बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहन्छ : ह्वाइट हाउस

आइतबार, ०५ असोज २०८२, १२ : ०५
आइतबार, ०५ असोज २०८२

सारांश

  • बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन अमेरिकी नियन्त्रणमा बेच्ने सम्झौता गर्दैछ, जसमा ६ जना अमेरिकी सदस्य रहने बोर्ड गठन हुनेछ।
  • अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण टिकटकलाई बाइटडान्सबाट अलग गर्न दबाब दिएको थियो र पूर्वराष्ट्रपति ट्रम्पले यस सम्झौताको समर्थन गरेका छन्।
  • ओरेकलले टिकटकको डाटा र गोपनीयता व्यवस्थापन गर्नेछ भने एल्गोरिदम पनि अमेरिकी नियन्त्रणमा रहनेछ र यस सम्झौताबाट सरकारले अर्बौं डलर प्राप्त गर्न सक्नेछ।

वासिङ्टन डीसी । चिनियाँ मूलको कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा ६ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताइन् ।

संयुक्तराज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानुन पास गरेको थियो ।

अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबिच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग गरेका थिए ।

ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनीमध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।

लेभिटका अनुसार टिकटकको डाटा र गोपनीयता व्यवस्थापन ओरेकलले गर्नेछ, एल्गोरिदम पनि अमेरिकाको नियन्त्रणमै रहनेछ । उनले भने– ‘यी सबै विवरणमा सहमति भइसकेको छ, अब सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ ।’

ह्वाइट हाउसमा पत्रकारहरूले सोध्दा ट्रम्पले भने– ‘हामीसँग महान् अमेरिकी देशभक्तहरू छन् जसले टिकटक किनिरहेका छन् । धेरै महत्त्वपूर्ण व्यक्तिहरू संलग्न छन् ।’  सातौँ बोर्ड सदस्य भने पछि घोषणा हुने उनले बताए ।

शुक्रबार ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको फोन वार्तामा टिकटक सम्झौताबारे छलफल भएको थियो । ट्रम्पले सीले सम्झौतामा समर्थन गरेको दाबी गर्नुभए पनि चीनले औपचारिक पुष्टि गरेको छैन ।

‘हामीसँग कडा नियन्त्रण हुनेछ’, ट्रम्पले भने, ‘टिकटकको ठुलो मूल्य छ, र म अलिकति पूर्वाग्रही छु किनभने मैले यसमा राम्रो गरेको छु ।’ वाल स्ट्रिट जर्नलका अनुसार सम्झौतामा अमेरिकी सरकारले लगानीकर्ताबाट अर्बौं डलर शुल्क पनि प्राप्त गर्न सक्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप