शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रशासनले अहिले आउनु पर्दैन भन्दा पनि रवि कारागार गएको पत्नी निकिताको दाबी

शनिबार, २८ भदौ २०८२, २३ : ५२
शनिबार, २८ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्।
  • पत्नी निकिता लामिछानेले रविले जनताको प्रश्नलाई ध्यानमा राख्दै कारागार जाने निर्णय गरेको बताइन्।
  • जेनजी आन्दोलनपछि लामिछाने कागजी प्रक्रिया पूरा गरी पुनः कारागार पुगेका हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार साँझ ५ बजे पुनः नख्खु कारागार फर्किएका छन् ।

पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै उनले प्रशासनले अहिले जानु नपर्ने भने पनि रविले जनताको प्रश्नलाई ध्यानमा राख्दै आफैँ कारागार जाने निर्णय गरेको बताएकी हुन्  ।

उनले फेसबुकमा लेखेकी छन्, “प्रशासनले अहिले आउनु पर्दैन भने पनि रवि कारागार फर्किनुभयो। परिवार र स्वास्थ्य अवस्थाका कारण ढिलो जान सुझाए पनि उहाँले ‘जनताले प्रश्न उठाइसके, म तुरुन्तै फर्किनुपर्छ’ भन्नुभयो।”

जेनजी आन्दोलन उग्र बनेपछि कार्यकर्ताले नख्खु कारागारबाट निकालेका लामिछाने शनिबार कागजी प्रक्रिया पूरा गरी पुनः कारागार पुगेका हुन् । 

यस्ताे छ निकिता लामिछानेकाे स्ट्याटस

प्रशासनले अहिले आउनु पर्दैन, बोलाएपछि आउनुस् चिन्ता नगर्नुस् भन्यो:

जनताले प्रश्न उठाइसके, म छिटो भन्दा छिटो कारागार जानुपर्छ भन्यौ ।

मलाई थाहा छ तिमी निकै बिरामी छौ, अस्पताल जाऊँ पुरै शरीर चेक गराऊँ भनेँ :

होइन म ठिक छु,प्रश्न उठेका बेलामा त्यसो गर्नुहुन्न, म कारागार फर्किन्छु भन्यौ ।

भोलि बुवाआमाको श्राद्ध छ,कम्तीमा श्राद्ध गरेर त जाऊ भनेँ

होइन बहाना बनाएको जस्तो हुन्छ,म कारागार फर्किन्छु भन्यौ।

आज एक दिन त बस, आज तिम्रो जन्मदिन हो भनेँ

न्याय पाएपछि मनाउँला,म कारागार फर्किन्छु भन्यौँ ।

तिमीसँग भेट भएदेखि पहिलोपटक तिम्रो र मेरो जन्म दिनमा तिमी र म सँगै छैनौँ। म घरमा एक्लै छु तर मनभरि तिमी नै तिमी छौ । तिमीमाथि पाप गर्नेहरू लाई जनताले नाङ्गे झार पारे। तिमी अझै दुःख खेपिरहेका छौँ । तर तिमी चिन्ता नगर, म हारेकी छैन। त्यसमाथि हिजोबाट त देशमा नयाँ बिहानी आएको छ। आशा गर्छु त्यो बिहानीको किरण मेरो घरसम्म आइपुग्नेछ। पापीहरूले उजाड पार्न खोजेको मेरो सुन्दर, सानो घरमा नयाँ बिहानीले पक्कै पनि उज्यालो छर्नेछ । जन्मदिनको धेरै धेरै शुभकामना । तिमीले न्याय पाएको दिनलाई तिम्रो नयाँ जन्मदिन मानी हामी मिलेर फेरि दही काटौला, दियो बालौला । यो घर पनि,यो देश पनि उज्यालो पारौला । म छु, जनता छन् ,पिर नगर है ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप