मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत सम्पन्न, कुलुङखोला पुलमा मालवाहक सवारीसाधानलाई रोक

आइतबार, ०५ असोज २०८२, ०९ : ४६
आइतबार, ०५ असोज २०८२

सारांश

  • स्याफ्रुबेँसी-रसुवागढी सडक बाढीका कारण मर्मत गरिएको छ, तर टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात खुलाइएको छ।
  • गोसाइँकुण्ड गाउँपालिका-३ मा रहेको पुलको जग जोखिममा परेको छ, जसका कारण मालवाहक सवारीसाधन आवतजावत रोकिएको छ।
  • बाढीले मितेरी पुल बगाउँदा राजस्वमा साढे सात अर्बभन्दा बढी नोक्सान भएको छ र विद्युत् आयोजनालाई पनि क्षति पुगेको छ।

रसुवा । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा सहयोग गरेका थिए । 

टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात आवतजावत खुलाइएको छ । खोलामा पानीको बहाव नबढुञ्जेलसम्म मात्र हिउँद यामभरका लागि यातायात सञ्चालनमा सहज हुने जनाइएको छ । 

यसैबिच गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङ स्थित ठाडोखोलामा रहेको पक्की पुलको पर्खालका जग जोखिम भएको  छ ।  निरन्तरको वर्षाले कुलुङखोलामा पानीको बहाव बढ्न गई पुलको पूरै जग जोखिममा रहेको बताइएको छ ।  जोखिम हटाउन थालिएको गल्छी–मैलुङ–रसुवागढी राजमार्ग सुधार आयोजनाका इञ्जिनियर कुमारविक्रम पराजुलीले जानकारी दिए ।

उनले पुलबाट नियमित यात्रुबाहक बस र हल्का सवारीसाधन मात्र खुला गरी मालबाहक सवारीसाधन आवतजावत रोक लगाएको जानकारी दिए ।

गत असार २४ गते ल्हेन्दे खोलाले बगाएको नेपाल–चीन बीचको मितेरीपुल पुनःनिर्माणअन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान कार्य जारी राखेको छ ।  बाढीका कारण मितेरी पुल बगाउँदा भन्सारबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी कर शुल्कबापतको राजस्व नोक्सान भइसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । सडक खुला भए पनि पुल जोखिम भएका कारण बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनःनिर्माण अगाडि बढाउन अन्योल परेको छ ।

सडककै कारण बाढीले क्षति पुर्याएको विद्युत् ड्याम मर्मतका लागि रड, सिमेन्टलगायत निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले रु एक करोड २७ लाख ८७ हजार घाटा व्यहोर्नु परिरहेको रसुवागढी जलविद्युत्का प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए । भूमिगत संरचनाको आयोजना भएका कारण भित्री भाग सुरक्षित रहे पनि ड्याम क्षेत्रको बाहिरी संरचना क्षति भएको आयोजनाका प्राविधिकहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप