च्यासल पुगेर शंकर पोखरेलले भने– हाम्रा कमजोरी होलान् तर सच्याउँदै अघि बढ्छौँ
सारांश
- एमाले महासचिव शंकर पोखरेलले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको पार्टी कार्यालयको अनुगमन गरे।
- पोखरेलले आन्दोलनका क्रममा पार्टीका निजी भवन र सम्पदामा क्षति पुगेको बताए, र सरकारलाई पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे।
- उनले युवाको आन्दोलनलाई लुटपाटमा बदल्ने तत्वहरूलाई चिन्न र निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गते भएको आन्दोलनका क्रममा ध्वस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् । सोमबार ललितपुरस्थित च्यासल पुगेर पोखरेलले पार्टी कार्यालयको अनुगमन गरेका हुन् । त्यसक्रममा उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पनि च्यासल पुगेका थिए ।
कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ मा पार्टी नेता कार्यकर्ताका निजी भवनसहित शताब्दी पुराना सम्पदाहरू समेत जलेर नष्ट भएकाले मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताए । ‘सिंहदरबार, शीतलनिवास लगायतका संरचना पनि जलाउने काम भयो’, उनले भने । उनले सुरक्षामा खटिने नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाहेक सबै संरचनाहरु जलाइएको बताए ।
महासचिव पोखरेलले युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने र राष्ट्रलाई कमजोर बनाउने जस्ता काममा केही मानिसहरू लागेकाले युवाहरूले ती तत्त्वहरू चिन्नुपर्ने बताए ।‘त्यस्ता मानिसहरूलाई सरकारले पनि दण्डित गर्नुपर्छ । पुनर्निर्माणको काम अघि बढाउनुपर्छ’, पोखरेलले भने, ‘एमाले सुशासन कायम गर्ने,भ्रष्टचार अन्त्य र विकास तथा सम्मृद्धिलाई तीव्रता दिने कुरामा वर्तमान सरकारलाई सहयोग गर्न तयार छ ।’ यद्यपि उनले अहिलेको अन्तरिम सरकार भएकाले यसले समयमै निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने बताए ।
‘सधैँभरी सडकबाट जनमत प्राप्त गर्ने कुरा हुँदैन । युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि विकास र सम्मृद्धिको यात्रामा जान सक्दैन’, पोखरेलले भने, ‘त्यसअर्थमा हामी संविधानतिर फर्कनै पर्दछ । त्यसका लागि तोकिएकै समयमा निर्वाचन गर्नुपर्छ ।’
उनले नेकपा एमाले अहिले उठेका प्रश्नको उत्तर दिन सक्षम भएको दाबी गर्दै युवाहरूको भावनालाई सम्बोधन गर्न, परिवर्तनको आकाङ्क्षालाई बोक्न र मुलुकको नेतृत्व गर्न सक्षम भएको बताए । ‘देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन’, उनले भने, ‘युवाहरूका आकाङ्क्षालाई समयमै सम्बोधन गर्न सकेनौं होला । परिस्थिति समयमै आङ्कलन गर्न सकेनौँ होला त्यसमा हाम्रा पनि केही कमजोरी होलान् तर त्यसका नाममा देशभक्तिमाथि प्रश्न गर्ने कुरा उचित होइन ।’
महासचिव पोखरेलले एमाले फेरि उठ्ने भन्दै अझ एकताबद्ध र सशक्त हुँदै क्षतिग्रस्त पार्टीका संरचना सफाइ र पुननिर्माणका काममा लाग्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण