सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको क्रममा भएको आगजनीपछि कृष्णपुर नगरपालिकाको सेवा आंशिक सुरु

आइतबार, ०५ असोज २०८२, ०८ : २९
आइतबार, ०५ असोज २०८२

सारांश

  • कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयले आंशिक सेवा सुरु गरेको छ, जेनजी आन्दोलनका कारण आगजनी र तोडफोडले क्षति पुगेको थियो।
  • आगजनीबाट दुई करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ, र कार्यालयले आवश्यक उपकरण र सामग्रीको अभावको सामना गरिरहेको छ।
  • नगरपालिकाले सहयोगी संस्थाहरूबाट जिन्सी सामग्री मात्र स्वीकार गर्ने नीति लिएको छ र आगजनीमा संलग्नलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

धनगढी । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति व्यहोरेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयले आंशिक सेवा सुरु गरेको ।

नगरपालिकाको प्रशासनिक भवनमा ठुलो क्षति पुगेपछि हाल केही शाखाहरू मात्र अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो। नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागीबाट बचेका कागजातहरूको आधारमा काम सुरु गरिएको छ। स्थानीय युवा क्लब र कर्मचारीहरूको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हललाई प्रयोगमा ल्याइएको छ।

'भवनमा ठाउँ अपुग भएपछि केही शाखाहरूलाई वनदेवी आधारभूत विद्यालयका खाली कोठाहरूमा सार्ने तयारी भइरहेको छ', नगरप्रमुख ओझाले भने। कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताइएको छ। आवश्यक उपकरण र सामग्रीको अभाव मुख्य चुनौतीको रूपमा रहेको नगरप्रमुख ओझाले जानकारी दिए। आगजनीबाट स्टेशनरी, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचर लगायत अधिकांश कागजपत्र जलेर नष्ट भएका छन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार प्रारम्भिक अनुमानमा आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको छ । भवनको भौतिक क्षतिको प्राविधिक विवरण तयार गर्ने काम भइरहेको छ। वडा कार्यालयहरूमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको छ। यस संकटको घडीमा केही सामुदायिक वन, सहकारी संस्था र वित्तीय संस्थाहरूले नगरपालिकालाई प्रिन्टर, कम्प्युटर र प्लास्टिकका कुर्सीहरू सहयोग गरेका छन्। 

नगरपालिकाले नगद सहयोग नलिने र जिन्सी सामग्री मात्र स्वीकार गर्ने नीति लिएको छ। 'सहयोगी संस्थाबाट प्राप्त सामग्रीको आधारमा कार्यालय सञ्चालन सुरु गरेका छौं र केही दिनभित्रै सबै शाखा सञ्चालनमा ल्याउने तयारी छ,' नगरप्रमुख ओझाले भने। 

आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै बैठकले प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।हालसम्म लुटपाट भएका सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरा मात्र फिर्ता भएको नगरपालिकाले जनाएको छ। यद्यपि, वडा कार्यालयहरूमार्फत सेवाग्राहीलाई सेवा दिने कार्य भने सुरु गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप