शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

प्रदर्शनकारीमाथि दमन बन्द गर्न मानव अधिकार आयोगको माग

मङ्गलबार, २४ भदौ २०८२, १२ : ५९
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा ध्यानाकर्षण जनाएको छ।
  • आयोगले घटनाको अनुसन्धान गर्न टोली गठन गरेको छ र सरकारलाई हत्या रोक्न निर्देशन दिएको छ।
  • आयोगले प्रदर्शनकारीलाई शान्तिपूर्ण रहन र सरकारलाई थप क्षति हुन नदिन सचेत गराएको छ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी विद्यार्थीहरूसहित डेढ दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने र ५०० भन्दा बढी किशोर–किशोरी घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको छ।

आयोगले घटनाको गम्भीर अनुसन्धान गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ। आयोगले सोमबार पनि काठमाडौँसहित देशका विभिन्न भागमा भइरहेको आन्दोलन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनबारे निरन्तर अनुगमन भइरहेको जनाएको छ।

‘लोकतन्त्रमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैलाई हुन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ नवपुस्ताका आवाजहरूलाई सम्बोधन गर्नुको सट्टा सरकारले दबाउने र सुरक्षाकर्मीले निर्दोष विद्यार्थी र युवाको ज्यान लिने कार्य कुनै पनि अर्थमा स्वीकार्य छैन ।’

आयोगले भीड नियन्त्रणको नाममा हत्या गर्ने कार्य तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, प्रदर्शनलाई मर्यादित, संयमित र शान्तिपूर्ण बनाउन जिम्मेवार बन्न प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ।

प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिई थप मानवीय र भौतिक क्षति हुन नदिन सरकारलाई सचेत गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप