बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

आन्दोलनको असर : दुर्गा पूजाका लागि स्रोत जुटाउन सकस

बिहीबार, ०२ असोज २०८२, १० : ३६
बिहीबार, ०२ असोज २०८२

सारांश

  • तराई-मधेसमा जेनजी आन्दोलनले गर्दा दुर्गा पूजाको लागि स्रोत जुटाउन समस्या भएको छ।
  • आर्थिक संकट र आन्दोलनका कारण यस वर्षको दसैँ उत्सवमा ठूलो असर पर्ने संकेत देखिएको छ।
  • समितिले सीमित स्रोतमा पूजालाई भव्य बनाउन, धार्मिक भावना र समुदायको सहकार्यलाई जोड दिएका छन्।

जनकपुरधाम । तराई–मधेसमा प्रत्येक वर्ष नवरात्रि अवधिभर विभिन्न शक्तिपीठ, चोक–बजारमा विभिन्न क्लब तथा संघ–संस्थाले समिति बनाएर दुर्गा पूजा समारोह आयोजना गर्दै आएका थिए । यो पटक जेनजी आन्दोलनबाट सर्वत्र जनधनको क्षति भएका कारण दुर्गा पूजाका लागि स्रोत जुटाउन सकस भइरहेको सरोकारवाला बताउँछन् ।

दुर्गा पूजाका लागि व्यवसायी, स्थानीयवासी लगायतसँग चन्दा उठाएर नवरात्रिभर पूजा–पाठ, मेला, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदै आएको थियो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा यस्ता कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा समेत अन्योल भएको आयोजक समितिका पदाधिकारीहरू बताउँछन् ।

शक्तिपीठहरू र दुर्गा पूजास्थलहरूमा श्रद्धालु, समिति तथा स्थानीय युवाहरू आवश्यक तयारीमा जुटेका छन् । तर देशभर चलेको आन्दोलन र त्यसपछिको आर्थिक सङ्कटले यस वर्षको दसैँ उत्सवमा ठूलो असर पार्ने संकेत देखिएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर लगायतका पूजास्थलहरूमा बर्सेनि भव्य रूपमा दुर्गा पूजा महोत्सव आयोजना हुँदै आएको थियो । यस पटक आर्थिक संकट र आन्दोलनपछिको परिस्थितिले अन्योल थपिएको स्थानीय बताउँछन् । विशेषगरी चन्दा संकलनमार्फत पूजा समारोह सञ्चालन हुँदै आएकोमा यस पटक पर्याप्त सहयोग नजुट्ने चिन्ता बढेको समितिका पदाधिकारीको भनाइ छ ।

जलेश्वरस्थित ऐतिहासिक जलेश्वरनाथ महादेव मन्दिर अगाडि निर्माण गरिएको दुर्गा मन्दिरमा श्री शिव तथा दुर्गा पूजा समारोह समितिद्वारा विगत ५० वर्षदेखि निरन्तर रूपमा दुर्गा पूजाको आयोजना हुँदै आएको छ । यस वर्ष स्वर्ण जयन्ती वर्षका रूपमा पूजालाई विशेष र ऐतिहासिक बनाउने तयारी गरिएको थियो । तर, जेनजी आन्दोलनपछि उत्पन्न आर्थिक मन्दी र जनस्तरमै देखिएको बेरोजगारीका कारण पूजाका लागि आवश्यक बजेट जुटाउन कठिन भएको समितिका अध्यक्ष जितेन्द्र साह बताउँछन् ।

WhatsApp Image 2025-09-18 at 08.00.08_414a69b2

‘यो वर्ष धुमधामले स्वर्ण जयन्ती मनाउने योजना बनाएका थियौँ, तर आन्दोलन र त्यसपछिको आर्थिक संकटकै कारण सबै योजना विफल भए,’ उनले भने ।

अध्यक्ष साहका अनुसार अघिल्ला वर्षहरूमा पूजामा २० देखि २५ लाख रुपैयाँसम्म खर्च गरिँदै आएकोमा यसपटक ८ देखि १० लाखमै जेनतेन सम्पन्न गर्ने सोच छ ।

दुर्गा पूजाका अवसरमा भव्य मेला, झाँकी, सांस्कृतिक कार्यक्रम र भजन कीर्तनसमेत आयोजना गरिँदै आएको थियो, तर यस वर्ष ती कार्यक्रममा पनि कटौती गर्नुपर्ने अवस्था आएको अध्यक्ष साह बताउँछन् ।

जलेश्वरकै अर्काे प्रमुख पूजास्थल महेन्द्र चोकमा रहेको दुर्गा पूजा कमिटी जलेश्वरले २०५१ सालदेखि निरन्तर रूपमा दुर्गा पूजा आयोजना गर्दै आइरहेको छ । यस समितिले पनि अहिले आर्थिक संकटका कारण सजावट र साउन्ड सिस्टमजस्ता खर्चिलो पक्षहरूमा कटौती गर्ने निर्णय गरेको छ । कमिटीका अध्यक्ष शिवचन्द्र चौधरीले भने, ‘सजावटमा खर्च कटौती गरे पनि पूजाको धार्मिक भव्यता र गरिमामा भने कुनै कमी आउन दिँदैनौँ ।’

यसअघि जलेश्वर नगरपालिका तथा स्थानीय व्यवसायीहरूबाट प्राप्त हुने चन्दा र आर्थिक सहयोग पूजाको मुख्य स्रोत हुने गरेकोमा यो वर्ष नगरपालिकाको सहयोग गर्ने÷नगर्ने टुङ्गो नभएको स्थानीय समितिका पदाधिकारी बताउँछन् ।

आन्दोलनपछि देशको आर्थिक अवस्था कमजोर हुँदा स्थानीय व्यापारी र उद्योगीहरू पनि चन्दा दिन नसक्ने अवस्थामा छन् । यसले गर्दा दुर्गा पूजास्थलहरू शंकर चोक, पिपरा, गौशाला, पर्सा, महोत्तरी गाउँमा समेत पूजामा देखिने भव्यतालाई लिएर अनिश्चितता देखिएको छ ।

यसरी आर्थिक संकटले पूजामा प्रत्यक्ष असर पारे पनि स्थानीय समितिहरू, स्वयंसेवक, युवा क्लबहरू भने पूजाको परम्परा जोगाइराख्न लागिपरेका छन । सीमित स्रोत–साधनमा पूजालाई सकभर भव्य बनाउन, धार्मिक भावना र समुदायको सहकार्यलाई जोड दिइएको छ ।

दसैँजस्तो पर्व केबल उत्सवमात्र होइन, सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग गाँसिएको परम्परा हो । यो परम्परा जसरी पनि जोगाउनुपर्ने भन्दै केही समिति आफ्नै स्रोत–साधनबाट दुर्गा पूजा आयोजना गर्न प्रयासरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप