बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नख्खु कारागारबाट रविको सन्देश: ‘अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिन सकिँदैन’

सोमबार, २३ भदौ २०८२, २२ : ५८
सोमबार, २३ भदौ २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन्।
  • उनले विद्यार्थीको मृत्यु भएको घटनालाई 'कालो दिन' भन्दै सरकारको राजीनामा मागेका छन्।
  • लामिछानेले अन्तरिम नागरिक सरकार गठन र छानबिन आयोग बनाउन माग गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारमाथि कठोर आरोप लगाएका छन्। उनले काठमाडाैँमा साेमबार जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट विद्यार्थीको मृत्यु भएको घटनालाई ‘नेपाली इतिहासकै कालो दिन’ भन्दै सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

लामिछानेले आफ्नो सन्देशमा १९ भन्दा बढी विद्यार्थीको रगत बगेको र सयौँ घाइते भएको दाबी गर्दै भनेका छन्, “ब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।”

उनले जेनजी पुस्तालाई सडकमा ल्याउन सरकारकै कुशासन, भ्रष्टाचार र क्रूरता बाध्यकारी भएको आरोप लगाए। ‘सिपालु सिकारीले चरा मारेझैँ स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारियो,’ उनले जारी गरेको सन्देशमा भनिएको छ । 

सन्देशमा लामिछानेले अहिलेको राजनीतिक सङ्कट समाधान गर्न छिटोभन्दा छिटो जेनजी समेत सहभागी हुने गरी अन्तरिम नागरिक सरकार गठन हुनुपर्ने बताए। ०४६ सालपछिका सबै नीतिगत निर्णयहरूको समीक्षा गरिनु पर्ने र त्यसयताका उच्चपदस्थ व्यक्तिहरू र तिनका परिवारको सम्पत्ति छानबिन गर्ने आयोग बन्नुपर्ने उनको माग छ। साथै आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञहरूको उच्चस्तरीय समिति गठन गर्नुपर्ने र भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग बनाएर प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरूको अनुसन्धान गर्नुपर्ने उनले बताए।

उनले आफ्ना समर्थकलाई संयमित रहन र आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल गरेका छन्। साथै रास्वपाका सांसदलाई पनि माग पूरा नभए संसदबाट राजीनामा दिन तयार रहन आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप