शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

व्यवसायीलाई सहजता प्रदान गर्न ट्रक महासङ्घको आग्रह

आइतबार, २९ भदौ २०८२, १६ : ०७
आइतबार, २९ भदौ २०८२

काठमाडौँ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठुलो क्षति पुगेको छ ।

ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कागजात नष्ट भइसकेका कारण व्यवसायीहरू थप समस्यामा पर्न थालेका छन् ।

यस्ता पीडित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न र अनावश्यक दुःख कष्ट नदिन विभाग र सम्बन्धित निकायसँग महासङ्घले आग्रह गरेको छ ।

यता प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेपछि विभागका सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेका छन् ।

विभागले यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको जनाएको छ ।

महासङ्घले विभागका महानिर्देशकसँग सम्पर्क गर्दा हाल विभागको भौतिक संरचना र प्रविधि पुनः सञ्चालन नआएसम्म काम गर्न कठिनाइ हुने जानकारी पाएको छ ।

यद्यपि व्यवसायीलाई सहज वातावरण दिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहयोग र सहजीकरण गर्न महासङ्घले जोड दिएको छ ।

यस्तै महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवराज शर्मासँगको छलफलमा समेत यो समस्या तत्काल समाधान गर्न सबै निकायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सचिव शर्माले मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप