आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल
सारांश
- नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले बजेटका टुक्रे आयोजना कटौती गरी स्रोत जुटाउने बताए।
- उनले बजेटमा भएका कार्यक्रम कटौतीका लागि कार्यदल गठन गर्नुका साथै सार्वजनिक सम्पत्तिको मर्मत सम्भार गर्ने बताए।
- मन्त्री खनालले निजी क्षेत्रलाई विश्वासमा लिई राजस्व वृद्धिका लागि काम गर्ने र आर्थिक सुधारका सुझाव कार्यान्वयन गर्ने बताए।
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् ।
आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनः निर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताए ।
उनले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकीकरण गर्नेछ ।
उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठुलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए । ‘कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनाशबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन’, उनले भने, ‘निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ति हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।’
युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उनले भने, ‘यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरूले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।’
उनले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गरे । ‘विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु’, उनले भने ।
उनले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए । ‘हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रूर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ’, उनले भने ।
अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताए । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताए ।
त्यस अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले केन्द्रीय बैङ्कले सक्दो सहयोग गर्ने बताए । ‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैङ्कका शाखा र ६९ वटा एटिएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद छ । राष्ट्र बैङ्क सक्दो सहयोग गर्न तयार छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण