकमा समेत यसबारे छलफल भएको प्रवक्ता सापकोटाले बताए ।

‘पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ । बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको छ,’ उनले भने ।
सापकोटाले विप्लव, शर्मा र भुसालले छुट्टै फोरम बनाएर गरिएको बहसबारे पार्टीलाई जानकारी नभएको जिकिर गरे । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि पार्टीभित्रका दोस्रो पुस्ताले कतै बहस नगरेको जिकिर गरे ।
‘जनार्दनले माओवादीसँग एकता नगरौँ पक्कै भन्नुहुन्न होला, त्यो विषयसँग जोडिएको विषय पनि होइन । घनश्यामजी जति दोस्रो पुस्ता हुन्, त्योभन्दा अलि बढी दोस्रो पुस्ता म हुँ । त्यसकारण दोस्रो पुस्ताले कहीँ बहस गरिराखेका छैनन् । व्यक्तिले कोहीसँग कतै छलफल गर्यो होला, त्यो छुट्टै कुरा हो,’ उनले भने ।
०००
- विगतमा असफल एकता प्रयास
२०७४ असोजमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकता घोषणा गरे । सोही साल मङ्सिरमा भएको संघ र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिए । त्यतिवेला वाम मोर्चाले झण्डै दुई तिहाइ मत ल्यायो । पूर्वसहमति अनुसार २०७५ साल जेठ ३ गते मदन भण्डारीको स्मृति दिवस पारेर दुई पार्टीबिच एकता भएर नेकपा गठन भयो । तर अध्यक्षद्वय केपी ओली र प्रचण्डबिच सत्ता र शक्ति सङ्घर्षका कारण तीन वर्ष नपुगी पार्टी विघटन भयो ।
२०७९ सालको आम निर्वाचनअघि प्रचण्डले नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), तत्कालीन नेपाल समाजवादी पार्टी (नेसपा) सँग एकताको प्रस्ताव राखेका थिए । सबै पार्टीले वार्ता टोली नै बनाएर दुईपक्ष र बहुपक्ष छलफल गरे । आ–आफ्ना पार्टीका वैचारिक, सैद्धान्तिक र संगठनात्मक विषय आदान–प्रदान गरे ।
_hEpIkB8RyZ.jpg)
त्यतिवेला माओवादीसँग एकता गर्ने विषयले पार्टी नै विभाजन हुने स्थिति देखिएपछि एकीकृत समाजवादीका तत्कालीन महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति नै निकालेर खण्डन गरे । यद्यपि भुसालको विज्ञप्तिको असन्तुष्टि जनाउँदै वरिष्ठ नेता मुकुन्द न्यौपानेले भदौ १ गते माओवादीसँग पार्टी एकता गर्ने केन्द्रीय समिति बैठकले निर्णय नै गरेको तथ्य बाहिर ल्याएका थिए ।
त्यतिवेला उपमहासचिव डा. गंगालाल तुलाधारले एमालेसँग मिल्न नसकिने र माओवादीसँग एकता गरेर जानुपर्छ भनेर प्रस्ताव ल्याएको न्यौपानेले दाबी गरेका थिए । एकीकृत समाजवादीले पार्टी एकताका लागि डा. भुसालको नेतृत्वमा तीन सदस्य बनाएको थियो । तुलाधर र अर्का उपमहासचिव डा. विजय पौडेल सदस्य थिए । माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सदस्य थिए ।
एकीकृत समाजवादीसँग एकता गर्ने च्याप्टर क्लोज भएपछि माओवादीले डा.बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गर्ने प्रस्ताव अगाडि सार्यो । सोही वर्ष साउन ९ गते प्रचण्ड निवास खुमलटारमा नेसपाका अध्यक्ष भट्टराईसहित दुवै पक्षका शीर्ष नेताहरू सँगको छलफलमा निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति–पत्रमा हस्ताक्षर भयो ।
त्यतिवेला माओवादीबाट प्रचण्डसहित वार्ता टोलीका सदस्यहरू थिए । नेसपाबाट भट्टराई, अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादव थिए । नेसपाले महिन्द्रको नेतृत्वमा सहअध्यक्ष श्रेष्ठ, उपाध्यक्ष सोव र महासचिव यादव रहेको वार्ता टोली बनाएको थियो ।
एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको दुवै पक्षका नेताहरूले दाबी गरेका थिए । पार्टी एकताका लागि नेसपाले ९ बुँदे आधारपत्र नै पठाए । भट्टराईले २०६४ सालदेखि जित्दै आएको निर्वाचन क्षेत्र गोरखा निर्वाचन क्षेत्र–२ प्रचण्डलाई दिए । तर निर्वाचनपछि पार्टी एकतामा बिस्तारै दरार उत्पन्न भयो । प्रचण्ड पुस १० गते प्रधानमन्त्री भएपछि एकता प्रक्रियाबाट टाढिँदै गएको भट्टराई पक्षका नेताहरूको आरोप छ । माओवादी पक्षका नेताहरूले भट्टराई नै एकता गर्न नचाएको आरोप लगाए ।
आरोप–प्रत्यारोपबिच विभिन्न चरणमा छलफल भए पनि सफल हुन सकेन । अन्ततः २०८० साल चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईलाई बाइपास गरी चारबुँदे सहमति भयो । त्यो सहमतिबाट चिढिएका भट्टराईले माओवादीसँग एकता गर्ने निर्णय खारेज गरी महाधिवेशनको मिति घोषणा गरे ।
चारबुँदे सहमतिका कारण नेसपा नै विभाजन भयो । एकता प्रक्रियाबाट भट्टराई समूह अलग भएपछि महिन्द्र समूह सहितको एकता गर्ने प्रचण्डको प्रयास पनि सफल हुन सकेन । यही जेठ १२ गते नेसपाबाट सहअध्यक्ष श्रेष्ठ समूह अलग भएर माओवादीसँग समायोजन भयो । पार्टी फेरि विभाजनपछि असारको दोस्रो हप्ता प्रचण्डलाई भेट्न खुमलटार पुगेका महिन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको नेताहरूले दाबी गरेका छन् ।
पछिल्लो आम निर्वाचनमा पहिलो ठुलो वामपन्थी दल एमालेले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर गठबन्धन सरकार बनाए । विगतको तिक्ततापूर्ण सम्बन्धबाट पाठ सिकेर फेरि नयाँ शिराबाट वामपन्थी ध्रुवीकरणको प्रयास भएको नेताहरूले विश्लेषण गरेका थिए । तर तीन महिना नपुगी गठबन्धन ढल्यो ।
२०८० फागुन २१ गते फेरि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादीको संयुक्त सरकार बनाउने आठ बुँदे सहमति भयो । दुई पार्टीबिच सहकार्य गर्दै दीर्घकालमा पार्टी एकता गर्ने गरी सत्ता गठबन्धन बनाइएको दुवै पार्टीका नेताहरूले दाबी गरेका थिए । तर यो गठबन्धन पनि चार महिना नपुगी भत्कियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण