जेनजीको प्रदर्शनमा ‘घुसपैठ’ हुन सक्ने विश्लेषण, सुरक्षा रणनीति अपनाइयो
सारांश
- भ्रष्टाचारविरुद्धको प्रदर्शनबारे सुरक्षा समितिमा छलफल भयो, जसमा सुरक्षा रणनीति तय गरियो।
- प्रदर्शनमा घुसपैठको आकलन गर्दै एकीकृत सुरक्षा योजना लागू गरियो, र दुर्गा प्रसाईंले ऐक्यबद्धता जनाए।
- 'नेपो बेवी' ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमणको आंशका गर्दै सुरक्षा व्यवस्था कडा पारियो।
काठमाडौं । भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा हुने प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल भएको छ ।
आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो । बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले रातोपाटीलाई बताए ।
सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा हुन लागेको प्रदर्शनमा युवाहरूको स्वतन्त्र सहभागिता हुने बताइएको छ । स्थानीय प्रशासनले पनि उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिइसकेको छ ।
प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए । उनले भने, ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौं ।’
प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण भने पनि घुसपैठको आकलन गरेर जिल्ला सुरक्षा समितिले ‘एकीकृत सुरक्षा योजना’ लागु गरेको छ । प्रदर्शनमा चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि ऐक्यबद्धता जनाएका छन् । प्रसाईंले सामाजिक सञ्जालमा ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भनेर स्ट्याटस लेखेका छन् ।
विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् । घुसपैठ हुनसक्ने आकलन गर्दै डीआईजी ओम रानाले भने, ‘त्यसबारे आयोजकहरू पनि सजग हुनुहुन्छ होला ।’
प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भए कारबाही गर्ने प्रहरीको तयारी छ । डीआईजी राना भन्छन्, ‘कानुनविपरीत क्रियाकलाप हुन दिँदैनौँ, हामीले त्यहीअनुसार जनशक्ति परिचालन गरेका छौँ ।’
उच्छृङ्खल क्रियाकलाप गर्नेहरूबारे सूचना संकलन गर्न सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार गरेको एकीकृत सुरक्षा योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचाल गरिने छ ।
'नेपो बेवी' ट्रेन्डले आशंका
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् ।
नेपो बेवी ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमण वा घरमा तोडफोड गर्नसक्ने आकलन गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदर्शनमा नेतृत्व नभएकाले भिड अराजक भएर अवाञ्छित क्रियाकलाप हुन सक्ने हाम्रो आकलन छ ।’
र यसलाई रोक्न माइतीघरबाहेक अन्य चुनौतीपूर्ण ठाउँमा पनि सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । प्रदर्शन आयोजकहरूले ‘हामी कानुन बुझ्छौँ त्यसको पालना गर्छौँ’ भनेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश नगर्नेगरी उक्त प्रदर्शन आयोजना गर्न अनुमति दिइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण