बजार पुर्याउन नपाउँदा बगानमै केरा नष्ट
सारांश
- झापामा जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा केरा किसान मारमा परेका छन्।
- बजार बन्दका कारण पाकिसकेको केरा बगानमै खेर गएको र ठूलो क्षति भएको किसानहरूको गुनासो छ।
- किसानहरूले हावाहुरी र जेनजी प्रदर्शनका कारण भएको क्षतिको पीडा व्यक्त गर्दै आगामी दसैँका लागि नयाँ उत्पादनको तयारी गरिरहेका छन्।
झापा । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरूको गुनासो छ ।
भद्रपुर र गौरीगञ्जमा ८० बिघा क्षेत्रफलमा केरा खेती गरेका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताए ।
“बजारमा लैजाने तयारी हुँदै थियो, प्रदर्शन सुरु भइहाल्यो,” खड्काले भने, “बन्दका कारण उत्पादनलाई बजार पुर्याउन पाइएन । बगानमै खेर गयो ।”
यसपालि उत्पादन राम्रो भए पनि बजार पुर्याउन नपाएको उनको गुनासो छ । जेनजी प्रदर्शन सकिएतापनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले बगानमा पाकेका केरा ठुलो परिमाणमा नष्ट हुने जोखिम बढेको उनी बताउँछन् ।
यहाँ उत्पादित केरा काठमाडौँ, विराटनगर, पोखरा, वीरगन्ज, नेपालगन्ज, धरान, इलामलगायतका जिल्ला बाहिरका सहर बजारमा बिक्रीका लागि पुर्याउने गरिएको छ । किसानले प्रतिघरी केरा (एउटा बोट) रु ५०० देखि ६०० सम्ममा बिक्री गर्दै आएका छन् । तर, भारतबाट सस्तो मूल्यमा भित्रिने केराले नेपाली बजारमा स्वदेशी उत्पादनलाई चुनौती थपिएको किसानको गुनासो छ ।
कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिघा क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातको केराखेती गरिरहनु भएका बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षतिको चोट नथाक्दै विषम राजनीतिक परिस्थितिले २०० घरी पाकेको केरा बगानमै नष्ट भएको बताइन् ।
“वैशाखमा हावाहुरीले आधा जसो बगानमा क्षति पुर्यायो, अहिले बजार र यातायात बन्दले,” पराजुलीले भनिन्, “पाकिसकेको उत्पादन तत्कालै बजारमा पुर्याउनु पर्ने बाध्यता छ । स्टोर गर्ने कोल्डसेन्टर छैन । अब दसैँमा नयाँ उत्पादन लैजाने तयारी गरिरहेका छौँ ।”
झापा गाउँपालिका–३, ४, ६ र ७ मा ३० बिघा केराको व्यवसायिक खेती गर्दै आएका चन्द्र बस्नेतको जेनजी प्रदर्शनका क्रममा रु १० लाख बराबरको क्षति भएको छ । उनका अनुसार प्रदर्शनकारीले बगानभित्रै पसेर केरा काटेर नष्ट गरिदिएका थिए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट जिल्लामा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको बताउँछन् । जिल्लामा वार्षिक ३८ हजार ८३३ मेट्रिक टन केरा उत्पादन हुने गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण