बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, सेवा सुचारु गर्न दृढ संकल्पित छौं'

शनिबार, २८ भदौ २०८२, ११ : ५७
शनिबार, २८ भदौ २०८२

सारांश

  • चन्द्रागिरि हिल्सले जेनजी आन्दोलनको क्षतिप्रति दुःख व्यक्त गर्दै सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ।
  • कम्पनीले आन्दोलनका क्रममा केबलकारको बटम स्टेशनमा भएको क्षतिको जानकारी गराएको छ।
  • कम्पनीले पर्यटन प्रवर्द्धन र सेवालाई निरन्तरता दिने जनाएको छ, साथै छिट्टै सेवा सुचारु गर्ने जनाएको छ।

काठमाडौँ । पछिल्लो समय जेनजीआन्दोलनका क्रममा भएको क्षतिप्रति चन्द्रागिरि हिल्स लिमिटेडले आफ्नो धारणा सार्वजनिक गर्दै सेवा सुचारु गर्न दृढ संकल्पित रहेको जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जानकारी गराएको छ।

विज्ञप्तिमा भदौ २३ गते यता भएका दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

चन्द्रागिरि हिल्सले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र समग्र आर्थिक समृद्धिका मुद्दाहरूप्रति आफ्नो सम्मान रहेको उल्लेख गरेको छ। यद्यपि, सोही आन्दोलनका क्रममा भएको अवाञ्छनीय गतिविधिले कम्पनीलाई ठूलो क्षति पुगेको जनाएको छ।
कम्पनीले चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था नभई लाखौँ सेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति रहेको स्पष्ट पारेको छ। कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ।
क्षतिग्रस्त भए पनि कम्पनीको अठोट कमजोर नभएको भन्दै चन्द्रागिरि हिल्सले गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा कुनै पनि हालतमा विचलित नभएको जनाएको छ। कम्पनीले छिट्टै सेवा सुचारु गर्ने र भविष्यमा व्यावसायिक वातावरण थप सहज हुने अपेक्षासमेत गरेको छ।
विज्ञप्तिमा आगजनी नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ। साथै, यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको र सम्बन्धित निकायसँग सहयोगका लागि विशेष आग्रहसमेत गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप