बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहिणीको जिद्दीले रोकियो ५.३ अर्ब डलरको रेल परियोजना

बुधबार, ०१ असोज २०८२, १० : २०
बुधबार, ०१ असोज २०८२

सारांश

  • जियाङसु प्रान्तमा एक घरधनीको अडानले गर्दा ३८ अर्ब युआनको रेल परियोजना २ वर्ष ढिला भयो।
  • घरधनीले करोडौँ डलर क्षतिपूर्ति माग गरेपछि सरकारले उनको घरको वरिपरि रेलमार्ग बनायो।
  • अन्ततः घरधनीले हार मानिन् र सरकारको प्रस्ताव स्वीकार गरिन्, जसले गर्दा परियोजना अघि बढ्यो।

जियाङसु । चीनको जियाङसु प्रान्तमा एक घर मालिकको जिद्दीका कारण ३८ अर्ब युआन (लगभग ५.३ अर्ब अमेरिकी डलर) को महत्त्वाकाङ्क्षी रेल परियोजना दुई वर्षसम्म ढिलाइ भएको छ। तिनीले आफ्नो सामान्य घरका लागि करोडौँ डलरको क्षतिपूर्ति माग गरेकी थिइन्।

सन् २०२० मा, चीनले जियाङसु, झेजियाङ र सांघाईलाई जोड्ने एक उच्च-गतिको रेल परियोजना सुरु गरेको थियो। काम तीव्र गतिमा अगाडि बढिरहेको थियो र केही वर्षमै १६३.५४ किलोमिटर लामो यो रेलमार्ग लगभग तयार भयो। तर, यसको बिचमा जियाङसु प्रान्तमा रहेको एउटा ‘नेल हाउस’ को कारणले परियोजना रोकियो। नेल हाउस भनेको त्यस्तो घर हो, जसको मालिकले सरकारी विकास परियोजनाका लागि आफ्नो घर खाली गर्न अस्वीकार गर्छ ।

ती घरधनीले ठुलो रकम नपाएसम्म आफ्नो घर खाली नगर्ने अड्डी लिए। गाउँका सबै घरधनीले सरकारको प्रस्ताव स्वीकार गरे पनि यो एक परिवारले भने ठुलो रकमको माग गर्दै अडान लिए। जसले गर्दा स्थानीय सरकारले उनको घरको दुवैपट्टि रेलको पुल निर्माण गर्‍यो र उनको घरलाई लगभग एक्लो पारिदियो।

यो उच्च-गतिको रेलमार्ग सन् २०२४ मा सञ्चालनमा आउने भनिएको थियो। तर, जियाङसुका ती गृहिणीको कारण यसको उद्घाटन दुई वर्ष पछि धकेलियो। सुरुमा ती घरधनीले प्रति वर्ग मिटर १ लाख युआन (लगभग १४ हजार अमेरिकी डलर) माग गरेकी थिइन्। सरकारले यो रकम आधिकारिक नियमभन्दा धेरै भएको बताए पनि उनले वास्ता गरिनन्। 

उल्टै, जति सरकारले उनको माग अस्वीकार गर्दै गयो, उनले आफ्नो माग झनै बढाउँदै लगिन्। एक समयमा, उनले प्रति वर्ग मिटर २ लाख युआन (लगभग २८ हजार अमेरिकी डलर) माग गरिन्, जुन उनको सम्पूर्ण सम्पत्तिका लागि कुल १ करोड ४० लाख अमेरिकी डलर हुन आउँथ्यो।

‘जियाङसुको सबैभन्दा जिद्दी नेल हाउस’ को धनी, आन्टी झाङ, भन्ने महिलाले सरकारले यो ठुलो परियोजनालाई एउटा घरको कारणले बिचमा छोड्दैन भन्ने सोचेर आफूले अरू गाउँलेभन्दा राम्रो क्षतिपूर्ति पाउने आशा गरेकी थिइन्। 

उनले यो अवसरलाई जीवनभरको कमाइको रूपमा लिइन् र स्थानीय अधिकारीहरूले दिएको उदार प्रस्ताव अस्वीकार गरिन्, जसमा ५० लाख युआन (लगभग ७ लाख अमेरिकी डलर) र आफ्नो घरको बराबरको तीनवटा घर दिने प्रस्ताव थियो।

सरकारले एक जना घरधनीको कारणले ३८ अर्ब युआनको परियोजना त्याग्न सक्दैनथ्यो। त्यसैले, यसलाई दुई वर्ष ढिलाइ गरियो। 

यसबिचमा, अधिकारीहरूले आन्टी झाङसँग वार्ता जारी राखे। उनको नेल हाउसका फोटो र ड्रोन भिडियोहरू राष्ट्रिय समाचारको विषय बने, र सञ्चारमाध्यमको ध्यान उनीमाथि केन्द्रित भयो। 

जसका कारण उनीमाथि मानसिक दबाब बढ्यो। उनलाई ‘न्युरोथेनिया’ (नसा सम्बन्धी गम्भीर मानसिक रोग) भयो र उनले यस्तो तनावपूर्ण वातावरणमा बस्न नसक्ने महसुस गरिन्।

चिनियाँ सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार अन्ततः आन्टी झाङले हार मानिन् र सरकारले आधिकारिक नियमअनुसार दिएको प्रस्ताव स्वीकार गर्ने घोषणा गरिन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप