बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशीमा जेन जी आन्दोलन

दुई जनाको मृत्यु, ठाउँ ठाउँमा प्रदर्शन, दिनभर कहाँ के भयो ?

सोमबार, २३ भदौ २०८२, २० : १४
सोमबार, २३ भदौ २०८२

सारांश

  • कोशी प्रदेशमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा इटहरीमा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भयो, दर्जनौं घाइते भए र उपमहानगरपालिकामा आगजनी भयो।
  • प्रदर्शन विराटनगर, दमक, बिर्तामोड, धनकुटा, दिक्तेल, फिदिम र केराबारी लगायतका विभिन्न स्थानमा समेत भएको थियो, जसमा तोडफोड र आगजनीका घटनाहरू भए।
  • विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ, भने प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल खोल्न र भ्रष्टाचार नियन्त्रण गर्न माग गरेका छन्।

विराटनगर । जेनजी पुस्ताको प्रदर्शनले सोमबार दिनभर कोशी प्रदेशका साना तथा ठुला सहरहरू अस्तव्यस्त बने । सुनसरीस्थित इटहरीमा सबैभन्दा ठुलो मानवीय क्षति भयो । जहाँ सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 

सुनसरीको इटहरीमा सोमबार बिहान ११ बजेदेखि सुरु भएको जेनजी पुस्ताको विरोध प्रदर्शन दिउँसो इटहरी उपमहानगरपालिकाको गेटमा पुगेपछि हिंसात्मक मोडमा पुगेको थियो । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले अत्यधिक बल प्रयोग गर्दै अश्रुग्यास र दर्जनौं राउन्ड गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुई जना युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक दुवैको पहिचान खुल्न सकेको छैन, तर उनीहरूलाई गर्दन र टाउकोमा गोली लागेको चिकित्सकहरूले जनाएका छन् । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए । 

घटनालगत्तै आक्रोशित जेनजी समूहका युवाहरूले इटहरी उपमहानगरपालिकाभित्र प्रवेश गरी व्यापक आगजनी गरेका छन् । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित उपमहानगरपालिकाका महत्वपूर्ण कागजात तथा भौतिक संरचनामा आगजनी भएको सुनसरीका प्रहरी प्रमुख सुमन तिमल्सिनाले जानकारी दिए । उनले हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि गर्दै अवस्था तनावग्रस्त रहेको बताएका छन् । 

biratnagar-genz_aahO5I6fFs

स्थितिलाई थप बिग्रन नदिन र नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको चार स्थानमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेश अनुसार इटहरीको उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वतर्फ मिलन चोकदेखि जुट विकासभित्र, दक्षिण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रभित्र र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्तीभित्र कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्णतः निषेध गरिएको छ । यो कर्फ्यू आदेशले इटहरीको जनजीवनलाई पूर्ण रूपमा प्रभावित पारेको छ । 

प्रहरीको गोली लागेर सात जना घाइते भएका छन् । घाइते हुनेमध्ये चार जनाको विराट टिचिङ अस्पतालमा, दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र एक जनाको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा सुनसरीको रामधुनीका १७ वर्षीय आशिष चौधरी, बुढीगंगा ७ का १९ वर्षीय सान्तुनु ढकाल, इटहरी ४ का १६ वर्षीय अनमोल पन्त, इटहरी १० की सम्झना विकलगायत रहेका छन् । घाइतेमध्ये ढकालको टाउकोमा गम्भीर चोट लागेको र उनको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । 

इटहरीमा मात्र होइन, कोशी प्रदेशका अन्य सहरहरूमा पनि जेनजी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रदेशको राजधानी विराटनगरमा पनि जेनजी पुस्ताका प्रदर्शनकारीले निषेधाज्ञा तोडेर प्रदर्शन गरे । दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा भवन अगाडिसम्म पुगेका थिए । विराटनगरको सनसरीमाईस्थानदेखि सुरु भएको यो प्रदर्शन ट्राफिक चोक, महेन्द्रचोक हुँदै रोडशेषमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि र त्यसपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो । युवाहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै व्यापक विरोध प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा ढुङ्गा लागेर वडा प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अपिल चापागाईं घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुङ्गा उनको अनुहारमा लागेको र उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । यहाँ पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका छन् । आन्दोलन चर्किंदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको पुतला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो । घाइतेहरूको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा गरेका छन् । 

त्यसैगरी बिर्तामोडमा पनि प्रदर्शन भएको छ । प्रर्दशनकारीले बिर्तामोड नगरपालिकाको नवनिर्मित भवनमा ढुङगामुडा गरेका थिए । त्यसक्रममा भवनको सम्पूर्ण सिसा फुटेको छ । नगरपालिकाको गेटमा आगजनी गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेर लखेटेको थियो । प्रहरीको गोली लागेर त्यहाँ पनि तीन जना घाइते भएका छन् । प्रदर्शनकारीले बिर्ताबजारमा टायर बालेर सडक अवरुद्व गरेका थिए ।

gen-g-biratnagar_B2slsfyzmz

आगो निभाउन गएको नगरपालिकाको मे १ ग ४१ नम्बरको दमकल प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा प्ररहारबाट दमकलको अगाडिको सिसा फुटेको छ । आन्दोलनकारी फर्किने क्रममा बिर्ताबजारस्थित प्रहरी चौकीमा ढुङगा प्रहार गरेका छन् । प्रहरीका अनुसार चौकीको केही भागमा क्षति पुगेको छ ।

बिर्तामोडमा पनि 

धनकुटामा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल तत्काल खोल्नु पर्ने र व्याप्त भ्रष्टचार नियन्त्रण गर्नु पर्ने माग गर्दै धनकुटा बजारको विभिन्न भागमा प्रदर्शन गरेका हुन् । धनकुटा ७ स्थित चुवाको बोटमा जम्मा भएर जेनजी समूहले धनकुटा बजारमा प्रदर्शन गरेका थिए । चुवाको बोटबाट सुरु भएको जेनजी समूहको प्रदर्शन नारावाजी गर्दै धनकुटा बसपार्क मदनचोक, हुलाकटोल, परिचयमोड, विचवजार, सिरान बजार, भीमनारयणचोक, माथिल्लो कोप्चे, बिहिबारे हटिया, तल्लो कोप्चे, टुँडिखेल, हुँदै पुनः चुवाको बोटमा आएर कोणसभामा परिणत भएको थियो । 

खोटाङ सदरमुकाम दिक्तेल बजारमा पनि जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारविरोधी नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

उता, पाँचथरको सदरमुकाम फिदिममा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर अगाडिको बीपी पार्कमा भेला भएका आन्दोलनकारीले सुरुवातमै त्यहाँ खटिएका प्रहरीलाई फूल दिएर शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन आरम्भ गरेका थिए । जेनजीहरू नाराबाजीसहित बजार परिक्रमा गरेका थिए । उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र प्रहरी प्रमुखको राजीनामाको माग राख्दै प्रदर्शनमा उत्रिए ।
यस्तै मोरङको केराबारीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । त्यहाँका प्रदर्शन भने शान्तिपूर्ण रहेको बताइएको छ । 

viber_image_2025-09-08_15-57-04-886_jRo8HsNhcG

विराटनगरका विद्यालय बन्द

जेनजी आन्दोलन चर्किएसँगै सिर्जना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले मंगलबार एक दिनका लागि सार्वजनिक तथा निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगर क्षेत्रका सबै विद्यालय मंगलबार बिदा हुनेछन् । महानगर क्षेत्रमा सोमबार विभिन्न भागमा जेनजी पुस्ताले आन्दोलन गरेका कारण शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी यो निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप