गायिका कोमल वलीको दुखेसो, ‘पसिना र ऋणसँगै उभिएको सपना खरानी भयो’
सारांश
- गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन नसकिने बताइन्।
- उनले जेनजी आन्दोलनमा मारिएका शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरिन्।
- कोमल वलीले आफ्नो होटल खरानी बनाइएकोमा दुःख व्यक्त गर्दै इमान्दार जीवन बिताएको बताइन्।
काठमाडौँ । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन कसैले नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो नहुने उनको भनाई छ ।
उनले जेनजीको आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गरेकी छन् । उनले आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको र त्यो पीडा बोकेर बाँचिरहेको स्पष्ट पारेकी छन् ।
‘सेवा मूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोल्दा। म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौँ’, उनले अगाडि भनेकी छन् ‘यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’
‘मेरो जीवन तपाईँहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ’, उनी अगाडि थप्छिन् ‘गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश–विदेशले मेरो स्वरमार्फत नेपाललाई चिनाए । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने सङ्कल्पसहित । २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।’ उनले आफ्नो जीवन ईमान र निष्ठामा अडिएको र कहिल्यै भ्रष्टाचार नगरेको स्पष्ट पारेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण