शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आपूर्ति व्यवस्थापन

जेनजी आन्दोलनसँगै खाद्यान्न अभावको चिन्ता, के छ अवस्था ?

बिहीबार, २६ भदौ २०८२, २० : १०
बिहीबार, २६ भदौ २०८२

काठमाडौँ । दसैँ आउन ११ दिन मात्रै बाँकी छ । तर केही दिनयता जेनजी आन्दोलनपछि देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । परिस्थितिलाई सामान्य बनाउन प्रशासन कार्यालयहरुले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका छन् । 

आन्दोलनका कारण खाद्यान्न र तरकारी आपूर्तिमा पनि समस्या भइरहेको छ । केही समयअघि बाढीपहिरोका कारण उत्तरी नाका ठप्प छन् भने जेनजी आन्दोलनसँगै दक्षिणी नाकामा पनि कडाइ गरिएको छ । 

अहिले खाद्यान्न आपूर्ति ठप्पजस्तै भएकाले चाडपर्वको समयमा खाद्यान्न अभाव तथा महँगी बढ्ने त्रास बढेको छ । तर अहिले खाद्यान्न अभाव नहुने खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्य बताउँछन् । 

‘हामीसँग खाद्यान्न मौज्दात पर्याप्त छ । कुनै पनि वस्तु अभाव हुँदैन,’ बज्राचार्यले भने, ‘महँगी पनि बढ्दैन । किनभने हामीले पहिल्यै आयात गरेको वस्तु स्टकमा छ । तर यो बेलामा खाद्यान्न अभावको बाहाना बनाएर कालोबजारी बढ्ने सम्भावना हुन्छ ।’

कालोबजारी बढ्न नदिन अहिले देशको अवस्था नाजुक रहेकाले उपभोक्ता आफैँ सचेत रहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्न अभाव र मूल्य वृद्धि नरहेको जनाएको छ । विभागका महानिर्देशक रोशन ज्ञवालीले अहिले देशको स्थिति सहज नभएकाले विभागका कामहरु प्रभावित भएको बताए । साथै, उनले अहिलेको अवस्थामा आवश्यकताभन्दा बढी खाद्यान्न खरिद गरी भण्डारण नगर्न अनुरोध गरे ।

सैगरी यस अवस्थामा बजारमा अभाव सिर्जना गरी कालोबजारी हुनबाट जोगिन उपभोक्ता तथा व्यवसायीहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

सरकारी खाद्य भण्डारमा खाद्यान्नको अवस्था

सरकारी खाद्य भण्डार तथा व्यापार निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खाद्यान्न पर्याप्त रहेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले कम्पनीसँग हाल खाद्यान्नको पर्याप्त मौज्दात रहेको अभाव नहुने बताएका छन् ।

कम्पनीसँग देशैभरका डिपोमा ३२ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेकोमा लहानमा करिब हजार मेट्रिक टन क्षति भएपछि अहिले पनि करिब २७/२८ हजार मेट्रिक टन खाद्यान्न स्टकमा छ । काठमाडौँमा पनि पर्याप्त खाद्यान्न रहेको उनले जानकारी दिए । साथै, विकट जिल्लाहरुका डिपोमा पनि पर्याप्त मात्रामा ढुवानी गरिसकेकाले देशैभर खाद्यान्नमा अभाव नहुने आचार्य बताउँछन् ।

हालको निषेधाज्ञा र कर्फ्यूका कारण खाद्यान्न ढुवानीमा समस्या भइरहेको छ । यद्यपि खाद्यान्न अभाव हुने वा मूल्यवृद्धि हुने सम्भावना नरहेको आचार्य बताउँछन् । उनले बाहिरको बजारमा मूल्य बढाउने प्रयास गरिएमा हस्तक्षेप गर्न आफूहरुसँग पर्याप्त बफर स्टक रहेको बताउँछन् । 

चाडपर्व लक्षित पसल सञ्चालनमा प्रभावित

यसैबीच कम्पनीको चाडपर्व लक्षित सहुलियत पसलहरू सञ्चालन गर्ने तयारी प्रभावित भएको छ । कम्पनीले असोज ३० गतेबाट देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको थियो । 

हाल व्यापारिक वातावरण अनुकूल नभएकाले सुपथ मूल्य पसल सञ्चालनमा ढिलाइ हुने देखिएको प्रमुख कार्यकारी अधिकृतको भनाइ छ । दुर्गम क्षेत्रहरू जहाँ वातावरण शान्त छ, त्यहाँ  भदौ ३० गतेबाट नै सञ्चालन गरिनेछ । तर काठमाडौँ उपत्यकालगायत स्थान तथा आन्दोलन प्रभावित क्षेत्रहरूमा पसल खोल्ने माहोल नभएको र परिस्थितिको मूल्यांकन गरेर मात्र निर्णय गरिने आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप