‘एकीकरण गर्नु भनेको पार्टीलाई मृत्यु शय्यामा लगेर सुताउनु हो’
सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एसका अध्यक्षबीचको सम्बन्धले राजनीतिक निर्णयको आशंका बढाएको छ।
- एकीकृत समाजवादीका नेताहरूले पार्टीभित्र छलफल बिना एकताको प्रयास भइरहेकोमा असन्तुष्टि जनाएका छन्।
- नेता झलनाथ खनालले आगामी निर्वाचनमा नयाँ सोचका पार्टीहरू आउने सम्भावना रहेको बताए।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच नजिकिँदो दूरीले नेपाली राजनीतिमा एउटा ठुलो निर्णयको आशंका गर्न सकिन्छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले पार्टीभित्र छलफल नै नगरी एकता सहमति गर्न लागिएको हो कि भन्ने विषयले पनि राजनीति तरंगित बनेको छ ।
पार्टीभित्र अन्तरसंघर्ष चर्किँदै गएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा हालेपछि अध्यक्ष नेपाल यतिवेला निकै दबाबमा छन् । वामपन्थीबिच पार्टी एकता, धु्रवीकरण, अन्तरविरोधलगायत विषयमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
- पछिल्लो सबै राजनीतिक दलहरूमा अन्तर्संघर्ष चलिरहेको छ । यसलाई कसरी हेरिरहनुभएको छ ?
२०६२/६३ जनआन्दोलनले व्यवस्था परिवर्तन गरेको अहिले २० वर्ष भयो । संविधान जारी गरेको पनि एक दशक भयो । यो परिवर्तन, क्रान्ति हामीले किन गरेका थियौँ, यो संविधान हामीले किन निर्माण गरेका थियौँ, संविधानको औचित्य र उद्देश्य के हो भन्ने कुरा नेतृत्वले बुझेन । यो संविधानको मर्म र भावना पनि बुझेन । देशलाई सामाजिक, आर्थिक सांस्कृतिक ढंगले रुपान्तरण गर्ने, विकास निर्माण, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा जनताका चाहनाअनुरुप कदम चाल्न सकेन ।
त्यसैले अहिले यी पोलिटिकल पार्टीहरू एउटा नयाँ फेजबाट अगाडि बढ्न विवश छन् । उनीहरूभित्र पुनर्गठन र रुपान्तरणको एउटा प्रक्रिया जारी छ । जानी नजानी कतिपय पार्टीहरूमा अलि सचेत रुपले पुनर्गठन र रुपान्तरणको प्रक्रिया बढ्दै छ । यसले अलि नयाँ क्वालिटीका पार्टीहरू अब जन्माउँछन् । २०८४ को चुनावमा अलि नयाँ क्वालिटीका पार्टीहरूले आकार लिन्छन् भन्ने मलाई लाग्छ, किनभने त्यो प्रकारले अहिले अन्तरद्वन्द्वहरू विकसित भइरहेका छन् । हर पार्टीभित्र यो अन्तरद्वन्द्व विकसित भइरहेको छ । कसैले पुस्तान्तरणका कुरा गरिरहेका छन् । कसैले वैचारिक रुपान्तरणका कुरा गरिरहेका छन् । नयाँ डाइमेन्सनका पार्टीहरूको माग बढिरहेको छ । सिंगो देशले एउटा सही नेतृत्व माग गरिरहेको छ ।
_ru38mhx7yl.jpg)
नयाँ ढंगले नेतृत्वको खोजी भइराखेको छ भन्नुभयो । त्यस्तो नेतृत्व पार्टीभित्र पनि पुनर्गठन भएर आउँछ कि बाहिर आउने सम्भावना छ ? २०८४ को निर्वाचनपछि परम्परागत दलहरूको हातमा सत्ता रहला ?
२०८४ भनेको धेरै टाढा छैन । यहाँसम्म आउँदा पुराना पार्टीहरूले लक्षण देखाउन सकेनन् । बरु यिनीहरूले कु–लक्षणहरू देखाइरहेका छन् । यो कु–लक्षणको कारणले आउने संसद् पनि एकदम आश्चर्यजनक ढंगले नयाँ संसद् बन्न अलि गाह्रो छ । आउने संसद् पनि अहिलेको भन्दा अझै बढी त्यो ‘हङ पार्लियामेन्ट’ हुन सक्छ । तर विचार मिल्ने शक्तिहरू बिचमा या मोर्चाबन्दी या एउटा कार्यगत एकता गरेर अगाडि बढे भने प्रगतिशील संसद् बन्न सक्ने सम्भावना अहिले पनि छ ।
अहिलेको अवस्थामा एमाले ओरालो लागेको मृगजस्तो देखिन्छ । यो कति चाँडो दौडेर कहाँ खौलोमा फस्छ भन्न सकिँदैन । तर एमालेको यात्रा अहिले ओरालोमा छ ।
देशमा दुई खालका धार भएका शक्तिहरू छन् । पुँजीवादी र समाजवादी अथवा वामपन्थी धार । वामपन्थी धारका शक्तिहरू साझा सवालमा एकताबद्ध भएर निर्वाचनमा जान सके बलियो ‘स्ट्रेन्थ’ संसद्मा प्रतिबिम्बित हुन्छ । आफू भित्रका अन्तरविरोधहरूलाई म्यानेज गर्न सके भने उनीहरूले खेल्न सक्ने भूमिका अलि प्रबल बन्न सक्छ । त्यसरी नै वामपन्थी धारका शक्तिहरूभित्र धेरै अन्तरविरोधहरू हुनु पुँजीवादी शक्तिको लागि असाध्यै राम्रो कुरा हो, त्यसबाट उनीहरूले फाइदा उठाउन भरपुर कोसिस पनि गरिरहेका छन् । कतिपय पार्टीहरूका आन्तरिक प्रशिक्षणका कुराहरू सुन्दा यी वामपन्थीहरूलाई मिल्न दिनुहुँदैन, यो हाम्रो फाइदाको कुरा हो भनेर प्रशिक्षण गरिरहेको पनि म सुन्छु ।
त्यसैले उनीहरूले यी अन्तरविरोधबाट फाइदा उठाउन सके र वामपन्थीहरूले पनि आफू भित्रका अन्तरविरोधहरूलाई ख्यालख्याल पार्ने कामहरू गरिरहे भने अब दक्षिणपन्थीहरूको प्रभाव बढ्दै जान्छ । यदि त्यस्तो भएन भने फेरि पनि पुँजीवादी शक्ति र वामपन्थी शक्तिका बिचको टक्कर अन्य संसद्मा पनि प्रकट हुन अनिवार्य हुन्छ ।
- सत्ताको नेतृत्व गरिरहेको एमालेको नेतृत्वलाई वामपन्थीभन्दा पुँजीवादी शक्तिसँग सहकार्य गर्न सहज भएको आरोप छ नि ?
एमालेको पछिल्लो अवस्थामा नेतृत्वले लिएको बाटो त्यही हो । घोर दक्षिणपन्थी शक्तिहरूसँग अंकमाल गर्ने, उनीहरूसँग साँठगाँठ गर्ने, सत्ता साझेदारी गर्ने, उनीहरूसँगको साँठगाँठका आधारमा जे सबैभन्दा न्यूनतम गर्न सकिन्छ, त्यही मात्र गर्न उसलाई कम्फर्टेबल’ भइरहेको छ ।
उसको अहिलेको नीति, नियत, नियति– तीनवटै कुरा एउटै हो । त्यसैले अहिलेको अवस्थामा एमाले ओरालो लागेको मृगजस्तो देखिन्छ । यो कति चाँडो दौडेर कहाँ खौलोमा फस्छ भन्न सकिँदैन । तर एमालेको यात्रा अहिले ओरालोमा छ ।
- अहिले विपक्षी र संसद् बाहिर रहेका प्रचण्ड, माधव नेपाल, विप्लवलगायत नेताहरूको दौडधुप तपाईंले भनेजस्तै वैकल्पिक नयाँ क्रान्तिकारी धार निर्माण गर्नलाई हो वा गुम्न लागेको सत्तालाई भरथेक गर्न ?
पहिलो, उनीहरूले अहिले पार्टी एकताको जुन कुरा गर्दैछन्; यो ‘कुवेलाको सहनाइ’ बजाइरहेका हुन् । नेतृत्वले विचार कता छ ? नीति कता छ ? सिद्धान्त कता छ ? यो सब कुरालाई छोडेर जे कुरामा एकता गर्न खोजिरहेका छन्, त्यो सम्भव पनि छैन । दोस्रो कुरा, त्यो सामयिक पनि होइन । तर सबै वामपन्थीहरूको बिचमा यतिवेला वाम मोर्चा निर्माण गरेर कार्यगत एकताका आधारमा अगाडि बढ्ने हो मुलुकमा एउटा सकारात्मक स्थिति बन्छ ।
अहिले एकताका कुराहरू विभिन्न ठाउँमा चर्चा गरेको पाइन्छ । केही पत्रपत्रिकाहरूमा माओवादी र एकीकृत समाजवादीका नेताहरूको बिचमा पटक–पटक उठबस भएको कुरा पनि छ । तर म यही पार्टीको सम्मानित नेता भन्ने गरिन्छु, मसँग अहिलेसम्म कसैले विचार विमर्श, छलफल गरेको छैन ।
नेपाली क्रान्ति अहिले जुन चरणबाट अगाडि बढिरहेको छ, यहाँ समाजवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त लक्ष्य, रणनीति, कार्यनीति, कार्यनीति, कार्यदिशाजस्ता सवालहरूमा एकरुपता कायम गरेको अवस्थामा एकीकरण हुन सक्छन् । तर ती चिजहरू नगरी अहिले जुन प्रकारले यो वा अर्को मोडलमा एकता गर्ने भन्ने खालको प्रचारबाजी चल्दैछ, यो भनेको एउटा उटपट्याङबाहेक केही पनि होइन । यसले नेताहरूमा टुप्पिँदै गएको क्षमताबाहेक अरु केही पनि देखाउँदैन ।
- मंगलबार आलोकनगरमा प्रचण्ड र माधबबिच भएको छलफलमा दुवै पार्टीभित्र अन्तरसंघर्ष भएकाले पहिले एकता गरौँ बाँकी कुरा मिलाउँदै जाउँ भन्ने खालका चर्चा भएको कुरा बाहिरिएको छ, यसबारे जानकारी छ कि छैन ?
खै, अहिले एकताका कुराहरू विभिन्न ठाउँमा चर्चा गरेको पाइन्छ । केही पत्रपत्रिकाहरूमा माओवादी र एकीकृत समाजवादीका नेताहरूको बिचमा पटक–पटक उठबस भएको कुरा पनि छ । तर म यही पार्टीको सम्मानित नेता भन्ने गरिन्छु, मसँग अहिलेसम्म कसैले विचार विमर्श, छलफल गरेको छैन । न पार्टी कमिटीका कुनै बैठकहरूमा यी विषयहरूमाथि छलफल गरिएको छ । केही दिन अगाडि सचिवालयको बैठकमा सामान्य छलफल भएको थियो । त्यसमा अहिले पार्टी एकता कसैसँग पनि हुँदैन, तर कार्यगत एकता गर्ने कुराहरूलाई अगाडि बढाउनुपर्छ भनेर माधव नेपालले नै बैठकमा प्रस्तुत गर्नुभएको मलाई थाहा छ । अहिले फेरि उहाँहरू एकआपसमा बसेर गन्थन गरिरहेको, एकताको कुरा पनि गरिरहेको कुरा हो भने यो मेरो निम्ति एउटा आश्चर्यको कुरा हो ।
_Oio1YkMkgl.jpg)
यो पार्टीको नियमभन्दा पनि विपरीत कुरा हो । पार्टीको अनुशासनभन्दा पनि विपरीतको कुरा हो । यस्तो सुन्दा असाध्यै दुःखित पनि हुन्छु । नेपाली जनताप्रति यी नेताहरूले किन यतिविधि हेलाचक्राइँ गर्छन् ?
- पार्टीको २५ गते बस्ने बैठकमा अध्यक्षले एकताको प्रस्ताव पेस गर्नुभयो भने समर्थन गर्नुहुन्छ कि विरोध ?
एकदमै सोझो र स्पष्ट कुरा, यतिवेला नेकपा एकीकृत समाजवादीका आम कार्यकर्ताहरू कुनै पनि पार्टीसँग अहिले एकताको पक्षमा छैनन् । पार्टी एकीकरणको पक्षमा छैनन् । कसैले प्रस्ताव ल्याउँछ भने त्यसलाई दुःखका साथ दुत्कार्नबाहेक कार्यकर्तासामु अर्को कुनै विकल्प हुँदैन । त्यसकारण नेकपा एकीकृत समाजवादी सबै पार्टीहरूसँग कार्यगत एकता गर्न तयार छ । तर अहिले पार्टी एकीकरणको वैचारिक आधार, राजनीतिक आधार, सैद्धान्तिक आधार, संगठनात्मक आधार केही नै नबनेको अवस्थामा एकीकरण गर्नु भनेको यो पार्टीलाई मृत्यु शय्यामा लगेर सुताउनु हो ।
कसैले पार्टीलाई लगेर कतै बेताल गर्न खोज्या छ भने बेग्लै कुरा हो, नत्र पार्टीको विधि विधानअनुरुप यस्ता कुराहरू सबैभन्दा पहिला पार्टीको नेतृत्वदायी कमिटीभित्र छलफल हुनुपर्छ, अहिलेसम्म छलफलै भएको छैन । त्यसैले यो पार्टीभित्र एकीकरणको प्रश्नै छैन ।
- दुई पार्टीका सबै प्रदेशमा नेता तथा कार्यकर्ताहरूको एकअर्काको मनोभावना बुझ्ने काम भइराखेको छ । तपाईंले विचार, सिद्धान्त, कार्यदिशाबारे कुनै समितिमा पनि कुरा गरेको छैन भन्नुहुन्छ, कसको कुरा पत्याउने ?
खै, पार्टीको एउटा सेक्सन वा समूह वा गुटका मान्छेहरूले कुराकानी गरिरहेको भएदेखि मलाई थाहा छैन । तर कमिटीगत रुपले पार्टीसँग कि सचिवालय कि स्थायी समिति कि पोलिटब्युरो कि केन्द्रीय कमिटी कि तलका विविध कमिटीहरू छन् । यी कमिटीहरूमा कमिटीगत रुपले अहिलेसम्म कतै छलफल भएको छैन । त्यो छलफल भएको भए पहिलो कुरा सचिवालयदेखि नै हुने हो भने म त्यहाँ छु । यी सबै कमिटीमा छु । मलाई थाहा हुनुपर्ने हो । मलाई नै थाहा छैन भनेपछि यो औपचारिक पद्धति र प्रक्रियाभन्दा बाहिर कसैले चलाइरहेको कुरा हो कि भन्ने मलाई शंका लाग्छ ।
यो पार्टीभित्रको घनघोर गुटबन्दीको कुरा हो । यस्ता कुराहरू म सुन्न पनि चाहन्नँ । यसरी कसैले पार्टीलाई लगेर कतै बेताल गर्न खोज्या छ भने बेग्लै कुरा हो, नत्र पार्टीको विधि विधानअनुरुप यस्ता कुराहरू सबैभन्दा पहिला पार्टीको नेतृत्वदायी कमिटीभित्र छलफल हुनुपर्छ, अहिलेसम्म छलफलै भएको छैन । त्यसैले यो पार्टीभित्र एकीकरणको प्रश्नै छैन । आम कार्यकर्ता यस्तो कुराको पछाडि लाग्दैनन् ।
- केही दिन अगाडि नयाँबानेश्वरमा तपाईँ र महासचिव घनश्याम भुसाल समूहको हवाला दिएर भेला राख्नुको पछाडि नेतृत्वलाई दबाबमा राख्न हो ?
मलाई त्यो भेलाको बारेमा केही पनि थाहा छैन, म त्यसमा सुसूचित छैन । तर तपाईँले भनिरहेका कुराहरूको प्रतिक्रिया हुन सक्छ । त्यो ढंगले प्रतिक्रिया जन्मिएर साथीहरूले विभिन्न ढंगले भेला जम्मा हुन थालेको विचार विमर्श गर्न थालेका हुन सक्छन् । पार्टी नेतृत्वले विधि र प्रक्रिया छोड्यो भने कार्यकर्ताले पनि छोड्नु अनिवार्य हुन्छ । कुनै पनि पार्टी कसरी विधि र विधानका आधारमा सही वैचारिक राजनीतिक कार्यदिशा नीति र सिद्धान्तको आधारमा ठीक ढंगले चल्छ । तर नेतृत्वले नै त्यसलाई तलमाथि पार्न थाल्यो भने त्यो पार्टी भित्र जे पनि हुन सक्छन् । त्यस्तै कुरा होला, त्यो भेला ।
- प्रचण्ड र माधव पार्टी एकता गरिहाल्न हतारिनुको भित्री स्वार्थ के होला ?
मलाई लाग्छ उहाँहरू दुवै कुनै न कुनै प्रकारको संकटमा हुनुहोला । र, त्यो संकट समाधान गर्नको लागि अब एकलाई अर्काको मद्दत चाहिएको हुन सक्छ । वा एकअर्काको छहारी लिँदा आफ्ना संकटहरू समाधान गर्न वा त्यसलाई कम गर्न सकिन्छ कि भन्ने उहाँहरूको सोचाइ हुन सक्छ । तर उहाँहरूको लाइनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा ठुलो भूमिका खेल्ने म देख्दिनँ ।
- वरिष्ठ नेता वामदेव गौतम र तपाईंबिच बिहीबार चार घण्टा छलफल भयो, यसअघि पनि उहाँसँग लामै छलफल भएको थियो । खास के थियो ?
उहाँ अहिले मोर्चाबन्दी आदिमा हुनुहुन्न, म पनि उहाँसँग मोर्चाबन्दीमा छैन । उहाँ कम्युनिस्ट आन्दोलनमा लामो अवधि भूमिका खेलेर आएको पाको मान्छे हो । पार्टीको बैठक बस्दै छ । बाहिर अनेक हल्ला चलिरहेको छ । यी कुराहरूमा अब कसरी जाने ? के कसो हो ? भन्नेबारेमा सामान्य विचार विमर्श गर्ने हिसाबले आउनुभएको थियो । एकछिन बस्नुभयो, छलफल गर्नुभयो, जानुभयो । त्यस्तो नयाँ र विशेष कुरा केही पनि भएको छैन ।

- अध्यक्षमाथि गम्भीर प्रकृतिको भ्रष्टाचार मुद्दा लागेको छ । पार्टीभित्र र बाहिर पनि नैतिकताको प्रश्न पनि उठिरहेको छ । तपाईँहरूले पार्टीको आगामी बैठकमा अध्यक्षको राजीनामासम्बन्धी प्रस्ताव लैजान खोज्नुभएको हो ?
मैले योभन्दा निकै अगाडि नै सचिवालयको बैठकमा एउटा लिखित प्रस्ताव पेस गरेको छु । मैले त्यसबारे अहिलेसम्म बाहिर केही भनेको छैन । अब केन्द्रीय कमिटीकै बैठक आइरहेको छ । हाम्रो सर्वोच्च संस्था केन्द्रीय कमिटी हो । केन्द्रीय कमिटीको बैठकमा यो विषयमा मेरो लिखत दस्तावेज मैले राख्छु नै । त्यो ठाउँमा छलफल चल्छ ।
- राजीनामा माग्नेगरी नै तपाईँहरूले तयारी गरिरहेको भन्ने मैले सुनेको छु नि ?
लिखित प्रस्ताव सचिवालयमा नै राखेँ । त्यो प्रस्ताव अब केन्द्रीय कमिटीमा नै राख्छु । त्यसमा व्यापक छलफल गरिन्छ । त्यो छलफलबाट अब के निष्कर्ष हुन्छ, त्यो आधारमा अगाडि बढ्ने हो । मलाई लागेको विचार राख्छु त्यहाँ । मैले सबै तपाईँलाई अहिले खोल्दिनँ ।
राजनीति र नैतिकता भनेको यस्तो अन्योन्याश्रित चिज हो, एउटालाई तपाईँले अर्काका विरुद्ध उभ्याउनुभयो अथवा दुईमध्ये एउटा चिज तपाईँले माइनस गर्दिनुभयो भने त्यो राजनीति राजनीति हुँदैन । त्यो नैतिकता नैतिकता हुँदैन ।
- राजीनामा माग्नुहुन्छ हुन्छ हैन ?
खोल्ने वेला भइसकेको छैन । अब त्यसको कन्टेन्ट के छ ? त्यो कन्टेन्ट मैले पहिलो पटक कुनै न कुनै त्यो नेतृत्वदायी कमिटीमा राख्छु । त्यसपछि बल्ल तपाईँलाई भन्छु ।
- नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने तपाईँको माग हो नि ?
राजनीतिज्ञहरूले नैतिकतालाई बिर्सनै हुँदैन । राजनीति र नैतिकता भनेको यस्तो अन्योन्याश्रित चिज हो, एउटालाई तपाईँले अर्काका विरुद्ध उभ्याउनुभयो अथवा दुईमध्ये एउटा चिज तपाईँले माइनस गर्दिनुभयो भने त्यो राजनीति राजनीति हुँदैन । त्यो नैतिकता नैतिकता हुँदैन ।
- तपाईं एउटा पाको राजनीतिज्ञ र बौद्धिक पनि हुनुहुन्छ । वामपन्थी आन्दोलनमा लामो अनुभव पनि छ । कम्युनिस्ट नेताहरूमा विचलन र नैतिक पतन किन बढ्दै गएको छ ?
यसको कारण नेपाली क्रान्ति अहिले जुन चरणमा पुगेको छ, त्यो चरण अनुरुपको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यमा दृढतापूर्वक उभिन नसक्नु र एक वा अर्का बुर्जुवा विचारहरूबाट प्रभावित हुनु र त्यो बुर्जुवा विचारबाट प्रभावित हुँदै एक वा अर्का स्वार्थमा लिप्त भएर अगाडि बढ्न थाल्दाखेरि यी सारा विकृति विसंगतिहरू जन्माएको छ । नेताहरूमा पनि त्यत्तिकै विकृतिहरू जन्माएको छ । कार्यकर्ताहरूलाई पनि त्यसले त्यत्तिकै प्रभावित पारेको छ । अहिले कम्युनिस्ट आन्दोलनलाई नै दक्षिणपन्थी भड्काउतर्फ लान्ने कुरा नै मुख्य कुरा यही हो । त्यसैले वैचारिक क्रान्तिकारी दिशा नै सबै कुराको मियो हो, निर्णायक कुरा हो र दुरगामी कुरा हो । त्यो चिजलाई सच्याइयो भने अरु सबै कुरा अर्डरमा आउँछन्, त्यो कुरालाई नसच्याएसम्म विकार र विकृतिहरू कुनै न कुनै रूपमा जाँगिरहन्छन् ।
- पार्टी एकताको घोषणा भइहाल्यो भने पार्टी पुनर्गठन गर्नुहुन्छ ?
हामी बैठकसम्म गइसकिएको छैनौँ । बैठकमा गइसकेपछि मात्रै के हुन्छ भन्ने कुरा भन्न सक्छौँ ।
_AjrgzpEdTj.jpg)
- तपाईंकै पार्टीका केही नेताहरूले यदि एकता घोषणा गरे केही गुट अथवा केही नेताले माओवादी प्रवेश गरेको मात्रै हुनेछन् भनेका छन् । यति त्यस्तो भएमा पार्टी पुनर्गठन हुने बताइरहेका छन् नि ?
हामीले चार वर्ष अगाडि जुन उद्देश्यले विद्रोह गरेका थियौँ, त्यो विद्रोहको औचित्य राम्रोसँग पुष्टि भइसकेको छैन भनेर मैले योभन्दा अगाडि पनि सार्वजनिक रूपमा बोलेको छु । म अहिले पनि के भन्छु भने त्यो पुष्टि गर्न अझै बाँकी छ । त्यसैले यस्तो अवस्थामा हामीले यो पार्टीलाई अर्को कुनै पार्टीसँग लगेर एकीकरण गर्यौँ भने त्यो पुष्टि नहुने मात्रै होइन कि, हाम्रो चार वर्षको प्रयत्न नै समाप्त हुन्छ । त्यसैले यतिवेला यो पार्टीलाई बचाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूको पहिलो प्राथमिकता बनेको छ । पार्टीको साखलाई बचाउनु र विद्रोह गर्दाखेरिको त्यो वास्तविक उद्देश्य जुन हो, त्यो उद्देश्यको मर्म र भावनाअनुरुप यो पार्टीलाई सही कार्यदिशा, नीति र सिद्धान्तको दिशामा, लक्ष्यको दिशामा दृढतापूर्वक अगाडि बढाउनु अहिले नेकपा एकीकृत समाजवादीका सम्पूर्ण नेता र कार्यकर्ताहरूको साझा दायित्व बनेको छ ।
- अहिले वामपन्थी एकता ध्रुवीकरण एमाले सहितको खोजी हो कि बाहेकका शक्तिसँग हो ?
हामी गुट खडा गर्ने पक्षमा छैनौँ । आम रूपमा सबै वामपन्थीहरूको बिचमा कार्यगत एकता निर्माण गर्ने वातावरण बनाऔँ । जो जोसँग वैचारिक, राजनीतिक, कार्यदिशा, नीति, सिद्धान्त मिल्छ, उनीहरूसँग एकीकरण पनि गरौँ । तर पहिलो कुरा २०८४ को चुनावलाई पनि ध्यानमा त राख्नै पर्छ, त्यसलाई पनि ध्यानमा राख्दै सबै वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने, उनीहरूलाई अटाउन सक्ने वाम मोर्चा निर्माण गरेर अगाडि बढ्नुपर्छ । त्यसो गर्नको लागि प्रत्येक पार्टीले पहिला आफ्नो पार्टीलाई सही कार्यदिशामा, नीति, सिद्धान्तमा उभ्याउनुपर्छ । हामीले गर्नुपर्ने जुन कसरत हो, त्यो कसरतलाई अधिकतम रूपमा अगाडि बढाउन बाँकी नै छ, हामी त्यो काम गर्न चाहन्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण