सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऊर्जामन्त्री घिसिङ र भारतीय राजदूत नविन श्रीवास्तवबिच भेटवार्ता

आइतबार, ०५ असोज २०८२, १४ : ४४
आइतबार, ०५ असोज २०८२

सारांश

  • ऊर्जा मन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भयो।
  • भेटमा नेपालको विकास आयोजनामा भारतीय लगानी र सहयोगबारे छलफल भयो।
  • राजदूत श्रीवास्तवले नेपालको विकासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री घिसिङलाई सफल कार्यकालका लागि बधाई दिएका छन्। 

भेटमा दुई देशबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्य, भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको प्रगति र अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको छ। भेटमा महाकाली सिँचाइ (तेस्रो चरण) को नहरबाट नेपालतर्फ पानी पठाउने विषयमा कुराकानी भयो।

naveen shreevastav kulman 2

यसैगरी, भारतीय सहयोगमा बनिरहेको राहुघाट जलविद्युत आयोजनाको प्रगति र इनरुवा-पूर्णिया तथा न्यु लम्की-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माणमा भइरहेको प्रगतिबारे पनि जानकारी गराइयो। भारततर्फको अध्ययन पूरा भइसकेको छ।

मन्त्री घिसिङले दसैँ र तिहारमा उद्योग तथा कलकारखाना बन्द हुँदा आन्तरिक विद्युत् खपत घट्ने भएकाले भारतमा थप बिजुली निर्यातका लागि स्वीकृति दिन आग्रह गरेका छन्। 

अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ। थप ४ वटा आयोजनाबाट १३८ मेगावाट बिजुली निर्यात गर्नका लागि भारतसँग प्रस्ताव पेस गरिएको छ।

भेटमा राजदूत श्रीवास्तवले जेनजी आन्दोलनका कारण नेपालका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार रहेको बताए।

भेटवार्तामा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिवहरू चिरञ्जीवी चटौत र सन्दीप कुमार देव, तथा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत प्रतीक कार्कीको पनि उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप