सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पुनर्निर्माणमा एनआरएनएको सक्रियता, दुई समूहद्वारा अलग–अलग योजना सार्वजनिक

मङ्गलबार, ३१ भदौ २०८२, २१ : ४८
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको व्यापक जनधनको क्षतिपश्चात गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पुनर्निर्माण अभियानमा सक्रिय हुने भएको छ। सङ्घभित्र रहेका दुई समूहले आ–आफ्नो योजना सार्वजनिक गरेका छन्।

महेश कुमार श्रेष्ठ नेतृत्वको समूहले मंगलबार ‘नेपाल पुनःनिर्माण अभियान’ घोषणा गर्दै हालको सङ्कट समाधानमा सक्रिय भूमिका खेल्ने जनाएको छ। आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको, सयौँ सरकारी कार्यालय र प्रहरी चौकी जलेर वा क्षतिग्रस्त बनेको तथा प्रशासनिक सेवा ठप्प भएको अवस्थालाई औँल्याउँदै सङ्घले पुनर्निर्माणलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता जनाएको हो।

“एनआरएनएले विगतमा भूकम्प, बाढी तथा अन्य विपतका बेला अग्र पङ्क्तिमा रहेर सहयोग पुर्‍याउँदै आएको इतिहास छ। यही विश्वास र दायित्वका आधारमा हामी फेरि मातृभूमि पुनःनिर्माणमा जुट्न चाहन्छौँ,” अध्यक्ष श्रेष्ठद्वारा जारी अपिलमा उल्लेख छ। उक्त अभियानका लागि ग्लोबल आईएमई बैंक, पानी पोखरी शाखामा खाता समेत सञ्चालन गरिएको छ।

यसैबिच, अध्यक्ष डा. बद्री केसी नेतृत्वको अर्को समूहले प्रारम्भिक चरणमा स्थलगत अवलोकन गर्ने र त्यसपछि सरकारको निर्देशनअनुसार सहयोग गर्ने योजना सार्वजनिक गरेको छ। डा.केसीले सङ्घले वास्तविक आवश्यकता पहिचान गरेर मात्र सहयोग गर्ने तयारी गरेको बताए ।

उनको समूहकी अध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले मंगलबार संसद् भवनको क्षति अवलोकन गरेको छ। संसद् भवनमा सरसफाइका लागि स्वयंसेवकसहित पुगेको टोलीलाई कर्मचारीहरूले सम्पूर्ण भवन भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्था देखाएको बताएका छन्।

महाभूकम्प, कोरोना महामारी र अन्य प्राकृतिक विपत्तिका बेला सहयोग पुर्‍याउँदै आएको एनआरएनएले यसपटक पनि देशको पुनर्निर्माणमा योगदान दिने घोषणा गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप