शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीमा आगजनी र तोडफोडबाट भएको क्षतिको प्राविधिक अध्ययन सुरु

शनिबार, ०४ असोज २०८२, १५ : ०५
शनिबार, ०४ असोज २०८२

सारांश

  • गण्डकीमा जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचनाहरूको प्राविधिक मूल्याङ्कन सुरु भएको छ।
  • नेपाल इन्जिनियर्स एसोसिएसनले स्थलगत निरीक्षण गरी क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ।
  • मर्मत सम्भारबाट काम चल्ने भवनमा तत्कालै मर्मतको काम थाल्ने योजना रहेको छ।

पोखरा । जेनजी आन्दोलनका क्रममा गण्डकीमा क्षतिग्रस्त भएका संरचनाहरूको प्राविधिक मूल्याङ्कनकाे काम सुरु भएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले ‘र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट’ अभियान अन्तर्गत सरकारी कार्यालय तथा सार्वजनिक भवनहरूको स्थलगत निरीक्षण गरी क्षतिको तथ्याङ्क सङ्कलन थालेको हो ।

प्राविधिकहरू सहितको सहभागितामा सङ्कलन गरिएको विवरणबाट पुनःनिर्माण, मर्मत सम्भार र जोखिम न्यूनीकरण गर्न प्रयोग हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मूल्याङ्कनका लागि इन्जिनियरहरूको ६ वटा समूह गठन गरिएको छ । उक्त समूहले गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, निर्देशनालय, विश्वविद्यालय र अन्य सरकारी निकायहरूको निरीक्षण गर्नेछन् ।

प्रत्येक समूहमा एक जना स्ट्रक्चरल इन्जिनियरको नेतृत्वमा इन्जिनियरहरू सदस्य बनाएर खटाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, सामाजिक  विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, यातायात व्यवस्था कार्यालय, प्रदेश प्रमुखको कार्यालय, आर्थिक मामिला मन्त्रालय लगायतका महत्त्वपूर्ण संरचनाहरूको क्षति मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले क्षतिको मूल्याङ्कन गराउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयलाई दिइएको जिम्मेवारी नेपाल इन्जिनियर्स एसाेसियसनको सहयोगमा पूरा गर्नुपर्ने सर्त थियो । 

आइतबारसम्म सबै रिपोर्ट तयार भइसक्ने अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.टकराज गुरुङले जानकारी दिए । उनका अनुसार, मर्मत सम्भारबाट काम चल्ने भवनमा तत्कालै मर्मतको काम थाल्ने योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप