मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जनताले संविधान र सरकार दुवै अस्वीकार गरिसकेकाले संविधानको रटान नलगाऔँ : आजपा

शुक्रबार, २७ भदौ २०८२, १८ : ५१
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले संसद् विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढ्न अपिल गरेको छ ।

नेपाली जनताले अहिलेको संविधान र सरकार दुवै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको आजपाले जनाएको छ ।   

जेन–जी पुस्ताको अगुवाइमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई सर्लक्क स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउन नसक्नु गम्भीर चिन्ताको विषय भएको आजपाले जनाएको छ । 

आजपा प्रवक्ता चन्द्रभुषण साहले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनमा युवा विद्यार्थीको नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित बरवर्तापूर्ण अपराधमा संलग्न सबैलाई कारबाही गर्न माग समेत गरेका छन् । 

‘वर्तमान सङ्कट एवं सङ्क्रमणकालीन अवस्थाबाट निकासका लागि आन्दोलनमा अबोध युवा  विद्यार्थीहरूको निर्मम नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालीन प्रधानमन्त्री सहित यस बरवर्तापूर्ण अपराधमा संलग्न अन्य सरकारी अधिकारीहरूलाई समेत कानुन बमोजिम कारबाही गर्ने र राज्य सञ्चालनको उच्च तहमा रहेर काम गरेका सम्पूर्ण शासक एवं प्रशासकहरूको सम्पत्तिको स्रोत छानबिन गरी दोषी ठहर हुनेलाई दण्डित गर्ने प्रतिबद्धता सहित तत्काल जनआक्रोशको केन्द्रको रूपमा रहेको संसद्लाई विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण सरोकारवालाहरूमा एकमुष्ट हार्दिक अनुरोध/अपिल गर्दछौँ,’ प्रवक्ता साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पश्चगामीको डरले यथास्थितिमा रमाउने खेल कुनै पनि हिसाबले सही नभएको आजपाको चेतावनी छ । ‘अहिलेको विषम परिस्थितिमा देशलाई अग्रगामी निकास दिनका लागि राष्ट्रपतिजस्तो सम्मानित संस्थाले यस आन्दोलनका नेतृत्व एवं सहयोगी शक्तिहरू तथा परिवर्तन पक्षधर धारसँग वार्ता र संवाद गरी समस्या समाधान गर्नुको सट्टा उल्टै उही अस्वीकृत यथास्थितिवादी एवं प्रतिक्रियावादी धारका पार्टी, प्रवृत्ति र व्यक्तिसँग छलफल गर्ने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन । यो अशोभनीय एवं आपत्तिजनक कदम सडकबाट मुखरित जनादेश, जनआन्दोलनको भावना तथा नागरिक स्वतन्त्रता समेतको बर्खिलाप हो,’ विज्ञप्तिमा भनिएको छ । 

नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड भएको निष्कर्ष आजपाको छ । अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव नभएको जनाउँदै आजपाले भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्यापक रहेको जनाएको छ । भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव नभएको आजपाले जनाएको छ । 

‘अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव छैन । किनकि भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्याप्त छन् । अझ यसो भनौँ नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड हो । यो यर्थातलाई सबैले स्वीकार्न जरुरी छ । जस्तो कारखाना हुन्छ, उत्पादन त्यस्तै हुन्छ । त्यसैले, भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव छैन । सार्वभौम जनताले सडकमार्फत संसद्, सरकार एवं यसको विधि विधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा संविधानवादको रटान गर्नु हास्यास्पद हो । त्यसैले, भ्रष्ट, दलाल, लुटेरा एवं भगौडा वर्गको पक्षपोषण गर्ने वर्तमान अस्वीकृत संविधानको निर्माता एवं तक्माधारीहरूले माफी मागेर बाटो छोड्नुको सट्टा उल्टै आफूलाई केन्द्रमा राखेर संविधान रक्षाको नाटक प्रहसन गर्नु भनेको लुटकारी व्यवस्था र अवस्थाबाट असन्तुष्ट एवं आक्रोशित जनतालाई थप सशक्त विद्रोहको लागि उक्साउनु र नयाँ समस्या खडा गर्नु हो,’ आजपाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आजपाले जनविद्रोहको मर्मलाई तुरुन्त सम्बोधन गर्नुको सट्टा विभिन्न आवरणमा अल्झाउनु, बल्झाउनु र खेलाउनु दुःखद रहेको टिप्पणी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप