बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रस्रव

रानी ऐश्वर्यले मनपर्ने साथीको नाम लिएकी थिइन्— मन्जु काँचुली

शनिबार, ०४ असोज २०८२, १९ : ००
शनिबार, ०४ असोज २०८२

सारांश

  • साहित्यकार मन्जु काँचुलीको जीवन र साहित्यिक यात्राबारे जानकारी दिइएको छ, जसमा उनको बाल्यकाल, कृति र प्रेरणाको कुराहरू समेटिएका छन्।
  • लेखक मन्जुको बाल्यकाल प्रसिद्ध साहित्यकार भीमनिधि तिवारीको घरमा बितेको थियो, र उनले बाल्यकालमै साहित्यमा रुचि देखाएकी थिइन्।
  • मन्जुले आफ्नो जीवनमा शिक्षा, साहित्य र सामाजिक कार्यमा योगदान पुर्‍याएकी छिन्, र उनलाई लेखनमा निरन्तरता दिन परिवार र समाजले प्रेरित गरेको छ।

‘पहिला पहिला निद्रा नलाग्दा उठेर पढ्थेँ तर अचेल मलाई मोबाइलले अलि बरालेको छ । निद्रा लाग्दैन, उठेर किताब पढ्नुभन्दा पनि मोबाइल चलाउन मन लाग्छ,’ साहित्यकार मन्जु काँचुली आफ्नो दिनचर्या बताउँछिन्, ‘पहिलेजस्तो त किताब पढ्दिनँ, अलिअलि पढ्छु, अंग्रेजी र नेपाली दुवै भाषामा लेख्छु । बिहान उठेर जप गर्छु । टीभीमा गीतहरू सुन्छु । अबिर–फूल राखेर पूजा गर्दिनँ, घण्टी हल्लाउँदिनँ । मनले भगवानलाई सम्झिन्छु ।’ 

साहित्यकार मन्जु काँचुलीका डेढ दर्जन कृति प्रकाशित छन्— सातवटा कविता संग्रह, ६ वटा कथा संग्रह, एउटा नाटक संग्रह, संयुक्त उपन्यास दुईवटा आदि ।    

अचेल उनी मोबाइलमा बढी बरालिए पनि बाल्यकालमा उनी बरालिने एउटा सुन्दर घर र बगैँचा थियो । त्यो पुरानो परम्परागत शैलीको भीमकाय घरमा देश–विदेशका साहित्यकारको जमघट भइरहन्थ्यो अर्थात् त्यो घर प्रसिद्ध साहित्यकार भीमनिधि तिवारी (वि.सं. १९६८–२०३०) को थियो । 

तिवारी फूलका सोखिन थिए । उनका लागि ‘जेरेनियम’ फूल विशेष प्रिय थियो, जहाँ देखे पनि उनले त्यसको हाँगा मागेर ल्याउँथे, घरमा सार्नका लागि । घरमा फूल सार्न र फूलमा पानी हाल्न उनकी कान्छी छोरी मन्जुले औधि रुचि देखाउँथिन् । 

कुनै न कुनै रूपमा प्रकृतिसँग नजोडिईकन कोही कवि तथा साहित्यकार हुन सक्दैन र सायद मन्जु भन्छिन्, ‘फूल र बगैँचा मन पराउने बुवाको स्वभाव र बगैँचाको स्याहार गर्ने मेरो रुचिले पनि मलाई प्रकृतिसँग नजिक बनायो कि !’ 

एकपटक मन्जुले बगैँचामा सर्पको काँचुली भेटाइन् र अनौठो मानेर पितालाई देखाइन् । त्यस दिनदेखि भीमनिधिले मन्जुलाई मायाले बोलाउँदा ‘काँचुली’ भन्न थाले । मन्जुले पिताले दिएको दुवै नामलाई जोडेर कृति प्रकाशन गर्न थालेको २८ वर्षको उमेर (२०३२ साल) देखि हो, जति बेला उनको पिताको निधन भइसकेको थियो । 

उसो त उनले पितालार्ई आफ्नो प्रतिभा १३ वर्षकै उमेरमा देखाएकी थिइन् । उनको पहिलो कविता २०१७ सालमा भानु पत्रिकामा छापिएको थियो, जुन कविताबाट उनले सोही वर्ष ‘लक्ष्मी पदक’ समेत पाएकी थिइन् ।  

मन्जुले सात वर्षको उमेरदेखि नै दिदीको देखासिकीमा कविता लेख्न थालेकी हुन् । आफ्नै टोलमा सरस्वती पूजाको अवसरमा भइरहेको साहित्यिक कार्यक्रममा वाचन गर्न उनकी दिदी (बेन्जु शर्मा)ले एउटा कविता तयार पारेकी थिइन् । दिदीकै सिको गरेर मन्जुले पनि जानीनजानी कविता कोरिन् र त्यस कार्यक्रममा वाचन गरिन् । 

त्यस कवि गोष्ठीका प्रमुख अतिथि प्रसिद्ध कवि लेखनाथ पौड्याल थिए । बेन्जु र मन्जुको कविता सुनेपछि पौड्यालले उनीहरूबारे सोधीखोजी गरे । भीमनिधि तिवारीका छोरीहरू भन्ने थाहा पाएर हर्षित भएका पौड्यालले यति मात्रै भने, ‘लेख्दै जाउ है, लेख्न नछाड्नु ।’

त्यहाँ मन्जु र बेन्जुको कविता सुनेका कवि धरणीधर कोइरालाले पछि घरमा आउँदा उनीहरूका लागि केही पुस्तक ल्याइदिएका थिए ।

मन्जुका पितापुर्खा काठमाडौँको डिल्लीबजार चारखालका जमिनदार थिए । डिल्लीबजारमा मन्जुका हजुरबुवाले बनाएको पुरानो ठुलो घरलाई ९० सालको भुँइचालोले अलिकति क्षति गरेको थियो । बलियो, ठुलो र राम्रो हँुदाहुँदै त्यसलाई घरलाई भत्काएर अर्को तीनतले घर बनाउने परिस्थिति सिर्जना भयो । मन्जुकी हजुरआमाको देउरानीसँग खटपट रहेछ । त्यही खटपटका बिचमा त्यो घर भत्काएर तीनतले घर बनाइयो । त्यही घरको आँगनमा अरु दुई भाइ सँगसँगै हुर्किए बेन्जु र मन्जु ।

वीरेन्द्रसँग बिहे भएपछि मन्जुका कैयौँ साथी ऐश्वर्यलाई भेट्न गए तर मन्जु गइनन् । ‘खै किन हो, मलाई जानुपर्छ भन्ने सोचै आएन । त्यस्तो राम्रो साथी थियौँ, जानुपर्थ्यो नि है ?’ ऐश्वर्यलाई भेट्न नगएकामा यतिखेर मन्जुलाई थकथकी रहेछ । 

‘हाम्रो घरमा बुवालाई भेट्न पाकिस्तानका पनि साहित्यकार आउँथे कि जस्तो लाग्छ, तर बिर्सें । जेहोस् हाम्रो घर–आँगनमा गजबको साहित्यिक माहोल जम्थ्यो । हामी त केटाकेटी नै थियौँ, बोल्ने कुरा हुँदैनथ्यो । दिदी र मैले लुकिछिपी ती साहित्यिक छलफल हेर्ने–सुन्ने गथ्र्यौं,’ मन्जु आफ्नो गर्बिलो बाल्यकालतिर फर्कन्छिन् ।

पढाइमा दुवै दिदीबहिनी निकै अब्बल थिए । मञ्जु क्लिनिकल साइकोलोजीकी विद्यार्थी थिइन् । पछि मन्जुले भारतको इलाहाबाद युनिभर्सिटीबाट सितारवादनमा ग्राजुयसन समेत गरिन् । त्यसपछि १४ वर्षसम्म ललितपुरमा एउटा निजी क्याम्पसमा पढाइन् । त्यसपछि अन्तर्राष्ट्रिय संस्था अन्तर्गतका विभिन्न प्रोजेक्टहरूमा लामो समय काम गरिन् र यतिखेर घरमै लेखपढमा रमाउँछिन् ।

मन्जुलाई शिक्षा र साहित्यतर्फ प्रेरित गर्न पितापुर्खाको विरासत नै प्रमुख थियो । पिताकी काकी नन्दकुमारी बालविधवा थिइन्, अध्ययनमा उनको निकै रुचि थियो । उनी सुत्ने कोठा मोटामोटा पुस्तकले भरिएको हुन्थ्यो । धर्मकर्ममा पनि उनको निकै रुचि थियो । उनीकहाँ ब्राह्मण चेलीहरू पढ्नका लागि आउँथे । उनकै छत्रछायामा सारा तिवारी परिवार रहेको थियो । अनुशासनमा निकै कडाइ गर्ने ती हजुरआमासँग बेन्जु र मञ्जु निकै डराउँथे । बेन्जु र मन्जु तिनै हजुरआमाको कोठामा सुत्थे । अक्षर चिन्ने भएसँगै दुवैले त्यस कोठामा राखिएका पुस्तक पढ्न थाले । सानैदेखि मन्जुले आफ्नो पिताका रचना पढेकी हुन् । 

पिताको नाटक ‘सिद्धार्थ गौतम’ (२०१३) मञ्चन हुँदा उनी पितासँगै नाटक हेर्न गएकी थिइन् । पिताले आफ्ना प्रायः रचना पहिले घरमा आमालाई सुनाउँथे । यो सबै देख्दै–भोग्दै हुर्केकी मन्जु सानैदेखि पढ्न र लेख्नमा आकृष्ट हुँदै आइन् । 

भीमनिधिले मन्जुलाई काठमाडौँकै बोर्डिङ स्कुलमा राखेर पढाएका थिए । एक दिन बिदामा घरमा आएपछि मन्जुले रोएर बोर्डिङ स्कुल जानै मानिनन् । बिच सेसनमा कसैले भर्ना लिँदैनथ्यो । त्यतिबेला काठमाडौँमा तीन वर्षे, पाँच वर्षे एडल्ट स्कुल खुलेका थिए । भीमनिधिले मञ्जुलाई त्यही एडल्ट स्कुलबाट जाँच दिन लगाए । यो २०१८ सालको कुरा हो, जति बेला मन्जु १३ वर्षकी थिइन् । १६ वर्ष नभईकन एसएलसीको जाँच दिन पाइँदैनथ्यो । हेडमास्टरले उनको उमेर बढाएर १६ वर्ष लेखिदिएपछि उनले परीक्षा दिन पाइन् । 

ऐश्वर्य साथी

त्यसपछि उनले पद्मकन्या क्याम्पसमा आईए पढिन् । त्यहाँ दुई वर्ष पढ्दाखेरि ऐश्वर्य राणा मञ्जुकी साथी थिइन् । दुवै एउटै बेन्चमा बस्थे । दुवैको स्वभाव अलि कम बोल्ने थियो, पछि ऐश्वर्यको बिहे राजा वीरेन्द्रसँग भयो । एउटा अन्तर्वार्तामा रानी ऐश्वर्यलाई मन पर्ने साथीका बारेमा सोधिएको थियो । त्यतिबेला उनले ‘मञ्जु तिवारी’ भनेर आफ्नो नाम लिएको पनि मन्जु सुनाउँछिन् । 

वीरेन्द्रसँग बिहे भएपछि मन्जुका कैयौँ साथी ऐश्वर्यलाई भेट्न गए तर मन्जु गइनन् । ‘खै किन हो, मलाई जानुपर्छ भन्ने सोचै आएन । त्यस्तो राम्रो साथी थियौँ, जानुपर्थ्यो नि है ?’ ऐश्वर्यलाई भेट्न नगएकामा यतिखेर मन्जुलाई थकथकी रहेछ । जागिर, घर–व्यवहार आदिले उनलाई फुर्सद मिलेको थिएन । पछि भेटौँला भन्ने त थियो, तर क्रूर समयले रानी ऐश्वर्यलाई चुँडिहाल्यो ।

स्कुलमा पढ्दाताका पढाइमा मञ्जु ठिकठिकै थिइन् तर पद्मकन्यामा आईए पढ्दा मञ्जुले कलेज टप गरिन् । ब्याचलर पढ्ने बेलामा उनले दुई वर्षको स्कलरसिप समेत पाइन् । आईएमा कलेज टप गरेको सुनाउँदा उनलाई बुवाले अचम्म मानेर हेरेका थिए । ‘बुवाले त्यसरी हेरेको क्षण सम्झेर अहिले पनि खुसी हुन्छु,’ मन्जु भन्छिन्, ‘बुवाले र घर–परिवारले छोरा र छोरीको भेदभाव कहिल्यै गर्नुभएन, शिक्षादीक्षा दिनुभयो । घरभरि काम गर्ने मान्छे थिए, भात पकाउने छुट्टै थिए, भाँडा माझ्नै अरु नै राखिएको थियो । तेल लगाउने मान्छे पनि छुट्टै आउँथे । त्यसैले घरको काममा हातै हाल्नुपरेन ।’ 

मञ्जुकी आमा भुवनेश्वरी शिक्षिका र चित्रकार थिइन् । स्नातक त यी आमाछोरीले सँगसँगै गरेका थिए । उनी र भुवनेश्वरी कलेजका लागि घरबाट सँगसँगै निस्कन्थे, तर कलेज फरक थियो । भीमनिधिले पनि छोरीहरूको पढाइमा विशेष चासो राख्थे । उसो त ठुली छोरी बेन्जुसँगै हो, भीमनिधिले आईए गरेको । 

यद्यपि छोरीहरूले उच्च शिक्षा पढिरहँदा समेत भीमनिधिले चासो राखिरहन्थे । हरेक साँझ छोरीहरूलाई आफ्ना अघिल्तिर राखेर उनले पढाइ के कस्तो चल्दै छ भनी सोध्थे ।

मन्जुकी आमालाई पनि फूल र बगैँचाको निकै सोख थियो । बगैँचामा बसेर उनले चित्र कोर्थिन् । आमाले कोरेका चित्रहरू सुरक्षित राख्न नसकेकामा मन्जुलाई पछुतो छ । २०७२ सालमा ८८ वर्षको उमेरमा उनकी आमाको निधन भएको हो । ‘आमाले पनि केही कथाहरू हातैले लेखेर राख्नुभएको थियो । ती पाण्डुलिपि पनि हामीले सुरक्षित राख्न सकेनौँ,’ मन्जु भन्छिन्, ‘गोरखापत्रमा उहाँका चार–पाँचवटा कथा छापिएका छन् तर कुन मितिमा भन्ने थाहा छैन ।’ 

यो कुरा राजालाई भनिदिनु...

कविता लेख्दै आएकी मन्जुका निम्ति कथा लेख्ने तानाबाना मिलेको थिएन । १६–१७ वर्षको उमेरमा उनी आफ्नै देशभित्र अर्को देशजस्तो लाग्ने एउटा गाउँमा पुगिन् र त्यहाँ एउटा कथा भेटिन् ।

२०२०–२२ सालतिरको कुरा हो, समाज सेवाको अभियान अन्तर्गत पद्मकन्या, त्रिचन्द्र र शंकरदेव कलेजका विद्यार्थीको साथ लागेर मञ्जु रुपन्देहीको खुनगाउँ पुगेकी थिइन् । मञ्जुको टोलीकी नाइके थिइन्, सहाना प्रधान । 

कहिल्यै काठमाडौँ उपत्यकाको घेरो नाघेर बाहिर नगएकी मञ्जु जब खुनगाउँ पुगिन्, त्यहाँ आफू बास बसेको घर (चौधरी/जमिनदार)मा महिलाको दयनीय अवस्था देखिन् । त्यो घरमा महिलालाई बन्धक बनाएर राखिएको थियो । ती महिलालाई बाहिरबाट गएका महिलाले पनि सहजै भेट्न पाउँदैनथे । जमिनदारलाई अनुनय–विनय गरेपछि मञ्जुले ती घरका महिलालाई भेट्न पाएकी थिइन् । यसै क्रममा एक युवतीको कारुणिक अनुनयले मञ्जुलाई कथा लेख्न झकझकायो । 

ती थारु युवतीले भनेकी थिइन्— हामी यहाँ घरभित्र थुनिएर बस्नुपरेको छ । यो कुरा राजालाई गएर भनिदिनु ।

काठमाडौँ फर्केपछि कैयौँ दिनसम्म मञ्जुलाई ती युवतीको आवाज र आँखाले झस्काइरहे । अनि उनले कथा लेखिन्— ‘भुतभुते आगो’ शीर्षकको । सोही साल कस्तुरी पत्रिकामा उनको यो कथा छापियो । सुरुमा त मञ्जुले आफ्ना सिर्जना मातापिता कसैलाई देखाउँदिनथिन् । पत्रिकामा छापिएपछि मात्रै घरमा बुवाआमाले पढ्थे । 

यसरी पत्रपत्रिकामा फाट्टफुट्ट सिर्जना छाप्दै आएकी मन्जुको २०३२ सालमा आएर मात्र पहिलो कविता संग्रह छापियो, ‘किरणका छालहरू’ । उनको यो पुस्तक तत्कालीन बडामहारानीको संरक्षकत्वमा आयोजित ‘अन्तर्राष्ट्रिय नागरिक वर्ष समिति’ले छापिदिएको थियो । यो कृति आउँदा देशमा पञ्चायती व्यवस्था थियो । त्यसैले इतिहासको एउटा अँध्यारो कालखण्ड यस कवितामा परेको उनी बताउँछिन् ।  

manju-(1)_ztr098Ec11

उसो त उनले २०३२ सालअगावै एउटा संग्रहलाई पुग्ने कविता जम्मा गरेकी थिइन् । ‘पहिले लेखिएको कविता समय बित्दै जाँदा आफैँलाई राम्रो नलाग्ने रहेछ,’ उनी भन्छिन्, ‘अहिले पनि मसँग त्यो पाण्डुलिपि छ ।’ 

२०४५ सालमा मञ्जुको पहिलो कथासंग्रह प्रकाशित भयो । साझा प्रकाशनले छापिदिएको यो कृतिमा १९ वटा कथा छन् । संयुक्त समेत गरेर मञ्जुका २० वटा कृति छापिएका छन् । उनको कृतिमा तारानाथ शर्मा, सिद्धिचरण श्रेष्ठले भूमिका लेखेका छन् । ‘तारानाथ शर्माले त मेरा कवितालाई पारिजातको भन्दा फरक र अझमाथि भन्नुभएको छ,’ मन्जु भन्छिन् । 

मन्जु विवाह गर्दिनँ भनेर बसेकी थिइन् । घर–परिवारको दबाबका कारण उनले २०३७ सालमा बिहे गरिन् । २०४१ सालसम्म उनका दुई छोरा जन्मिए । उनीहरूलाई हुर्काउँदै र जागिर गर्दै उनले साहित्य सिर्जनालाई अगाडि बढाइरहिन् । 

दिनभरि जागिरका सिलसिलामा खट्दा पनि मञ्जुको दिमागमा कथा पाकिरहेका हुन्थे । अनि रातमा त्यसलाई कापीमा उतार्थिन् । कृति छपाउन उनले खासै धामा गर्नुपरेन । मञ्जुले अहिलेसम्म आफ्ना कुनै पनि कृति आफ्नै खर्चमा छापेकी छैनन् । उनका केही कृति साझा प्रकाशनले छापिदिएको छ, केही प्रज्ञा प्रतिष्ठानले । 

लेखनमा लाग्दा घर–परिवारबाट उनलाई कहिल्यै अवरोध भएन । लेख्ने कुरामा श्रीमान्ले उनलाई न हतोत्साहित गरे, न त प्रोत्साहन नै । ‘विरोध नगरेपछि सपोर्ट नै भयो हैन र !’ उनी हाँस्दै भन्छिन् । 

कलेज पढ्दा उनलाई पर्सी बाइस शेलीका कविताले निकै प्रभाव पारे । शेलीका कवितालाई उनले बारम्बार पढिरहिन्थन् । 

मन्जुलाई यो उमेरसम्म लेखनमा केले ऊर्जा दिइरहेको होला ? ‘समाज, यहाँका मानिसहरू, यहाँका घटनाहरू, आफ्नो मनको अन्तर्द्वन्द्व, आदर्श, विचार र भावनाले मलाई लेख्नका लागि झकझकाइरहन्छ,’ उनी सटीक जवाफ दिन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप