शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनुसन्धानविनै तीन निर्दोष छोराहरूलाई कर्तव्य ज्यान मुद्दा लगाएको परिवारको आरोप

शनिबार, ०४ असोज २०८२, १९ : १०
शनिबार, ०४ असोज २०८२

रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीन जना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन् । 

शनिबार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित परिवारका ३ छोरालाई फसाएको आरोप लगाएको हो ।

राजनीतिक पूर्वाग्रह राखेर गाउँकै केही मानिसले आफ्ना तीन छोरामाथि हत्या आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिन लगाएको उनीहरूले त्यहाँ बताए । प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्नुको साटो विभिन्न प्रभावमा मुद्दा दर्ता गरेको कटहरिया–५ की वडा सदस्यसमेत रहेकी पुकारीदेवीले पत्रकार सम्मेलनमा गुनासो गरेकी थिइन् । ‘तीन छोरामाथि एकैपटक कर्तव्य ज्यान मुदा चलाएर प्रहरीले हाम्रो परिवारमाथि ठुलै अन्याय गर्‍यो,’ उनले भनिन् । 

के हो घटना ?

गत साउन १ गते कटहरिया–४ का सञ्जय यादव र विजय यादवले स्थानीय २५ वर्षीय नसिव बैठालाई मोबाइल चोरीको आरोपमा निर्घात कुटपिट गरेका थिए । दुवै दाजुभाइ मिलेर बैठालाई उल्टो पारेर झुण्ड्याएर कुटपिट गरेका थिए । कुटपिटकै क्रममा बैठाले अझै कुटिने डरका कारण छिमेकी २८ वर्षीय गर्भु दास सरभंग र ३० वर्षीय दिपलाल यादवले आफूलाई मोबाइल ल्याउन पठाएको बताएका थिए । त्यसको भोलिपल्ट मोबाइलधनी सञ्जय र विजयले नसिब र गर्भु दासमाथि मोबाइल चोरीको आरोपमा इलाका प्रहरी कार्यालय कटहरियामा ठाडो उजुरी दिएका थिए । 

प्रहरीले निवेदकसहित बैठा र दासलाई राखेर गराएको छलफल पञ्चायतीमा चोरीको आरोप पुष्टि नभएपछि प्रहरीले उनीहरूलाई छाडेको थियो । तर चोरी भएको मोबाइल पछि सञ्जय–विजयकै घरमा फेला परेको थियो ।

यसबिच आरोपी बैठाका पिता बुटाईको कालगतिले निधन भएपछि नसिव किरियापुत्री बसेका थिए । मदिरा खाइरहने बानी भएका बैठालाई १२ दिनको काजकिरियामा स्वास्थ्य अवस्था देखियो । स्वास्थ्य बिग्रिएपछि कटहरिया, गौर हुँदै उनलाई वीरगञ्जसम्म उपचारका लागि लगियो, तर भदौ ११ गते उनको मृत्यु भएको थियो ।

पीडित परिवारका अनुसार नसिवको मृत्यु प्राकृतिक कारणले भए पनि भदौ १० गते गर्भु दासलाई प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्टै मृत्युको सम्पूर्ण दोष उनीमाथि थोपरिदियो । त्यसपछि प्रभु र शम्भुमाथि समेत कर्तव्य ज्यान मुद्दा दर्ता गरियो । 

पीडित परिवारको गुहार

कटहरिया–५ की वडा सदस्यसमेत रहेकी पुकारीदेवी सरभंगले पत्रकार सम्मेलनमा भनिन्, ‘मोबाइल चोरीको घटनामा संलग्नलाई उम्काएर मेरा तीन निर्दोष छोरामाथि किटानी जाहेरी दिन लगाइयो, अनुसन्धानविना नै दलित परिवारलाई उठिबास गराउने नियतले मुद्दा चलाइएको छ, हामीलाई न्याय दिलाइदिन सञ्चारकर्मीहरूलाई बिन्ती गर्दछु ।’

उनीसँगै स्थानीय शंकर साह कलवार, राजकुमार यादव, छोटेलाल साह लगायतले पनि केही व्यक्तिको इसारामा गरुडा प्रहरीले निर्दोष परिवारमाथि ज्यादती गरेको भन्दै सत्यतथ्य उजागर गर्न आग्रह गरेका थिए । 

के भन्छ प्रहरी ? 

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले आरोपको खण्डन गर्दै मोबाइल चोरी प्रकरणमा कुटपिट भएको केही दिनपछि चोरीको आरोप लागेका नसिवको मृत्यु भएको बताए । 
नसिवकी आमा सुनैनादेवीले भदौ १५ गते पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएकी थिइन् । डीएसपी कार्कीले अनुसन्धानलगायत कानुनी प्रक्रिया पूरा गरेर उक्त जाहेरी दर्ता गराएको उल्लेख गरे । भने, ‘मुद्दा दर्ता भइसकेको छ, दोषी वा निर्दोष हुनु अदालतले तोक्छ । अनुसन्धान भइरहेको छ, निर्दोष भए अदालतबाट छुट्नेछन् ।’ 

कसैप्रति आफूले रिस राग नराखेको र आरोपहरू सबै निराधार भएको उनले बताए । 

उक्त घटनामा शिवनाथका छोराहरू सञ्जय, विजय र रामचन्द्र दास सरभंगका छोराहरू गर्भु, प्रभु, शम्भुमाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप