‘समाजवादी मोर्चा नै एकता गर्ने गरी सकारात्मक छलफल भइरहेको छ’
सारांश
- माओवादी केन्द्र लगायतका वामपन्थी दलहरूबीच एकता प्रयास जारी छ, तर ठोस प्रगति हुन सकेको छैन।
- पार्टीका नेताहरूले एकताका लागि छलफल भइरहेको बताएका छन्, तर मोडालिटीबारे स्पष्ट खाका प्रस्तुत गरिएको छैन।
- विभिन्न वामपन्थी दलहरूसँगको छलफल सकारात्मक रूपमा अघि बढेको छ, तर पार्टी एकता कहिलेसम्म हुन्छ भन्ने समयसीमा तोकिएको छैन।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेपाल समाजवादी पार्टीलगायत वामपन्थी पार्टीबिच करिब तीन वर्षदेखि एकता हुने भने पनि त्यो प्रयास अझै सफल हुन सकेको छैन । तर माओवादीका नेताहरू भने एकतासम्बन्धी छलफलको रटान लगाइरहेका छन् ।
भदौ १९ गते बसेको पार्टीको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न वामपन्थी पार्टीबिच एकताका लागि प्राथमिकतासाथ पहल भइरहेको बताएका थिए । तर एकता प्रक्रिया कुन तहमा पुगेको छ भन्ने विषयमा स्पष्ट खाका प्रस्तुत गरेनन् । यसबारे आगामी केन्द्रीय समितिले एकताको मोडालिटी तयार पार्ने नेताहरूले विश्वास लिएका छन् ।
यसै विषयमा माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटासँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।
- स्थायी कमिटीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने भन्ने निर्णय गरेको थियो । के हुँदै छ ?
पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी लगायत वामपन्थी दलहरूसँगको छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ । विप्लव नेतृत्वको नेकपासँग धेरै महत्त्वपूर्ण रूपले छलफल भइरहेको छ । अध्यक्ष र नेकपाका नेताहरूबिच वान–टु–वान कुराकानी भएको छ । उहाँहरूको नेतृत्वको टिमसित पनि कुराकानी भएको छ, अरूसित पनि कुराकानी भएको छ । उहाँहरूले आगामी केन्द्रीय समितिको बैठकमा यस सम्बन्धमा छलफल गरी निर्णय गर्छौँ भन्नुभएको छ, सकारात्मक ढङ्गले अगाडि बढेको छ ।
- तपाईँले टाइम फ्रेम नै राखेर छलफल अगाडि बढाउनुभएको छ ? जसमा सैद्धान्तिक कुरा आउँछ, त्यसपछि संगठन सिद्धान्तको कुरा आउँला । यो सबै तहमा छलफल गरेर निष्कर्षमा पुग्नुभएको छ कि छैन ?
अहिले वैचारिक, सैद्धान्तिक, राजनीति र नीतिगत कुराहरू भएको छ । संगठनका कुरामा प्रवेश गरेको छैन । अहिले सैद्धान्तिक, राजनीतिक र कार्यदिशामा छलफल अगाडि बढिरहेको छ ।

२०७४ सालमा एमाले र माओवादीबिच भएको एकताजसरी कुनै सर्प्राइज दिनेगरी छलफल भइरहेको हो ?
सरप्राइजको कुरा होइन, भव्य र व्यवस्थित ढङ्गले; विगतका अनुभवलाई ध्यानमा राखेर पारदर्शी रूपमा नै छलफल गरेर एउटा निष्कर्षमा पुर्याउँछौँ ।
- एकीकृत समाजवादीसँग एकताबारे छलफल भइरहेको छ भन्नुभएको थियो । एकताका लागि अध्यक्ष माधव नेपाल पनि सकारात्मक भइरहेको वेला आइतबार झलनाथ खनाल र घनश्याम भुसाल समूहले छुट्टै भेला गरेर माओवादीसँगको एकता आत्मघाती हुने निष्कर्ष निकालेका छन् नि ?
त्यो उहाँहरूको व्यक्ति विशेषको कुरा भयो । पार्टीको आधिकारिक धारणा होइनजस्तो लाग्छ । तर पनि आन्तरिक विषयमा उहाँहरूले आन्तरिक रूपमा नै छलफल गर्नुहुन्छ होला । हामीले पार्टी नेतृत्व सहितको आधिकारिक छलफललाई प्राथमिकता र महत्त्व दिन्छौँ । सोहीअनुसार कुरा भइराखेको छ ।
पार्टीको नाम, संगठनात्मक विषयमा छलफल हुनै बाँकी छ । फेरि विचार, राजनीति, नीतिमा सहमति भइसकेपछि ती कुरा मिलिहाल्छ ।
- त्यसोभए पार्टी एकता कुन तहमा पुगेको छ ?
छलफलकै क्रममा छ । तह निर्धारण गरिसकेको छैन । तर हाम्रो जोड समाजवादी मोर्चा पूरैलाई पार्टी एकतामा रूपान्तरण गर्न पनि छलफल भइरहेको छ ।
- पार्टीको नाम, विचार, सिद्धान्त र संगठनात्मक विषयमा एकीकृत समाजवादी सहमत देखिँदैन, यस्तो अवस्थामा एकता सम्भव छ ?
पार्टीको नाम, संगठनात्मक विषयमा छलफल हुनै बाँकी छ । फेरि विचार, राजनीति, नीतिमा सहमति भइसकेपछि ती कुरा मिलिहाल्छ ।
- नेकपाका नेताहरूले यदि पार्टी एकता गर्ने नै हो भने नयाँ विचार, सिद्धान्तबाट गर्नुपर्छ भनिरहेका छन् । कम्युनिस्टहरूको ध्रुवीकरण र नेतृत्व आफैँले गर्नुपर्छ भन्नुभएको छ । त्यस्तो अवस्थामा कसरी छलफल सकारात्मक हुन सक्छ ?
उहाँले आफ्नो पार्टीमा प्रस्ताव पेस गर्दा त्यो भन्नुभएको होला । तर छलफल गर्दा नयाँतिर जानुपर्छ । विज्ञान, प्रविधि, हरेक हिसाबले तीव्र गतिमा परिवर्तन भइरहेको छ । त्यसैले परिवर्तनको प्रवाहसँगै अगाडि जानुपर्छ । नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ संगठन, नयाँ शैली, नयाँ जनवादी केन्द्रीयता, यो सबैमा नयाँ तिर जाने हो । उहाँहरूले जे भनेको छ, त्यो ठिक छ ।
- पार्टी एकता कहिलेसम्म हुन्छ ? कुनै समय सीमा तोक्नुभएको छ ?
अहिले हामी वैचारिक, सैद्धान्तिक र नीतिगत कुरामै घनीभूत छलफल गरिरहेका छौँ । अन्य घटकसँग पनि छलफल भइराखेको छ । हाम्रो प्राथमिकता माओवादी घटकसँग नै एकता गर्ने हो । समाजवादी मोर्चामा भएका दलहरूसँग लामै अभ्यास गरेका छौँ । ठुल्ठुला कार्यक्रम पनि सँगै गरिराखेका छौँ । राजनीतिक भनेको कहिले सबै कुरा मिलेर चाँडै हुन्छ, कहिले समय लाग्छ । तर विचार, राजनीतिक कार्यदिशाले सबै कुराको फैसला गर्छ । विचार र राजनीति सही भयो भने सबै कुरा प्राप्त हुन्छ, गलत भयो भने सबै कुरा गुम्छन् । त्यसैले विचार र राजनीति टुंगिएपछि सबै कुरा सजिलै टुंगिन्छ ।
हाम्रो स्थायी समितिको बैठकले सर्वसम्मत पार्टी एकताको निर्णय गरेको हो । यहाँभन्दा बढी छलफल के हुन्छ ?
- माओवादी र एकीकृत समाजवादीभित्र ठुलो मात्रामा अन्तर्विरोध बढिरहेको छ । यस्तो अवस्थामा नेताहरूको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
छलफलकै क्रममा त्यो प्रश्न उठेका छन् भने पहिला उहाँहरूको बिचमा पहिला छलफल हुन्छ । आवश्यक पर्यो भने उहाँहरू र हामी बसेर छलफल हुन्छ । अहिले ठोस स्थितिको ठोस विश्लेषण गरेर वैचारिक र सैद्धान्तिक कुरा मिल्नुपर्छ । उहाँहरूको आन्तरिक समस्या आफैले सुल्झाउँछन् होला । सर्वसम्मतिमै एउटा ठोस निष्कर्षमा पुगिन्छ होला । एकताका विषयमा पहिला त दुवै पार्टीका लिडरसिप बसेर छलफल गर्छन् । मलाई लाग्छ, त्यहाँभित्र केही छलफल होला बाँकी होला । मलाई विश्वास छ, एकता प्रक्रिया निष्कर्षमा पुग्छ ।
- नेकपाका नेताहरूले माओवादीभित्रै अन्तर्संघर्ष चर्किएको छ । यस्तो अवस्थामा पार्टी एकता सम्भव छैन भनिरहनुभएको छ । अन्तर्विरोध कसरी हल गर्नुहुन्छ ?
हाम्रो स्थायी समितिको बैठकले सर्वसम्मत पार्टी एकताको निर्णय गरेको हो । यहाँभन्दा बढी छलफल के हुन्छ ? बैठकले यावत रूपमा छलफल गरेर नै निष्कर्ष निकालिएको हो । यसमा कुनै द्विविधा छैन ।
- पछिल्लो समय जनार्दन शर्मा, विप्लव र घनश्याम भुसालले लगातार भिन्नै फोरम बनाएर पार्टी पुनर्गठनको बहस गरिराख्नुभएको छ नि ?
त्यो उहाँहरू व्यक्ति विशेषको कार्यक्रम हो । त्यसमा धेरै टिप्पणी गर्न म वाञ्छनीय ठान्दिनँ ।
- बिहीबार बसेको पदाधिकारी बैठकले एकताको खाका तयार गरेन नि ?
स्थायी समितिले गरेका निर्णयअनुसार नै बैठकमा विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल भएको छ । समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महिन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरुप आन्तरिक छलफल तीव्र छ । मलाई लाग्छ, अर्को बैठकले एकतासम्बन्धी प्राथमिकताका साथ छलफल हुन्छ ।
- ‘केही दिनमै समाजवादी मोर्चामा रहका दलहरूबिच छिट्टै एकता हुँदै छ’ मैले यो भन्दा गलत हुन्छु कि सही ?
सकारात्मक दिशातिर अगाडि बढेको छभन्दा सही हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण