आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
मन्त्रीका कुरा

मैले तत्काल अघि बढाउने ५ कुरा

‘तामझाम होइन, काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने हो’
सोमबार, ३० भदौ २०८२, १६ : ००
सोमबार, ३० भदौ २०८२

आज म गौरवभन्दा पनि गह्रौँ मन लिएर तपाईँहरूसामु उभिएको छु । पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ—उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए । उनीहरूको त्याग र साहसले परिवर्तनको जग हालेको छ । सबैप्रति सम्मान व्यक्त गर्दछु । साथै कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनु भएका तथा घाइते सुरक्षाकर्मीहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु । तपाईँहरूको पीडा मेरो हृदयमा गहिरो रूपमा बसिरहेको छ । 

आज म भारी जिम्मेवारीका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रीको रूपमा शपथ लिएको छु । मुलुकको पूर्वाधार क्षेत्रको मार्ग कोर्ने मन्त्रालयहरू सम्हाल्ने पद सम्मान मात्र होइन, पीडा र आशाको बिचमा आएको ठुलो जिम्मेवारी हो । अहिले मेरो उद्देश्य छ—जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने; जे जलेको छ त्यसलाई पुनर्निर्माण गर्ने । 

जनताको आवाज सडकमा उठेको छ, तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु—न्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन। यी सम्पत्ति सबै नेपालीका हुन्, विशेष गरी गरिब र युवाका आवाज उठाऔँ, तर सम्पत्ति बचाऔँ । तर, हिंसा होइन, समाधान हाम्रो बाटो हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो।तर त्यसका लागि हरेको व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ तपाईँहरूको साथ नपाई त्यो सम्भव  छैन ।  

सर्वप्रथम विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो पटक देशबाट भ्रष्टाचार अन्त्य, सुशासनलगायतका माग राखी जेनजीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनका क्रममा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

जेनजी पुस्ताले देशभित्रै सुन्दर भविष्य र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि ऐतिहासिक प्रतिरोध गर्नुभयो र अहिलेको अवस्था सिर्जना भयो यसका लागि सबै बधाईको पात्र हुनुहुन्छ । अहिलेको विषम परिस्थितिमा मलाई विश्वास गरी जुन जिम्मेवारी दिनुभएको यसका लागि सम्माननीय प्रधानमन्त्री, आन्दोलनरत जेनजीलगायत सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । जेन जी पुस्ताले देखेको समुन्नत नेपालको सपना साकार पार्ने यात्राको यो सुरुवात अब पुनर्निर्माण, सहकार्य र साझा भविष्य निर्माणको लागि हातेमालो गर्नुपर्दछ । 

आन्दोलनका कारण सार्वजनिक एवम् निजी क्षेत्रका संरचनामा ठुलो क्षति पुगेको छ । सार्वजनिक सेवा प्रभावको चक्र नराम्ररी प्रभावित भएको छ । अर्थतन्त्रको एउटा हिस्सेदार निजी क्षेत्रको मनोबल गिरेको छ । यस्तो अवस्थामा सबैको मनोबल उच्च राखी पुनर्निर्माणको कार्य अगाडि बढाउनु र तोकिएकै समयमा चुनाव गराउनु पर्ने दायित्व सरकारसँग रहेको छ । हामीसँग समय छोटो छ तर एक सेकेण्ड पनि खेरा नफाली मुलुकको हितका लागि काम गरिने छ । हालको विषम परिस्थिति र छोटो समयको चुनौती अवसरको रूपमा प्रयोग गरी कार्य अगाडि बढाइनेछ । सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारु गर्ने कार्यलाई उच्च प्राथमिकता राखी सोहीबमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइनेछ । आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ । 

विगतमा मुलुकले बेहोरिरहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभवलाई भरपुर प्रयोग गरिनेछ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियानलाई कार्यान्वयनतर्फ अगाडि बढाइने छ । ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियानलाई सार्थक बनाउन सोहीअनुसार कार्य गर्न सबैलाई निर्देश गर्दछु ।  

उज्यालो नेपाल अभियान मेरो जीवन–मार्ग हो । युवापुस्ताको भविष्य उज्यालो बनाउने, जनताको जीवनमा उज्यालो ल्याउने र नेपालको भविष्य उज्यालो बनाउने राजनीतिक व्रत पालनमा मैले आफ्नो जीवन समर्पित गरेको छु । जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै आजको प्रमुख राष्ट्रिय एजेन्डा हो । यसको सफल कार्यान्वयनको लागि राष्ट्रिय राजनीति र शासकीय संस्कृतिलाई जनचाहनाबाट निर्देशित, जनहितमा समर्पित र जनता प्रति जबाफदेही बनाउनु परेको छ । मेरो कर्मक्षेत्र यही हो, सधैँ यही रहने छ । यही सोचबाट  निर्दिष्ट भएर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको टिममा बसेर जेन जी पुस्ताको दृढ सङ्कल्प, सङ्घर्ष र बलिदानलाई सार्थक सिद्ध गर्न सुन्दर, समुन्नत नेपाल निर्माणमा समर्पित भएको छु । यो विश्वासका साथ जिम्मेवारी पाएको छु यो विश्वास मेरो लागि प्रेरणाको स्रोत हो र म यो विश्वासलाई नतिजामा परिणत गर्नेछु । यसका लागि सबैको साथ र सहयोगका लागि अनुरोध गर्दछु । 

तत्काल अगाडि बढाइने मुख्य कार्यहरू : 

१.सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ । 

२.पुनःनिर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँ’ भन्ने अभियान सञ्चालन गरिने छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ । 

३.मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्ता क्रियाकलाप सह्य हुनेछैन । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ । जेन जीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । 

४.कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place) लाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन । तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ । असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु । 

५.चालू रहेका ठुला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठुलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ । यसलाई चिर्न चालू अवस्थामा रहेका ठुला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने छ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठुला योजनालाई अगाडि बढाइने छ । प्राथमिकताको आधारमा आयोजना छनौट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ । अहिले हाम्रा लागि हरेक सकेण्ड महत्त्वपूर्ण छ । 

तसर्थ, यो समय खादा माला लगाएर तामझाम गर्नु होइन काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने हो । जसरी विगतमा यहाँहरूबाट हौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङ अँध्यारोबाट मुलुकलाई मुक्त गर्न सक्यौँ त्यसैगरी अहिलेको विषम परिस्थितमा विगतको जस्तै साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु । म प्रति यहाँहरूले देखाउनु भएको उक्त विश्वासको लागि जेन जीका भाइबहिनी सहित सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी प्रति कृतज्ञता छु ।                            

ऊर्जा तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्री कुलामान घिसिङद्वारा पदभारपछि व्यक्त विचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुलमान घिसिङ
कुलमान घिसिङ
लेखकबाट थप