दुई दशकदेखि वायु ऊर्जा आयोजना अलपत्र
सारांश
- पर्वतको फलाम खानीमा हावाबाट बिजुली निकाल्ने योजना मर्मत नहुँदा दुई दशकदेखि बन्द छ।
- स्थानीयले उक्त वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न माग गरेका छन्, जसबाट ३०० घरधुरी लाभान्वित हुनेछन्।
- गाउँपालिकाले आयोजनाको विस्तृत अध्ययन गरी पुनः सञ्चालनको योजना बनाउने तयारी गरेको छ।
पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलाम खानीमा करोडौँ रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मत सम्भारको अभावमा अलपत्र बनेको हो ।
दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय समयमा मर्मत सम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।
लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र विसं २०६३ मा तीन वर्षपछि नै बन्द भएको थियो ।
‘टिटिबिजी’ नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।
फलाम खानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलाम खानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलाम खानी, भँगरा लगायत सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए ।
त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए ।
उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ ।
उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब ३०० घरधुरी र छिमेकी वडा भँगरा तथा पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।
गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालन कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताइन् । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण