काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देशका महत्त्वपूर्ण भौतिक संरचनामा आगजनी गर्दा ठुलो क्षति पुगेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रमुख न्यायिक निकाय सर्वोच्च अदालत, जिल्ला अदालत, संसद् भवन, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी, पालिका र वडा कार्यालयहरु, राजनीतिक दलका कार्यालय, नेताका घर, व्यावसायिक भवन र भर्खरै निर्मित सभाहलहरु समेत आगजनी र तोडफोडले ध्वस्त भएका छन् ।
राज्यले कति नोक्सान व्यहोर्नुपर्यो भन्ने यकिन तथ्यांक नआएसम्म थाहा हुन सक्दैन । सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्ने क्रममा आगजनीबाट क्षतिग्रस्त सम्पूर्ण संरचनाको विवरण संकलन गरी तत्काल पुनर्निर्माण गर्ने निर्णय गरेका छन् ।
उनले क्षतिग्रस्त संरचनाको मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र तयार गर्न निर्देशन दिएका थिए । सोहीअनुसार अहिले सहरी विकास मन्त्रालयले एउटा समिति बनाएर विवरण संकलन थालिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए ।
‘अहिले कुन-कुन संरचनामा क्षति पुग्यो भन्ने मात्रै विवरण हामीसँग छ । तर के कति क्षति भयो यकिन तथ्यांक संकलन भएको छैन । एउटा समिति बनाएर विवरण संकलन गर्ने तयारी हुँदैछ । त्यसका लागि समय लाग्छ,’ मैनालीले भने, ‘अबको एक सातामा संकलन गरिसक्नुपर्ने हुन्छ ।’
क्षतिग्रस्त भवन पुनर्निमाण सम्भव छ ?
क्षतिग्रस्त संरचनाको विवरण त संकलन होला तर यसपछि ती भवन कस्तो अवस्थामा छन्, प्रयोग गर्न मिल्ने या नमिल्ने, पुनर्निर्माण गरेर मात्र पुग्छ कि भत्काएर नयाँ बनाउनुपर्ने भन्ने आम जनचासोको विषय बनेको छ ।
आगोले जलेका भवनहरू के कसरी प्रयोग गर्न मिल्छ ? पुनर्निर्माण कति सम्भव छ भन्नेबारे अध्ययन/परीक्षण गरेर मात्र थाहा हुने डिजास्टर रिस्क इन्जिनियर माधव पोखरेल बताउँछन् ।
_DHAQfk7Vb8.jpg)
पोखरेलका अनुसार बाहिरबाट हेर्दा अधिकांश भवन जलेको अवस्थामा भए पनि कङ्क्रिटको संरचना यथावत् रहेकाले तत्कालै सबै भत्काउनुपर्ने अवस्था छैन । यी संरचना पुन: प्रयोगमा ल्याउन रेट्रोफिट गर्न सकिन्छ । त्यसका लागि परीक्षण गर्न आवश्यक छ ।
‘अहिले देशैभरि जलेका जति पनि बिल्डिङहरू छन्, सरसर्ती हेर्दा कतिपयमा सिसा मात्रै फुटेको, बाहिरी भाग जलेको, कतिपय पूर्ण रुपमा जलेर क्षति पुगेको छ । तर भित्र स्ट्रेन्थ के छ भन्ने परीक्षणपछि मात्रै थाहा हुन्छ,’ मैनालीले भने, ‘हेर्दा उस्तै देखिए पनि त्यसले भार वहन गर्न सक्छ कि सक्दैन भन्ने कुरा परीक्षणविना भन्न सकिँदैन ।’ त्यसैले कुनै पनि संरचनालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ वा सकिँदैन भनेर पत्ता लगाउन विस्तृत परीक्षण अनिवार्य रहेको उनको भनाइ छ ।
_XlvsAJSnon.jpg)
आगो लागेका सबै संरचना भत्काउनैपर्ने अवस्थाका छैनन् । त्यसलाई रेट्रोफिट गर्न सकिने वा नसकिने, रेट्रोफिट गर्नलाई कुन लेबलको गर्ने भन्ने कुरा पत्ता लगाउन यो परीक्षण नै आवश्यक छ ।
‘जसरी हामीले मान्छे बिरामी भइसकेपछि नाकमा समस्या हो कि कानमा, आँखामा, खुट्टामा, कलेजोमा, मुटुमा, फोक्सोमा के हो भनेर निर्क्योल गर्न एक्सरे, भिडियो एक्सरे, एमआरआई विविध गर्छौँ र कहाँ समस्या छ पत्ता लगाउँछौं,’ पोखरेलले भने, ‘त्यसरी नै बिल्डिङको पनि हरेक इलिमेन्टको परीक्षण गरिसकेपछि केमा समस्या छ, केमा छैन भनेर पत्ता लाग्छ ।’
कस्तो परीक्षण गर्ने ?
इन्जिनियर पोखरेलका अनुसार कंक्रिटको संरचनाको अवस्था थाहा पाउन स्मिथ ह्यामर टेस्ट एउटा विकल्प हो । ‘यसले कंक्रिटको स्ट्रेन्थ दिन्छ तर कंक्रिटलाई डिस्ट्रक्ट नगरिकन । अर्थात् नभत्काइकन, जसलाई नन–डिस्ट्रक्टिभ टेस्ट गरेर कंक्रीटको स्ट्रेन्थ निकाल्न सकिन्छ,’ उनी भन्छन्, ‘कंक्रिटको भित्र भोइड्स (खाली ठाउँ) छ कि छैन, त्यसको इन्टिग्रिटी के छ भनेर हेर्नलाई अल्ट्रासोनिक पल्स भेलोसिटी भन्ने इक्विपमेन्ट हुन्छ । यसलाई प्रयोग गरेर कंक्रीटको क्वालिटी, बिल्डिङलाई क्षति नपुर्याई लिन सकिन्छ ।‘
क्षतिग्रस्त भवनको भित्ताको ‘स्ट्रेन्थ’को विषयमा पनि तीन–चारवटा टेस्ट हुन्छन् । स्ट्रेन्थ ठिक भएपनि बोन्डिङ टुट्यो कि टुटेन भन्ने महत्त्वपूर्ण हुन्छ । ‘आगलागी हुँदा धेरै हिट उत्पन्न भएको हुन्छ । त्यसले गर्दा बोन्डिङ टुट्यो कि टुटेन भनेर हेर्न पुस सेयर टेस्ट गर्न सक्छौँ,’ पोखरेलले भने, ‘यसले ब्रिक र मोटारको जोइन्टमा हुनुपर्ने स्ट्रेन्थ छ कि छैन भनेर कन्फर्म गर्छ । हामीलाई चाहिने कति हो र आएको कति हो भन्ने कोडसँग कम्पियर गरेर चेक गर्न सकिन्छ ।‘

समग्रमा वालले भार वहन गर्न सक्छ कि सक्दैन भनेर हेर्न ‘फ्ल्याट ज्याक टेस्ट’ गर्नुपर्ने उनको भनाइ छ । डन्डीमा लागेको खियाको मात्रालाई हेरेर पनि कंक्रिटको स्ट्रेन्थ नाप्न सकिन्छ । डन्डीलाई अलिकति कंक्रिट फोडेर थोरै निकालेपछि दुई ठाउँबाट प्रोबले छोएर खिया कति लागेको छ र प्रयोग गर्न सकिने अवस्थामा छ कि छैन भन्ने देखाउँछ । सिंहदरबार र सडक विभागजस्ता पुराना संरचनामा काठको प्रयोग धेरै भएको छ । ती कार्यालयमा भूकम्पले क्षति गरेको बेला रेट्रोफिट भइसकेको थियो । रेट्रोफिट भइसकेपछि फेरि आगलागी भयो ।
‘जलेको काठ कस्तो अवस्थामा छ, जलेको छैन वा कम जलेको छ, त्यो काठ प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्ने डिसाइड गर्न त्यहाँको स्याम्पल ल्याएर नमुना परीक्षण गर्नुपर्छ,’ पोखरेलले भने, ‘त्यसमा काठको कम्प्रेसिभ स्ट्रेन्थ, टेन्साइल स्ट्रेन्थ र फ्लेक्सिबल स्ट्रेन्थ हुनुपर्ने जति छ कि छैन भनेर जाँच गरिन्छ । यी तीनवटै टेस्ट ल्याबमा गर्न सकिन्छ ।‘
खर्च के कति लाग्छ ?
इन्जिनियर पोखरेलका अनुसार परीक्षणको नतिजा र क्षतिको स्तर (सिभियर, मिडियम वा नर्मल) हेरेर मात्रै पुनर्निर्माणको निर्णय र अनुमानित खर्च निर्धारण गर्न सकिन्छ । धेरै संरचनालाई सामान्य मर्मत वा रेट्रोफिट गरेर जोगाउन सकिने उनको भनाइ छ । पूर्णरूपमा भत्काउनुपर्ने संरचनाको संख्या कम हुने उनको विश्वास छ ।
‘रेट्रोफिट गर्दा रेन्जेजमा माइनर फायर ड्यामेज छ, सर्फेस क्र्याक छ, प्लास्टर फिनिस ड्यामेज छ भने त्यो बिल्डिङमा लाग्ने लागतको १० देखि २० प्रतिशतमा बन्छ,’ पोखरेलले भने, ‘मोडरेट फायर ड्यामेज छ । कोलम्स (पिलर) बिम्स (दलिन) पार्सेल्ली एफेक्टेड छ, तर स्ट्रक्चर स्टेबल छ भने २५ देखि ४० प्रतिशत लागत लाग्छ ।‘ उनका अनुसार सिभियर फायर ड्यामेजका कारण कुनै भाग हटाउनुपर्ने भएमा ५० देखि ७० प्रतिशत खर्च लाग्छ ।
‘एक्सटेन्सिभ क्रिटिकल ड्यामेज छ, लस अफ स्ट्याबिलिटी त्यो स्टेबल नै छैन, अनसेफ फर अकुपेन्सी त्यहाँ चाहिँ बस्नै नसक्ने अवस्था छ भने ७० प्रतिशतभन्दा बढी लाग्छ,’ पोखरेलले भने । रेट्रोफिटिङ गरेर बनेको संरचना नयाँ संरचना जत्तिकै बलियो र टिकाउ हुने उनले बताए ।
प्रतिक्रिया