बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

ए डिभिजन लिग हुनेमा ढुक्क छैनन् क्लब

शनिबार, ०४ असोज २०८२, १५ : ४८
शनिबार, ०४ असोज २०८२

सारांश

  • एन्फाले पुस ९ गतेबाट ए डिभिजन लिग सुरु गर्ने योजना बनाएको छ, तर क्लबहरू लिग हुनेमा ढुक्क छैनन्।
  • एन्फाले 'होम एण्ड अवे' अवधारणामा लिग गर्न खोज्दा क्लब र रंगशालाको मापदण्डमा समस्या देखिएको छ।
  • क्लबहरूले एन्फाको तयारी नपुगेको र बैठक स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्, तर एन्फाले समयमै लिग हुने दाबी गरेको छ।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस ९ गतेबाट सहिद स्मारक ए डिभिजन लिग गर्ने योजना बनाएको छ । एन्फाको क्यालेन्डरमा पुस १ गतेबाट लिग सञ्चालन गर्ने कार्यतालिका थियो । आठ दिनपछि समय सारे पनि ए डिभिजन क्लबहरू लिग हुनेमा ढुक्क देखिँदैनन् ।  

पहिलोपटक ‘होम एण्ड अवे’ अवधारणामा लिग गर्न लागेको एन्फाले भदौ ३१ गते हुने भनिएको ए डिभिजन लिग क्लबसँगको बैठक समेत स्थगित गर्‍यो । एन्फाले ‘होम एण्ड अवे’ खेल गराउन सामान्य मापदण्ड पुगेका रङ्गशालाहरूमा खेल गराउने योजना बनाएको थियो । ‘होम एन्ड अवे’ भन्नाले आफ्नो टोलीको घरेलु मैदान र अर्को टोलीको मैदानमा गएर खेल्ने अवधारणा हो । 

उक्त योजनामा रङ्गशाला भएको जिल्ला र प्रदेशले सहमति जनाएपनि क्लबहरूले भने त्यसको खुलेर समर्थन गरेका छैनन् । नेपालमा हाल एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने क्लब धेरै छैनन् । नेपालका तीन विभागीय टोलीले आफ्नो रङ्गशाला देखाएर लाइसेन्स लिएका छन् । विभागीय बाहेकका चर्च ब्वाइज, न्युरोड टिम (एनआरटी) र संकटाले एएफसी क्लब लाइसेन्स लिएका छन् । 

एएफसीको क्लब लाइसेन्स लिएका क्लबहरूले प्रत्येक वर्ष लाइसेन्स रिन्यू गर्नुपर्ने हुन्छ । त्यसका लागि भने नेपाली क्लबहरूले विभिन्न मापदण्ड नपुगेर लाइसेन्स रिन्यू गर्न सकेका हुँदैनन् । 

तर विभागीय टोलीको हिसाबमा लाइसेन्स रिन्यू गरेको रेकर्ड छ । अब ए डिभिजन लिगका आठ टोलीले आफ्नो घरेलु मैदान खोज्नुपर्ने अवस्था छ । जसका लागि अहिले एन्फाले जिल्ला र प्रदेश संघलाई जिम्मेवारी दिएको छ । एन्फाले नेपालका विभिन्न जिल्लामा भएका तथा न्यूनतम मापदण्ड पूरा गरेका रंगशालालाई क्लब घरेलु मैदान बनाउन दिने योजना बनाएको छ । उक्त कार्य भने प्राविधिक रुपमा सफल हुने देखिँदैन । 

ए डिभिजन लिगका धेरैजसो क्लब काठमाडौँ उपत्यकाका छन् । ती क्लबलाई काठमाडौँ बाहिर खेल्न पठाएर माहोल बनाउन लगाउने एन्फाको योजना छ । सामान्यतया अन्तर्राष्ट्रियस्तरमा भइरहेको क्रियाकलापलाई हेर्दा जुन स्थानको क्लब हो, सोही स्थानमा घरेलु मैदान हुँदा अपनत्वको अनुभव हुने र टिमलाई घरेलु दर्शकले पनि सहयोग गर्ने परिपाटी हुन्छ । 

A division league 1

राजधानीमा बसेर आफूलाई अब्बल सावित गरेर बसेका क्लबलाई काठमाडौँ बाहिर प्रतियोगिता खेल्न पठाउने एन्फाको योजना छ । हाल राजधानी बाहिर एएफसीको सामान्य मापदण्ड पुग्ने मात्र चार रङ्गशाला छन्, जसमा पोखरा रङ्गशाला, विराटनगरको शहीद रङ्गशाला, नेपालगञ्ज रङ्गशाला र सुर्खेतको कर्णाली रङ्गशाला मात्र एएफसीले दिएको मापडण्डको केही पूरा गर्न सक्ने अवस्थामा छन् । 

तर अहिले एन्फालाई चाहिएको भनेको ११ वटा रङ्गशाला हो । जसअनुसार एन्फाले विभिन्न रङ्गशाला भएका जिल्ला तथा प्रदेशका स्टेकहोल्डरहरूसँग एक चरणको छलफल पनि गरिसकेको छ । तर दोस्रो चरणको छलफल स्थगित गर्दा एन्फाले जेनजी आन्दोलनलाई कारण देखाएको छ । अब एन्फा र ए डिभिजन लिग क्लबको बैठक कहिले हुने भन्ने कुरामा अन्योल छ । 

लिग हुनेमा ढुक्क छैनन् क्लब

एन्फाले ए डिभिजन लिग क्लबसँगको बैठक रोक्दा नै लिग समयमा नै हुने विषयमा धेरैले शंका गरे । त्यसमा ए डिभिजन लिग क्लबले अब एन्फाले लिग सार्ने कुरामा ढुक्क छन् । 

ए डिभिजन लिग क्लब सातदोबाटोका अध्यक्ष कपिल राना मगरले प्रतियोगिता गर्न लामो समयको प्लान बनाएर जानुपर्ने बताए । एन्फाले ‘होम एण्ड अवे’ को अवधारणा लिँदा नै प्रतियोगिता गर्न सकिने वा नसकिने विषयमा सोच्नुपर्ने बताए । 

‘एन्फाले ‘होम एण्ड अवे’ मा लिग गर्ने योजना बनाएको छ, यो सकारात्मक पनि हो । तर त्यसका लागि कुनै तयारी नै नगरेर हचुवाको भरमा स्टन्ट गर्दा धेरै असहज हुन्छ । तयारी कसरी गर्ने, कुन रङ्गशाला क्लबलाई दिने भन्ने कुरा पनि अहिलेसम्म फाइनल भएको छैन,’ मगरले रातोपाटीसँग भने । 

यता फ्रेन्ड्स क्लबले पनि लिग गर्ने विषयमा एन्फा त्यति सकारात्मक नदेख्दा दुःख लागेको बताएको छ । क्लबका अध्यक्ष विश्वासविक्रम शाहले क्लबमा लगानी गरेको लामो समय हुँदा पनि लिग खेल्न नपाउँदा नराम्रो लागेको बताए । एन्फाले अहिले विना तयारी लिग गर्ने सोच बनाएको र त्यसलाई छिट्टै सार्ने संकेत देखिएको उनको भनाइ छ ।  

‘हचुवाको भरमा लिग गर्छु भनेर हुँदैन । लिग गर्नका लागि तयारी चाहिन्छ । अझ ‘होम एण्ड अवे’ मा लिग गर्ने योजना छ । त्यसका लागि न क्लबसँग समन्वय छ न त एन्फा नै तयार छ,’ शाहले भने । 

एन्फा भन्छ- समयमै लिग हुन्छ 

लिगका लागि थोरै तयारी गरेको एन्फाले समयमै प्रतियोगिता गर्न सकिने बताएको छ । लिगका लागि ए डिभिजन क्लबलाई पत्र काटेर बोलाएको एन्फाले अन्तिम समयमा बैठक नै स्थगित गर्न पुगेको थियो । 

A division league 2

पुस ९ गतेदेखि ‘होम एण्ड अवे’ मा लिग गर्ने भनेको एन्फाले हालसम्म क्लबहरूलाई उनीहरूको घरेलु मैदान पनि देखाएको छैन । अझ रङ्गशाला भएको स्थानका सरोकारवालाहरूसँग पनि एन्फाले समन्वय गरेको छैन । लिग हुने मिति नजिकिँदै गर्दा आन्तरिक तयारी राम्रो भएको र लिग समयमै गर्न सकिने एन्फाको दाबी छ । 

जसका लागि एन्फाले दसैंपछि पुन: ए डिभिजन लिग क्लबसँग बैठक बसाल्ने योजना बनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले लिग समयमै गर्न एन्फाले तयारी गरिरहेको बताए । शाहले गत मंगलबारको बैठक स्थगित हुँदा लिग नै सर्ने भन्ने कुरा अपाच्य भएको बताए । 

‘प्राविधिक कारणले अन्तिम समयमा आएर ए डिभिजन लिग क्लबसँगको बैठक स्थगित गर्नु परेको थियो । बैठक चाँडै बस्नेछ,’ उनले भने, ‘क्लबहरूसँगको बैठक जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक भएको दिन भएकाले स्थगित भएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप