वीरगन्ज महानगरपालिकाले बजेट संशोधन गरेर पुनःनिर्माणतर्फ खर्च गर्ने
सारांश
- वीरगन्ज महानगरपालिकाले आगजनीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट संशोधन गरेको छ।
- विशेष नगर सभाले चालु आर्थिक वर्षको बजेट पुनःनिर्माणमा खर्च गर्ने निर्णय पारित गरेको हो।
- आन्दोलनमा मारिएका युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ दिने प्रस्ताव पनि पारित भयो।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा)ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
गत भदौ २४ गते सचेत युवाहरू (जेनजी)ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेको थियो । नगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो ।
विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेस गरेका थिए । महानगरको १७औं नगर परिषद्ले यसअघि आर्थिक वर्ष २०८२–८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।
यसरी संशोधनपश्चात करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ । संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ ।
त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका वडा नं। १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ । यसरी संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनर्स्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण